सिन्धुलीगढी पुनर्निर्माणमा एनआरएनएले सहकार्य गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जीर्णाेद्धार एवं पुनर्निर्माणका लागि गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ ।
एनआरएनए र कमलामाई नगरपालिकाबीच गुरुयोजना तयार पार्न बिहीबार राजधानीमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनआरएनएका अध्यक्ष भवन भट्ट र नगरपालिकाका मेयर खड्ग खत्रीले हस्ताक्षर गरेका छन् । एनआरएनएले ऐतिहासिक सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना आगामी ६ महिनाभित्र तयार गरेर कमलामाई नगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।
सिन्धुलीगढी तत्कालीन गोर्खाली सेनाले वीरता देखाएर अंग्रेजी सेनालाई परास्त गरेको स्थल हो । २५० वर्षअघि पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुरु गरेपछि तत्कालीन उपत्यकाका मल्ल राजाहरूले भारतमा शासन गरिरहेको बेलायती सरकारसँग सहयोग मागेका थिए । ब्रिटिस कम्पनीले कप्तान किनलकको नेतृत्वमा पठाएको बेलायती सेनालाई गोर्खालीले सिन्धुलीगढीमा परास्त गरेर धपाएका थिए । विश्वमा कतै नहारेको बेलायतलाई सिन्धुलीगढीमा परास्त गरेको सम्झनामा सिन्धुलीगढीमा हरेक वर्ष विजयोत्सव मनाइने गरिन्छ ।
समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रवद्र्धन गर्न काठमाडौंदेखि सिन्धुलीगढी हुँदै सिन्धुलीमाढीसम्म ‘राइड टु सिन्धुलीगढी’ नाममा साइकल यात्रा गर्दै आएको छ । अभियानले सिन्धुलीगढी घुम्न जानेहरूलाई बसोबासको व्यवस्था गर्न सिन्धुलीगढी वरपरका गाउँमा होमस्टे सञ्चालन गर्न स्थानीय बासिन्दालाई तालिमलगायतको सहयोग गर्दै आएको छ । “एनआरएनएले सिन्धुलीगढीको ऐतिहासिक महत्वलाई बुझेर गुरुयोजना बनाउन सघाउने भएको छ,” समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले भने, “विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको छाता संगठनको यस प्रयासले सिन्धुलीगढीको पुनर्निर्माण र यसको प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अभियानको विश्वास छ ।” उनले सिन्धुलीगढीको गुरुयोजना निर्माण गर्न समृद्ध सिन्धुली अभियानले सक्रिय रूपमा सहयोग गर्ने बताए । कमलामाई नगरपालिका र एनआरएनएबीच भएको सम्झौतामा सिन्धुलीगढीको ऐतिहासिक महत्व पुनःस्थापना गर्ने उद्देश्यले गुरुयोजना तयार पार्न लागिएको उल्लेख छ ।
त्यस्तै, गुरुयोजना निर्माण गर्दा सिन्धुलीगढीको प्राचीन ऐतिहासिकताका साथै मौलिकता यथावत राख्न प्रयास गर्ने, गुरुयोजना बनाउन लाग्ने खर्चको व्यवस्थापन एनआरएनएले गर्ने, बनाइएको गुरुयोजनालाई नगरपालिकाले स्वामित्व ग्रहण गरी भविष्यमा गरिने पुनर्निर्माणको आधार बनाइने सम्झौतापत्रमा उल्लेख छ ।
कार्यक्रममा पूर्वमन्त्री तथा सांसद हरिबोल गजुरेल, कमलामाई नगरपालिकाका मेयर खत्री, कांग्रेसका अध्यक्ष उज्ज्वल बराललगायतले एनआएरएलाई गुरुयोजना बनाएपछि पुनर्निर्माणकार्यमा समेत सहयोग गर्न आग्रह गरे । एनआरएनएका अध्यक्ष भट्टले सिन्धुलीगढी हुँदै जाने सडक आफू बस्दै आएको मुलुक जापानले बनाइदिएकाले आफूलाई सिन्धुलीगढीबारे चासो जागेको बताउँदै गुरुयोजना बनेपछि जीर्णोद्धार गर्न सहयोग जुटाउन आफूले पहल गर्ने बताए । कार्यक्रमको सञ्चालन गैरआवासीय नेपाली संघका सचिव डीबी क्षेत्रीले गरेका थिए । द्विपक्षीय सम्झौताका अवसरमा प्रदेश सांसदहरू प्रदीप कटुवाल र विनोद खड्का, एमाले नेता कमलजंग राईलगायतको उपस्थिति थियो ।