उपत्यकामै बन्यो साइकल र पदमार्ग «

उपत्यकामै बन्यो साइकल र पदमार्ग


मातातीर्थ कुण्ड पदमार्ग एवं साइकलमार्गको निर्माण पूरा भएको छ । २.५ किलोमिटर पदमार्ग र ६.४ किलोमिटर साइकलमार्ग बनेको हो ।
नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सघीय कार्यक्रम (यूएनडीपी) र ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालको सहकार्यमा ३२ लाख ९२ हजारमा साइकल मार्ग पूरा भएको जनाएको छ । जीविकोपार्जन, पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत ३ सय २४ जना पर्यटन कामदारले सो तयार गरेका हुन् ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ मा अवस्थित सो पदमार्ग र साइकलमार्गले आन्तरिक तथा बाह्य पर्यटकलाई ट्रेकिङको उत्कृष्ट गन्तव्यको रुपमा विकास हुने बोर्डका सिनियर म्यानेजनर सुनिल शर्माले बताए । कोभिड–१९ का कारण रोजगारी गुमाएका पर्यटक मजदुरलाई काम दिने सम्भावित पर्यटकीय गन्तव्यलाई परिस्कृत गर्ने लक्ष्यका साथ यूएनडीपी र नेपाल पर्यटन बोर्डले स्थानीय तहसँगको सहकार्यमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत सो गन्तव्य निर्माण भएको परियोजनाका जीविकोपार्जन विज्ञ धर्म दवाडीले बताए ।
पर्यटन क्षेत्रमा संलग्न जनशक्तीहरुलाई रोजगारी तथा आम्दानीको श्रोतहरु गुमेको अवस्थामा राहत होस् भन्ने हेतुले अल्पकालीन रोजगारी तथा आय आर्जनको अवसरहरु सिर्जना गर्ने गरी जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजन सञ्चालनमा ल्याएको बोर्डका निर्देशक मणि लामिछानेले बताए । परियोजनाले प्रमुख पर्यटकीय गन्तव्य स्थलहरुका पर्यटकीय सम्पदाहरुको सम्वर्धन र विकासका कार्यक्रम मार्फत पर्यटन उद्यमी र श्रमिकहरुको लागि रोजगार र आयआर्जनका अवसरहरुमा वृद्धि गर्नेछ ।
परियोजनाले सम्भावित गन्तव्यमा पर्यटकीय क्षेत्रमा रहेका अति प्रभावित १ हजार ६ सय पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई पर्यटकीय क्षेत्रहरुको सरसफाइ, पैदल मार्गमा रहेका पुल पुलेसाहरुको मर्मत सम्भार, पैदलमार्गका सिँढी मर्मत तथा सम्भार, संकेत चिन्हहरुको स्थापना तथा मर्मत सम्भार लगाएतका कार्यमा संलग्न गराई वर्षको ४० दिन बराबरको रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ । परियोजनाले ७ प्रदेशका ७ सय पर्यटन व्यवसायीहरुलाई सीपमूलक पर्यटन तालिमहरु दिई उनीहरुको व्यवसायिक दक्षता बढाउने छ । बोर्डले १० लाख र यूएनडीपीले १० लाख अमेरिकी डलर लगानीमा परियोजनाले पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्