बाढीले धान बगाएपछि किसानलाई भोकमरीको चिन्ता «

बाढीले धान बगाएपछि किसानलाई भोकमरीको चिन्ता

राजविराज, ३ कात्तिक । सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा नं १ भारदहमा पाक्न लागेको धानबालीमा बेमौसमी वर्षा र हाबाहुरीको कारण पु¥याएको क्षति । तस्वीर : अरुणकुमार यादव, रासस


कात्तिक पहिलो साता आएको बाढीका कारण धानबालीमा क्षति भएपछि किसानहरु चिन्तित भएका छन् । कृषि उत्पादन गरेर अरुको भोक मेट्दै आएका किसानलाई अब आफ्नै भोक कसले भेटिदिएला भन्ने पीडाको पहाडले थिचेको छ ।
मोरङको बेलबारी–४ का माधवप्रसाद नेपालको बाली भित्र्याउने बेला भएको थियो । उनी धान काटेर उठाउने तयारीमा थिए । उनले धान उठाउन त पाएनन् पाएनन् भोलिपल्ट बिहान खेतमा जाँदा धानसमेत भेटेनन् ।
कात्तिक १ र २ गतेको बाढीले पूरै धान खेतबाटै बगाएर लगिदियो । “सुकाएको धान बाढीले पूरै बगाएर कहाँ पु¥यायो पु¥यायो नामो निसान नै छैन” उनी भन्छन्, “त्यत्रो धान नामो निसानसमेत नराखी बगाएर लग्यो । यस्तो होला भन्ने दश मनमा एक मनले पनि सोचेका थिइन ।” आफ्नो झण्डै एक सय मन जति धान बाढीले बगाइदिएको नेपाल बताउँछन् ।
कृषि पेसामै निर्भर रहेका उनले १० जनाको परिवार यही खेतीबाटै पाल्दै आएका थिए । तर खेतबाट सबै धान बगाइदिएपछि उनलाई अब कसरी जीवन धान्ने भन्ने चिन्ताले सताएको छ । “धान उठाउने तयारीमा थिएँ तर के गर्नु र राति नै बाढीले बगाइदियो” उनी भन्छन्, “अब कसरी जहान छोराछोरी पाल्ने नगरपालिकाले केही सहयोग गरिदिए पनि हुने थियो ।”
बेलबारी–४ कै धनबहादुर मगरको पीडा पनि उस्तै छ । उनले पनि साहुकै भए पनि दुई बिघा जति खेती गरेका थिए । धान पनि राम्रै फलेको थियो तर पाक्न नपाई धान बाढीले सबै पोतिदियो । अब उठ्ला र फल्ला भन्ने उनलाई आस लागेको छैन । उनी अब कसरी जहान परिवार पाल्ने भन्नेमा चिन्तित छन् ।
बेलबारी–२ का रुद्रप्रसाद पाठकले अर्कैको जग्गा लिएर भए पनि खेती गरेका थिए । उनको एउटा कित्तामा धान पाकिसकेको थियो भने अर्को कित्तामा पाक्ने तयारीमा थियो । उनी पनि एउटा कित्ताको धान काट्ने तयारीमा थिए । तर एक्कासि आएको पानीले सबै नास पारिदियो । “साहुकै भए पनि खेती गरिएको थियो । धान पनि राम्रै फलेको थियो तर के गर्नु र सबै लगिदियो” उनले भने ।
बेलबारी–४ का माधव नेपाल, धनबहादुर मगर, बेलबारी–२ लालभित्तीका राजन पाठक त प्रतिनिधि पात्र मात्र हुन् । सबै किसानको भित्र्याउन लागेको धान बालीमा क्षति पुगेको छ ।
बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी भने बाढीले धानबालीमा पु¥याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताउँछन् । क्षतिको मात्रा धेरै भएकाले स्थानीयले आशा गरेको जस्तो राहत दिन सक्ने अवस्था नरहेको उनले बताए । “बाढीले धानबालीमा मात्रै होइन अन्य भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ” उनले भने, “क्षतिको विवरण संकलन भइरहेको छ । नगरपालिकाका तर्फबाट केही न केही राहतको प्रबन्ध मिलाउँछौं ।”

प्रतिक्रिया दिनुहोस्