Logo

जलजलामा सम्पत्ति र भूमि कर तिर्न मोबाइल एप


पर्वतको जलजला गाउँपालिकाले सेवाग्राहीको सहजताका लागि घरमै बसेर सम्पत्ति तथा भूमि कर तिर्न सकिने सुविधा सुरू गरेको छ ।
गाउँपालिका कार्यालयले मोबाइल एप्समार्फत सम्पत्ति र भूमि कर तिर्न सक्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।
थोरै कर तिर्न पनि धेरै खर्च गरेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न ‘आइएमई पे’मार्फत कर तिर्न सकिने व्यवस्था गरिएको उनले बताए । “सबै वडा बराबर दूरीमा छैनन्, सबै ठाउँका सडक पनि सजिला छैनन् । थोरै कर तिर्नका लागि धेरै खर्च गरेर कार्यालयमा आउनुपर्ने र त्यसो गर्दा नागरिकको सिङ्गो दिन नै खर्च भइरहेको अवस्था छ,” क्षेत्रीले भने, “एप्सबाट तिर्ने भएपछि घरमै बसेर थोरै मोबाइल डेटाबाट नै कर तिर्न सकिने अवस्था भएको छ ।”
गाउँपालिकाको कार्यालयका सूचना तथा प्रविधि अधिकृत अनिल खत्रीले गाउँपालिकामा रहेका सात हजार आठ सय करदाताले यो एप्समार्फत सजिलै कर बुझाउन सक्ने बताए । मोबाइल सेटमा आइएमई पेको एप्स डाउनलोड गरेपछि त्यसभित्र जलजला गाउँपालिकाको ‘सब टाइटल’मा गएर आफूले तिर्नुपर्ने रकम सिधै गाउँपालिकाको खातामा जम्मा गर्न सकिने उनले जानकारी दिए । एप्स सञ्चालनमा आएको केही दिनमात्र भएकाले अहिले ८÷१० जना करदाताले मात्रै रकम जम्मा गरेको उनले बताए ।
सम्पत्ति तथा भूमि कर व्यवस्थापन गर्ने भनेर गाउँपालिकाले लगानी गरेर सफ्टवेयर बनाएको खत्रीले बताए । करदाताके पर्सनल युजरनेम र पासवर्ड राखेर वितरण गरेको उनले बताए ।
एप्सको पहुँचमा जान नसक्ने तथा यससम्बन्धी ज्ञान नभएकाहरूले भने पुरानै शैलीमा गाउँपालिकाको कार्यालय वा तोकिएको वडाको केन्द्रमा पुगेर कर तिर्नुपर्ने छ ।
‘एप्स’ मार्फत नै कर तिरेका जलजलाको करदाता मिलन मल्लले गाउँपालिकामा पुगेर घण्टौं लाइनमा बसेर कर तिर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । आईडी लग इन गरेपछि आफूले तिर्नुपर्ने रकम पनि त्यहीँ देखिने भएकाले सहजै एक मिनेटमा नै आफूले तिर्नुपर्ने कर बुझाएको बताउँदै उनले अनलाइनका माध्यमबाट तिर्न सकिने सुविधाले धेरै सुविधा भएकोमा खुसी व्यक्त गरे ।
अनलाइनका माध्यमबाट कर तिर्दा गाउँमा रहेकालाई त भई नै हाल्यो, बसाइँ सरेर वा अस्थायी रूपले गाउँपालिका छाडेर बाहिर गएर बसेकालाई झनै फाइदा भएको उल्लेख गरे । जिल्लाका सात स्थानीय तहमध्ये जलजलाले पहिलोपटक यस्तो सुविधा विस्तार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्