Logo

न्यायालयमा विवाद कहिलेसम्म ?

संसद् अवरुद्धको विषयले किनारा नपाउँदै सर्वाेच्च अदालत यति बेला अवरुद्ध भएको छ । न्यायालय अवरुद्ध हुँदा सिंगो काम–कारबाही अगाडि बढ्न सकेको छैन । न्यायालयका न्यायमूर्तिहरू नै यति बेला प्रधान न्यायाधीशको विरुद्धमा उभिएका छन् । देशकै श्रीमान्, सबका श्रीमान्, न्यायालयका न्यायमूर्ति प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा अहिले धर्मसंकटको अवस्थामा छन् । सर्वोच्चका प्रधान न्यायाधीश श्रीमान्लाई न्यायाधीश श्रीमान्हरूद्वारा अवरोध सिर्जना भएको हो ।
संवैधानिक नियुक्ति र मन्त्रिपरिषद्मा भागबन्डा खोजेको, गम्भीर संवैधानिक बहसका मुद्दामा सुनवाइ अलपत्र पारेको र न्यायालयको सुशासनलाई बेवास्ता गरेको विषयलाई लिएर प्रधान न्यायाधीश जबराको सार्वजनिक रूपमा आलोचना भइरहेको छ । यस्तै बेथितिका कारण विवादमा मुछिएका प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन चौतर्फी दबाब परेको छ । आफ्ना आफन्तलाई मन्त्री बनाउन सिफारिस गरी मन्त्री बनाएको विषयलाई लिएर न्यायालयभित्रैबाट उनलाई विरोध सिर्जना भएको हो ।
यो विषयलाई सर्वत्र रूपमा आमसरोकारवालाले समेत विरोध गर्दै आइरहेका थिए । त्योसँगै रञ्जन कोइरालाको मुद्दाको विषयलाई समेत लिएर न्यायालयमा विवादको बीजारोपण भएको मान्न सकिन्छ । योसँगसँगै न्यायालयमा हुने अवाञ्छित गतिविधि, भ्रष्टाचारलगायतका विषयमा समेत उजागर भएको छ । न्यायालयमा त्यस प्रकृतिका गतिविधि हुँदा न्यायालयको साखमा प्रश्नचिह्न खडा हुन्छ ।
आममानिसमा न्यायालयको विश्वसनीयतामाथि प्रश्नैप्रश्न उठ्नु स्वाभाविक हो । न्यायालयजस्तो स्वच्छ छवि भएको ठाउँ विवादरहित बनाउन जोड दिनु जरुरी छ ।
जानकारहरूले प्रधान न्यायाधीश जबरालाई दुईवटा विकल्प राजीनामा या त महाअभियोग रहेको बताउँदै आए तापनि जबरा भने राजीनामा नदिने बरु महाअभियोगको सामना गर्ने पक्षमा उभिएका छन् । राजीनामा दिनैपरे पनि विवादित सबैले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका छन् । तर, जबरा यो कुरामा ढुक्क भएर बसेका छन् कि उनीविरुद्ध महाअभियोग लगाउने संसदसँग सामथ्र्य छैन । त्यसैले पनि उनी राजीनामाको विपक्षमा बसिरहेका छन् ।
तिनै जबरा हुन् जसले प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पटक–पटकको प्रयास विफल गर्दै संसद् पुनस्र्थापना गरिदिए । त्यति मात्र होइन, शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउनु भनी २८ घण्टाको समयसीमा तोकिदिए । नेकपा माओवादी र नेकपा एमाले पार्टीको संयुक्त गठबन्धनमा बनेको केपी ओलीको सरकार ढाली देउवाको सरकार बनाउन न्यायालयबाट भरपुर न्यायसंगत कार्यमा सहयोग गरेकामा एकाएक चर्चा र वाहावाही कमाएका जबरा अहिले ठूलो विवादमा छन् । सिंगो न्यायालयमै न्यायका विषयमा प्रश्न उठिरहेका छन् । सर्वोच्च अदालतको न्यायको तराजुमा जबरा एकातिर छन् भन्ने अन्य न्यायाधीशहरू अर्कातर्फ छन् । सधैं अरूलाई न्यायको तराजुमा जोख्ने प्रधान न्यायाधीश आज त्यही तराजुमा आफैं जोखिँदै छन् । तराजुको एकातर्फ उनी एक्लै हुँदा तराजु कोल्टिएको छ ।
न्यायालयमा विवाद भने यो मात्र पहिलो होइन, यसभन्दा अगाडि पनि प्रधान न्यायाधीशहरू विवादमा तानिएका थिए । फरक यति मात्र हो कि विवादका प्रकृति फरक रहन्थे । त्यसै भएर हुनुपर्छ, प्रधान न्यायाधीशको चर्को रूपमा विरोध गर्दै राजीनामाको माग गरिरहेका छन् । यो न्यायालयको विवाद कतिन्जेल चलाइराख्ने ? चाँडोभन्दा चाँडो विवादको टुंगो र निकास लगाउन जरुरी छ, होइन भने यस घटनाबाट अन्तर्राष्ट्रिय स्तरमा हाम्रो न्यायालयको छवि कस्तो रहन्छ, यता पनि ध्यान दिने पो हो कि ?
–विनोद पौडेल

प्रतिक्रिया दिनुहोस्