बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे «

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे


बागमती प्रदेशसभाको चौथो ठूलो दल नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा पाण्डेको सत्तारोहण भएको हो ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्दै बिहीबार शपथग्रहण गराएका हुन् । मुख्यमन्त्रीको सपथ लिएसँगै सानो आकारको मन्त्रिपरिषद् गठन गरिएको छ । प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल, भौतिक पूर्वाधार विकास मन्त्रीमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल र सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रकी सांसद कुमारी मोक्तानलाई चयन गरिएको छ । उनीहरुको पनि बिहीबार नै सपथ ग्रहण भएको हो ।
कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डेको नेतृत्वमा नयाँ सरकार बनेको हो । अल्पमतमा रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले बिहीबार ३ बजेसम्म सरकार गठनको लागि आह्वान गरेका थिए । प्रदेश प्रमुखको आह्वानसँगै नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीका सांसदहरुको समर्थनमा नेकपा एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्री बनाउन बुधबार नै ५९ जना सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षरसहित दावी गरेका थिए ।
बागमती प्रदेशमा कुल १०९ जना सांसद रहेकोमा सरकार बनाउन ५५ जना नै प्रयाप्त रहन्छ । ५९ जना सांसदहरुको हस्ताक्षरहित सरकार गठनको दावी गरेसँगै नयाँ सरकार बनेको हो । प्रदेशसभामा माओवादी केन्द्रका २३ सांसद, कांग्रेसका २२ सांसद, नेकपा एकीकृत समाजवादीका १३ सांसद र जसपाका १ सांसद रहेका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४३ जना सांसद छन् । विवेकशील साझाका तीन, नेमकिपा र राप्रपाका २÷२ सदस्य रहेका छन् ।
बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूले पेस गरेको विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै राजीनामा घोषणा गरेकी थिइन् । उनले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरिन् । प्रदेशसभामा बुधबार विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुने कार्यतालिका थियो । त्यसअघि नै उनले राजीनामा दिएकी हुन् । मुख्यमन्त्रीको राजीनामासँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्