आर्कषक पर्यटन गन्तव्य बन्दै जुम्लाको डुडुल चैत्य «

आर्कषक पर्यटन गन्तव्य बन्दै जुम्लाको डुडुल चैत्य

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले जुम्लास्थित देशकै दोस्रो अग्लो डुडुल चैत्य कर्णाली प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएकोे बताए । जुम्लासहित कर्णालीमा रहेका ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय स्थलमा पर्याप्त लगानी गरेमा पर्यटनबाटै कर्णालीमा समृद्धि भित्रिने उनको भनाइ छ ।
बुधबार जुम्लामा रहेको डुडुल चैत्यको तेस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जुम्लास्थित नेपालकै दोस्रो अग्लो डुडुल चैत कर्णालीकै मुख्य तथा आर्कषक पर्यटकीय गन्तव्य भएकोले थप पूर्वाधार विकासमा लगानी गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “देशकै दोस्रो अग्लो डुडुल चैत्य गुम्बामा दैनिक सयौ आन्तरिक पर्यटक आउँछन् । जुम्लामा आउने बाह्य पर्यटक डुडुल चैत्य नपुगी फर्कंदैनन् । अझै पर्यटक भित्र्याउन थप पूर्वाधार विकासमा जोड दिन आवश्यक छ ।”
भोट समुदायको आफ्नै लगानीमा निर्माण भएको उक्त गुम्बाले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान केन्द्रीत गरेको छ । दैनिक सयौं आन्तरिक पर्यटक गम्बामा जाने गर्दछन् । कर्णालीको अपार सुन्दरतामा डुडुल चैत्यले सुगन्ध थपेको छ ।
डुडुल चैत्यसँगै जुम्लाका अन्य पर्यटकीय स्थलमा लगानी अभावले ओजेलमा छन् । चैत्यसँगै अन्य पर्यटकीय क्षेत्रलाई थप आकर्षण बनाउनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि चाहिने बजेट व्यवस्थापनका लागि पहल मन्त्री श्रेष्ठको भनाइ छ ।
मुगाली समाजले निर्माण गरेको डुडुल चैत्य गुम्बाले जुम्लाको पर्यटन क्षेत्रको विकासमा इँट्टा थपेको पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर महतले बताए । उनले भने, “मेरो कार्यकालमा जुम्लामा करिब डेढ सय बढी गुम्बा, ऐतिहासिक मन्दिर तथा पुरातात्विक सम्पदा निर्माण गरेको छु । संघीयतापछि कर्णाली प्रदेशका पर्यटन क्षेत्रमा लगानी न्युन छ । सरकारले रोजगारी सृजना गरेसँगै आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रमा लगानी गर्न आवश्यक छ ।”
मुगाली समाज जुम्लाका अध्यक्ष निर्बु वाङदे तामाङले जुम्लाको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न, मुगाली समुदायको करिब २९ करोड निजी लगानीमा डुडुल चैत्य निर्माण गरिएको जानकारी दिए । वार्षिकोत्सवका अवसरमा हिमालयन पिस एसोसियसन काठमाडौंले आफ्नो चल–अचल सम्पति डुडुल चैत्यलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्