हेलो नेपालको अनुमतिपत्र फेरि खारेजी प्रक्रियामा

नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को अनुमतिपत्र खारेज हुने भएको छ ।
सरकारलाई बुझाउनुपर्ने बक्यौता राजस्वको किस्ता समयमै नबुझाएपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हेलो नेपालको लाइसेन्स खारेजीका लागि प्रक्रिया अघि बढाएको हो ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणको बोर्ड बैठकले नेपाल स्याटेलाइट टेलिकमलाई ‘अनुमतिपत्र किन खारेजी नगर्ने’ भन्दै स्पष्टीकरण सोधेको छ । कम्पनीलाई १५ दिनभित्र चित्तबुझ्दो जवाफ दिन प्राधिकरणले पत्र काटेको छ ।
प्राधिकरणका अनुसार हेलो नेपालले २०७८ असार मसान्तभित्र सरकारलाई ३३ करोड ५८ लाख ४७ लाख रुपैयाँ बुझाउनुपर्ने भए पनि म्याद गुजारेको छ । सरकारले सहुलियत स्वरुप दिएको समयमा पनि बक्यौता नतिरेको भन्दै कम्पनीको लाइसेन्स खारेज गर्ने प्रक्रिया अगाडि बढाइएको प्राधिकरण प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । नेपाल स्याटेलाइट टेलिकम मुक्तिश्री समूहअन्तर्गत सञ्चालित छ । यसको नेतृत्व व्यवसायी अजेयराज सुमार्गीले गर्छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार नै प्राधिकरण बोर्ड बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको बोर्डका एक सदस्यले जानकारी दिए । व्यवसायी सुमार्गीको राजनीतिक पहुँच र प्रभावका कारण यसपटक पनि लाइसेन्स खारेज हुनेमा अधिकारीहरू विश्वस्त छैनन् । यसअघि २०७६ साउनमा पनि नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेजीको प्रक्रियामा अघि बढेको थियोे । बक्यौता नबुझाएको भन्दै प्राधिकरणले त्यसबेला पनि कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो । प्राधिकरणको उक्त निर्णयविरुद्ध कम्पनी नेपाल सरकारसमक्ष पुनरावलोकनका लागि गएको थियो र सरकारले राजस्व किस्ताबन्दीमा बुझाउने सहुलियत दिएको थियो ।
केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७६ पुस २१ मा कम्पनीको पुनरावेदन उपर सुनुवाइ गर्दै प्राधिकरणको उक्त निर्णयलाई उल्ट्याइदिएको थियो । जसमा कम्पनीले बुझाउनुपर्ने सबै किसिमको बक्यौता पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता आर्थिक वर्ष २०७६-०७७ को असार मसान्तभित्रै र बाँकी चार किस्तामध्ये प्रति वर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्रै बुझाउने गरी समय दिएको थियो । सरकारको निर्णयअनुसार कम्पनीले आर्थिक वर्ष २०७७-०७८ को असार मसान्तभित्र दोस्रो किस्ता बुझाउनुपर्ने थियो तर सो अवधिमा कम्पनीले किस्ताबन्दी रकम तिरेको छैन । ग्रामीण दूरसञ्चार सेवाको अनुमति पत्र पाएको नेपाल स्याटेलाइटले मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा सेवा पु-याउने गरी अनुमतिपत्र पाएको थियो । नेपालमा विश्वव्यापी मोबाइल सञ्चार प्रणाली सेवा प्रदान गर्ने यो तेस्रो निजी कम्पनी हो । आधारभूत संरचनारहित देशको ग्रामीण भागबाट सेवा सुरु गर्नेमा भने यो नेपालको पहिलो दूरसञ्चार कम्पनी हो ।
कम्पनीले नेपालको मध्य–पश्चिमी क्षेत्रको परिचालन आधारको रूपमा ब्राण्ड नाम ‘हेलो नेपाल’ अन्तर्गत काम गर्न वा सेवा सञ्चालन गर्न २०६४ फागुन ५ मा दूरसञ्चार प्राधिकरणबाट दूरसञ्चार अनुमतिपत्र प्राप्त गरेको थियो । कम्पनीले प्राधिकरणबाट १८ सय ब्यान्डमा ९ मेगाहर्ज र ९ सय ब्यान्डमा ४.४ मेगाहर्जको फ्रिक्वेन्सी पाए पनि तोकिएको सर्त पूरा नगर्दा सहरी क्षेत्रमा भने सेवा विस्तार गर्न सकेको थिएन ।