नेपाली जनता सार्वभौम नागरिक कि आन्दोलनकारी ? «

वास्तवमा त जनताले राजनीति गर्दैन र देशको उन्नति चाहन्छ भने जनताले पनि सही र गलत समय र सोचलाई छाम्न आवश्यक छ

नेपाली जनता सार्वभौम नागरिक कि आन्दोलनकारी ?

यत्तिका भीड सडकमा उत्रिएको देख्दा तिनले होटलमा खाने, बस्ने, पेट्रोल, झन्डा, पर्चा–पम्प्लेट, ब्यानर आदिको खर्च कति हुन्छ होला ? के कुनै पार्टीले त्यो खर्च र शक्ति प्रदर्शनको साटो गरिबहरूका लागि केही सेवा गरौँ र जनताको मन जितौँ भनेर नयाँपन बोकेको छ ?
जनताको मन जित्न लाखौँ खर्चेर शक्ति प्रदर्शन गर्ने कि जनताकै सेवा गरेर जनमतलाई तान्ने ? दिनभरि श्रम गरेर बेलुका छाक टार्नेको अवस्थालाई घोषणापत्रमा राखेर महलमा भुजा ज्युनार गर्ने/गराउने राजनीतिक परिपाटीका पछि लाग्ने हामी जनता साँच्चै अचम्मकै प्राणी पनि हौँ ।
भोलि चुनावको कुरा छ— फेरि देखिने गरी लाखौँ अनि नदेखिने अर्बौं खर्च हुन्छ; तर विपन्नको वेदना, दूरदराजका मानिसको व्यथा, बेरोजगारको छटपटी, अस्थायी जीवन बाँच्ने मानिसको दुर्दशा, विसंगतितिर अलिकति पनि पैसा खर्च हुनेछैन । यो चुनावमा खर्चिने रकम कहाँबाट र कसरी ह्वारह्वार्ती आउँछ, त्यो अचम्मकै विषय हो । यसरी मुलुकको ढुकुटीमा दाइँ हुँदैन भन्ने अभ्यासै छैन ।
पाँच वर्ष काम गर्न दिएको जिम्मेवारी टिकाउन नसकेर पदको लालसाको लालकिल्ला बाँध्नका लागि नै नेकपाले यो महामारी निम्त्याएको छ । यदि मुलुकमा यही कारणले जनताले सहिद हुने अवस्था आयो भने यो दोष त सडक र सदन दुवैलाई उत्तिकै जानुपर्छ नै । तब नेपालमा एउटा नेकपा भन्ने नाम गरेको पार्टी थियो, जसले बहुमतको घिउ पचाउन नसकेर शौचालयमा झगडा ग¥यो भन्नुपर्ने इतिहास लेखियो भने ।
प्रचण्ड–नेपाल समूहको भीड हे¥यो, उत्तिकै बाक्लो र विशाल लाग्छ । ओली समर्थक पनि कमजोर हुन् भन्ने लाग्दैन । हरेक नेताका स्टाटसका मुनि तथानाम गाली र समर्थनको लामो सूची हुन्छ ।
प्रतिक्रिया र उप–प्रतिक्रियाको लर्कोमा लड्नेहरूले मुखै छोड्न पनि बाँकी राखेको देखिँदैन । अर्कातिर कांग्रेसको त्यस्तै, राप्रपाको उस्तै भीड । त्यसपछि त यस्तो पनि लाग्छ, नेपाली जनता के आन्दोलन गर्नलाई जन्मेका हुन् ?
हिजो २००७ सालदेखि २०४६, २०५२ देखि माओवादी द्वन्द्व, ०६२/०६३ को आन्दोलन हुँदै अस्थिर सरकारको क्रमिकतादेखि आजसम्म जनताले गरेका दर्जनौँ आन्दोलनको परिघटनाले एउटै लक्ष्यमा पाइलो टेक्न खोजेको हो— मुलुकमा स्थिर शान्ति र उच्च समृद्धि चाहिएको छ । बलिको बोको बन्न रुचाइरहने कार्यकर्ताले देखेको राजनीतिक परिवर्तन केवल चाकडीमात्रै हो ।
एक दिन के सनक चढ्छ अर्थात् मोलमोलाइमा कुरा मिल्छ, तब नेताजीले भन्नुहुनेछ— “हामी मिल्यौँ ।” तब यही आज सडक र सामाजिक सञ्जालमा रोइलो मच्चाइरहेको नागरिक फेरि चुपचाप बस्छ । कस्तो अचम्मको सोच हाम्रो ? वास्तवमा त जनताले राजनीति गर्दैन र देशको उन्नति चाहन्छ भने जनताले पनि सही र गलत समय र सोचलाई छाम्न आवश्यक छ । आपसमा शत्रुता साँधेर विकासमा बाधा नै हुने हो । स्वार्थी नेताको सोचलाई साथ दिएर विकासवादी समय खर्चिनुको कुनै तुक देखिँदैन ।
पछिल्लो घटनाक्रमले हाम्रो मुलुकलाई राजनीतिक संगठनको अभ्यास गर्ने एउटा मैदान बनाइदियो । स्थिर प्रजातान्त्रिक सरकारको अपेक्षा गरेर बहुमत प्रदान गर्दासमेत थङ्थिलो पारेपछि आपूm राम्रो हो भन्ने पुष्ट्याइँमा नेकपाको दुई कित्ता डटेर लाग्यो । सत्तामा रहने र सडकमा उत्रिने दुवै नेकपालाई खालि आरोप लगाएर सत्तोसराप गर्ने अनि संगठन विस्तारको अग्निपरीक्षामा होमिने होडबाजी रह्यो । को कौरव र को पाण्डव भन्ने कुराका बारेमा त सामान्य जनता मात्रै होइन, सच्चा विश्लेषकहरू पनि अलमल हुने स्थिति छ ।
को कस्तो र कुन सिद्धान्त कति बलियो भन्ने कुराले विपन्न मुलुकमा उस्तो असर पार्दैन । जनतामा त केवल समृद्धि, सुशासन र रोजगारको उचित प्रबन्धको आवश्यकता र तीव्र चाहना मात्रै छ । घोषणापत्रका पानामा जनता झुक्याउन कोरिएका कनीकुथी विचारमा अडिने अक्षरले जनताको बिहान–बेलुकाको जोहो गर्दैन । खालि राजनीतिक पदलोलुपतामा केही नेतृत्वले खोजेको भाग नपाएका कारण अहिलेको द्वन्द्व बढेको हो । जनतालाई यही भासमा ल्याएर जाक्ने जघन्य अपराध नेताबाटै भएको हो, तर हामीले समर्थन र साथ जति दियौँ त्यति विश्लेषण र विमर्श गरेनौँ । यो पनि अचम्मकै मुर्खता होइन र ? अरू जे कुरा गरे पनि जनताचाहिँ साँढेको जुधाइ बाच्छाको मिचाइमा परिरहेकै छन् । नेपालमा राजनीति फोहोरी खेल हो भन्ने कुराको दह्रो दृष्टान्त पक्कै बनेको छ । यही फाइदालाई मौका पारेर विदेशी शक्तिले सानो देशमा ठूलो आँखा नलगाउला भन्न सक्ने अवस्था नभएको पनि होइन ।
अहिले मुलुकमा प्रायः धेरै पार्टीहरू जनताको मन भाँडेर सडकमा उतार्ने होडबाजीमा छन् । जबजब नेताको स्वार्थ अधुरो हुने स्थिति हुन्छ तबतब जनतालाई ढाल बनाएर भाँड्ने र लडाउने होड चलिरहन्छ । नेता तबसम्म मात्र नेता हुन्छ जबसम्म जनताले उसलाई साथ दिन्छ । तर, कुनै पनि पार्टीले कसको चुलो बल्दैन, को दुःखी छ भनेर तिनलाई पहिचान गर्ने र सहयोग गर्ने होडबाजी गरेको कहिल्यै देख्न पाइन्छ र ? कोरोना महामारीको अर्को डरलाग्दो रूप आयो भन्ने सुन्दासमेत बेवास्ता गरेर मान्छे सडकमा ओइरिएको छ । यो विचार कदापि पनि सदनधारीको समर्थन भन्ने अर्थमा होइन । विषयको प्रस्टोक्तिका आधारमा जनताको सेवा हो कि स्वार्थको दुर्गन्ध हो त भन्ने एउटा विश्लेषण मात्र हो । यत्तिका समय कामधन्दा ठप्प भएर बल्लतल्ल यसो सञ्चालन हुन लागेको व्यवसायलाई भन्दा पार्टीकै भक्त भएर कुर्लने मान्छेले साँच्चै विकासका लागि नै आन्दोलन गरेको हो ?
अरू बेला विकासका लागि छिरिक्क सहयोग गर्न नसक्ने पार्टीले चुनावका बेलामा कसरी यति धेरै सक्षम हुन्छ ? चाहे कोरोना महामारीका बेला जनता भोको हुँदा एक माना चामल र एउटा ओच्छ्यान दिने मन नहोओस्, तर चुनावमा नेताजीले पैसाका बिटा सर्वहारा वर्गलाई बाँढ्ने होडबाजी गर्नुहुनेछ । हरेक नागरिक नागरिक होइन एक भोटको मूल्यमा गनिनेछन् । एक पटक सोचौँ, यत्तिका धेरै पार्टीले प्रचारका नाममा, आन्दोलन र विरोधका नाममा गर्ने गरेका खर्चका बिटालाई अख्तियारले किन खोजी गर्दैन ? यो कुरा त प्रस्ट छ, तर सबैले झिनो स्वार्थमा बिक्नुलाई आवश्यक ठान्छन् । ‘बिग्रेको पार्टीको फुटेको घर, फुटेको पार्टीसँग केको भर’ भन्ने भान त जनतामा भइसकेको छ ।
ओली पक्ष र प्रचण्ड–नेपाल समूह दुवैसँग बहुमतको मृगतृष्णा हुनु वास्तवमा नैतिकताका आधारमा लज्जास्पद अपेक्षा हो । जनतासामु जाने राजनीतिक एजेन्डा दुवैमा नैतिकताका आधारमा लाजमर्दो नहुँदा पनि हुने हो । ठूलो अवसर पाउँदा नपचेर अब आकाशमा महल ठड्याउने सपना बोक्दै हिँड्नुको तुक के रहन्छ र ? यसो भनिरहँदा नेपालमा राजनीतिक वितृष्णा यति धेरै छ, जब कि जनताले औँला भाँचेर राष्ट्रवादी नेतालाई गन्न खोज्दा शून्य अंक नै स्थिर भइरहने अवस्था छ । यो त प्रजातान्त्रिक मुलुकका लागि असह्य विडम्बना हो । यसर्थ जोसुकैले जिते पनि जनताले त नहुनु मामाभन्दा कानो मामा जाती भन्ने दरमा नेतृत्वलाई भोट दिनुपरेको हुन्छ ।
कांग्रेसका लागि त जे गरे पनि यो फाइदाजनक कुरै भइराख्दा पनि सडक तताएर शक्ति प्रदर्शनका नाममा पैसो उडेकै छ । निकै समय घरभित्र बसेका यसो रमाइलो गर्न सडकमा जाने होड चलेजस्तै देखिन्छ । हुँदाहुँदा ओली समर्थकले समेत शक्ति प्रदर्शनकै नाटक खेल्न थाले । बिचरा हामी जनता हो होमा होहो गरेर साथ दिइरहेका छौँ तर कसैले पनि तिमीहरूले हिजोदेखि पनि धोका दिइरहेका छौ, अब यो अन्तिम चेतावनी हो कि काम गर कि छोड भन्ने आँट गरेका छैनौँ । आन्दोलनमा जुनकुनै हिसाबमा मुलुकको समय, श्रम र सम्पत्ति खर्च हुने हो, बरु त्यो चिज विपन्नको हितमा खर्चेर सकारात्मक कर्म गरौँ न ।
आखिर सबै पार्टीको बुद्धिमा कुर्सी र सत्तामोहको नसा मात्रै चढेको हो । अहिलेको भइरहेको विशाल नाटक मञ्चन पनि त्यति मात्रै नै हो । यसको अर्थ जनताको दिमाग भुटेर उही स्वार्थको ढोल पिट्ने होडबाजीमा आज जनताले उसै गरी पार्टीको मोह बोकेर दगुरिरहेको छ । पार्टी चाहिन्छ तर गुट चाहिँदैन भन्ने हिम्मत बोकेर कसैले कसैसँग पनि असहयोगको भावना राख्ने हिम्मत गर्दैन । विभाजित दुई शक्तिले आपूmलाई जतिसुकै पानीमुनिको ओभानो बनाउने प्रयास गरे पनि त्यो सबै जनअभिमतमाथि गरिएको नृशंस हत्या होइन र ? को बाध्यतामा प¥यो र किन कोचाहिँ अटेरी बन्यो भन्ने विषयको पुष्ट्याइँले जनताको आशा र मुलुकको समृद्धिसँग बिलकुलै सम्बन्ध राख्दैन ।
यो समय सडकमा र सदनमा हुने दोहोरीले सामान्य वर्गलाई बनाइदिएको खण्डीकृत बुद्धि नितान्त असचेतनाको द्योतक हो । ‘म राजनीतिक नेतृत्वप्रति असहमत छु’ वा ‘म भोट दिन्नँ’ भन्ने र कचिङ्गलप्रेमी नेतालाई बिदाइ गर्ने कुरा गर्ने हो भने के होला ? गुट र स्वार्थका विरुद्धमा हिँड्ने सोच जनतामा जाग्नु आवश्यक छ । तब त यतिखेर सडकमा देखिएको भीड सायद त्यो असहमतिमा गएर थुरिन पनि सक्छ । आज चिरिएको नेकपा र अस्थिर सोचमा गुटको पोको बोकेर हिँड्ने चाकडीबाज एकाएक विकासवादतिर मोडिन सक्छ । फलतः जुन क्रान्तिको कुरा आज सुनिँदै त त्यो नितान्त स्वार्थपूर्ण छ, किनकि यो राष्ट्रवादी नभएर व्यक्तिगत हिसाब र पद नमिलेको माथापच्ची मात्रै हो ।

प्रतिक्रिया दिनुहोस्