सीमावर्ती बजार छैन गुलजार «

सीमावर्ती बजार छैन गुलजार

नेपाल–भारतको सीमावर्ती क्षेत्रमा रहेका दुवैतर्फका सहर–बजारहरू दुवै देशका नागरिकका लागि किनमेल गर्ने मुख्य स्थल हो । नेपालीहरू दैनिक उपभोग्य वस्तु खरिदारीका लागि सीमावर्ती भारतीय बजार पुग्ने गरेका छन् भने भारतीयहरू सीमावर्ती बजारमा विदेशी सामान भारतमा भन्दा सस्तो, राम्रो पाइने भन्दै केही मात्रामा आउने गरेका छन् । तर, भारतीयको तुलनामा नेपालीहरू अधिकांश सीमावर्ती बजार भारतीय बजार पुग्ने गर्छन्, जसले गर्दा त्यही प्रकृतिका सामान बिक्री गर्दै आएका सीमावर्ती नेपाली बजारहरू फस्टाउन सकेका छैनन् ।
कोरोना भाइरस संक्रमणका कारण नाका बन्द हुँदा स्वदेशी बजारमै खरिदारी गर्ने बानी परेका नेपालीहरू अब त स्वदेशी बजारमै खरिदारी गर्ने बानीमा परे कि भन्ने भान नेपाली व्यवसायीको थियो । तर, नाका खुल्ने र सहज हुनेबित्तिकै उपभोक्ताको घुइँचो सीमावर्ती भारततर्फ बढ्न थालेपछि सीमा क्षेत्रका नेपाली व्यवसायीहरूमा निराशा छाएको छ । यसै विषयमा कारोबारकर्मीहरू मीनकुमार नवोदित, लक्ष्मण ढुंगाना, मुकेश चौधरी र मनोरञ्जन शर्माले सरोकारवाला संघसंस्थाका प्रतिनिधि एवं व्यवसायीसँग सीमावर्ती क्षेत्रका बजार र उपभोक्ताका विषयमा गरेको कुराकानीको सार :

नेपाली उत्पादनलाई माया गर्नेबित्तिकै पारि जाने क्रम रोकिन्छ
यादव पोखरेल
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स, मोरङ
सीमावर्ती नेपाली बजारको समस्या भनेकै भारतीय बजार हो । यो अहिलेको मात्रै समस्या होइन । पूर्व मेचीदेखि महाकालीसम्मको समस्या हो । खुला सिमानाका कारण पारि जाने क्रमलाई पूर्णरूपमा त रोक्न सकिँदैन ।
तर, भारतसँग सीमा जोडिएका सहर र बजारको व्यापार नफस्टाउनुको पछाडि भारतीय बजार नै हो भन्ने मलाई लाग्छ । कोभिडको समयमा सीमा नाका बन्द हुँदा नेपाली बजारमा राम्रो व्यापार भएको थियो । यहाँका उत्पादनले बजार पनि पाएका थिए । यहाँ उत्पादित बिस्कुट, चाउचाउ, तेल, जुत्ता–चप्पललगायतका वस्तुले मागलाई धानेको थियो ।
झन्डै एक वर्षजति नै भारतबाट यी वस्तुहरू आयात भएन । आखिर यहींको उत्पादनले धान्छ भने किन विदेशी वस्तुको प्रयोग गर्ने ? सबैभन्दा पहिला उपभोक्ता नै जागरूक हुनुपर्छ ।
स्वदेशी वस्तुको उपभोग गर्ने हो भने आयात पनि प्रतिस्थापन हुन्छ, जसले गर्दा बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्छ । यससँगै स्वदेशी व्यापार बढ्छ । राज्यको राजस्व बढ्नुका साथै रोजगारीसमेत वृद्धि हुन्छ । दुई देशबीचको व्यापारमा असमान मूल्य हुनु स्वाभाविकै हो । नेपाली बजारमा भन्दा भारतीय बजारमा सामानको मूल्य कम हुनु पनि ठीकै हो । किनभने त्यहाँका धेरै उत्पादनले राज्यबाट सुविधा प्राप्त गरेका छन् । राज्यबाट सुविधा प्राप्त गरेका उत्पादनको लागत स्वाभाविक रूपमा कम पर्न जान्छ । त्यसो भएकाले नेपालमा भन्दा भारतमा सस्तो हुनुलाई अन्यथा लिनु हुँदैन । पारि जाने क्रमलाई रोक्न सकिँदैन ।
रोक्ने उपाय भनेको दैनिक उपभोग्य वस्तुको भन्सार दर घटाउनुपर्छ । भन्सार दर कम पर्नेबित्तिकै त्यसको मूल्य स्वाभाविक रूपमा कम पर्छ । जस्तै चिनीको भन्सार शून्यमा झार्ने हो भने भारत र नेपालमा मूल्य खासै फरक पर्दैन । अहिले विराटनगर र जोगबनीमा चिनीको मूल्यको अन्तर करिब २५ रुपैयाँ छ । अनि उपभोक्ताले के गर्छ भने नेपालमा भन्दा धेरै नै सस्तोमा चिनी पाइन्छ भनेर जोगबनी जान्छ ।
उसले त्यहाँ पुगिसकेपछि चिनी मात्रै ल्याउँदैन । साथमा तेल, मरमसला, लत्ताकपडा, साबुनलगायतका सामान पनि ल्याउँछ । घरायसी सामान ल्याउँदा भन्सारमा पनि रोकतोक छैन, जसले गर्दा राज्यको पनि कर गुमिरहेको छ । यहाँका व्यापारीका तर्फबाट पनि उपभोक्ताबाट धेरै मूल्य लिनु हुँदैन । सीमित मार्जिन राखेर सामान बिक्री गर्नुपर्छ । हामीले विगतदेखि नै भन्सारमा होर्डिङ बोर्डहरू राखेर उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौं । अघि पनि मैले भनें, मूलभूत कुरा के हो भने नेपाली उत्पादनलाई माया गर्नेबित्तिकै पारि जाने क्रम रोकिन्छ ।

दुई वर्षयता व्यापार खस्केको छ
सीता कोइराला
प्रदेश सदस्य, उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम
दसैं सकिएर तिहार नजिकिएको छ । यो बेला तिहारको किनमेल बढ्नुपर्ने हो । तर, बजारमा खासै चहलपहल छैन । तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहार दिनका लागि पनि लुगा, कपडा, भाँडाकुँडा किनमेल गर्ने चलन थियो । तर, यो वर्ष व्यापार त्यति राम्रो चलेको छैन । कोभिडले गर्दा दुई वर्षयता व्यापार एकदमै खस्केको छ । व्यवसायीहरू मर्कामा परेका छन् । यो बेला राज्यले पनि व्यापारीहरूलाई केही सहुलियत दिनुपर्ने थियो । बैंकको ब्याजमा पनि कुनै सहुलियत छैन । समग्रमा व्यापार सामान्य रूपमा चलिरहेको छ । राम्रोसँग व्यापार चल्न सकेको छैन ।
धनगढी सिमाना क्षेत्रको बजार हो । यहाँका ग्राहक एक किलो चिनीका लागि पनि भारतको सिमानामा रहेको बजारमा जाने गरेका छन् । एक–दुई रुपैयाँ बचाउनका लागि मानिस त्यहाँ पुग्छन् । तर, तौलमा कति घटेको छ भन्ने थाहा हुँदैन । भन्सार छलीको विषयमा राज्यले ध्यान दिनुपर्छ । सिमानाका मानिसहरूले नेपालमै उत्पादन भएको सामान पनि भारतमै गएर किन्ने गरेको देखिन्छ । सहुलियतमा सामान किन्न पाउने व्यवस्था धनगढीमै गर्न पाए राम्रो हुन्छ । भारतीयहरू नेपालमा आएर सामान किने भने हरेक कुरामा बार्गेनिङ गर्छन्, तर नेपालीको बार्गेनिङ गर्ने चलन छैन । जति भन्यो त्यही पैसा तिरेर सामान किन्ने गरेका छन् ।
नेपाली व्यापारीले कुनै खाद्यमा मिसावट गरेको छ भने खाद्य गुणस्तर कार्यालय हेर्नुपर्छ, तर नेपाली व्यापारीले त्यस्तो बदमासी गरेका छैनन् । चाडबाड आएपछि मात्रै अनुगमन हुने, अरू समयमा अनुगमन नहुने देखिएको छ । कति डेट एक्स्पायर सामानहरू पनि बिक्री गरिरहेका हुन्छन् ? प्रिन्ट रेटभन्दा कति माथि गएका छन् ? भन्ने कुरा हेर्न अनुगमन टोली हुनुपर्छ । तर, यो टोली चाडबाडमा मात्रै सक्रिय देखिन्छ । अरू बेला पनि यसैगरी अनुगमन हुनुपर्छ । कतिपय पसल दर्ता नभएर पनि खोलिएका छन् । यसले गर्दा दर्ता भएका पसलहरू मारमा परेका छन् । यसमा राज्यले अनुगमन गर्नुपर्छ । साथ चाहिएमा उद्योग वाणिज्य महासंघले पनि सहयोग गर्छ ।
पछिल्लो समयमा अनावश्यक झिलिमिली गर्ने चलन बढेको छ । भारतीय संस्कृति भिœयाएर यस्तो गरिएको छ । हाम्रा बुबाहरूको पालोमा सालको पातमा बत्ती काटेर बत्ती बाल्ने गरिएको थियो । दिदीबहिनीले तिहारको बेला लुगाफाटा वा काँसको थाल उपहार दिने चलन छ । खास गरेर टोपी र टीका गाँसियोस् भन्ने हो । जे भए पनि तिहार सामान्य तरिकाले मनाउनुपर्छ ।
चाडबाडको बेला व्यापारीले महँगी बढाए भन्ने कुरा गलत हो । खाद्यान्नको भाउ पहिलेदेखि नै बढेको छ । तेलको भाउ अलिकति बढेको हो । कपडाको मूल्य केही बढेको छ । तर, यसलाई महँगी बढेको कसरी भन्ने ? यत्रो समयदेखि व्यवसाय चलेको छैन । भाडा मिनाहा भएको छैन । व्यापारीले भाडा तिर्न सकिरहेका छैनन् । बैंकको ब्याज बढिरहेको छ । महँगी नै बढाउने भनेर भाउ बढाएको छैन । सामानको मूल्य नै बढेर आएपछि व्यापारीहरूले पनि सोहीअनुसार सामान बेचेका छन् ।

कोरोनाका कारण थला परेको नेपालगन्जको व्यापारमा सुधार आएन
चिरन्जीवी ओली
महासचिव, नेपालगन्ज उद्योग वाणिज्य संघ
कोरोनाका कारण दुई वर्षदेखि थला परेको नेपालगन्जको व्यापारमा संक्रमण घटेसँगै सुधार हुने अपेक्षा यहाँका व्यवसायीहरूले गरेका थिए । दसैं नजिकिएसँगै कोरोना भाइरस संक्रमण दर पनि घट्यो । लामो समयदेखि बन्द रहेको नेपाल भारत सिमानाका खुल्यो । नाका खुलेसँगै सीमापारिको बजार रुपैडिहामा उपभोक्ताको भीड लागेको छ । दैनिक ४ देखि ५ हजार जना किनमेलका लागि त्यहाँ जाने गरेका छन । दसैंतिहारको समयमा भ्याइनभ्याइ हुने यहाँका व्यवसायी फुर्सदिला भएका छन ।
दसैंतिहारको समयमा यतिबेला नेपालगन्जको घरबारी टोल, सदरलाइन, त्रिभुवन चोक, न्युरोडलगायतका क्षेत्रहरूमा विगत वर्षहरूमा सामान किनमेल गर्नेहरूको ठूलो भीड लाग्ने गथ्र्यो । कोरोनाका कारण लामो समयसम्म निषेधाज्ञा जारी हुँदा दुई वर्षदेखि ठप्प भएको यहाँको व्यापार यति बेला पनि नहुँदा व्यवसायीहरू निराश बनेका छन् । उता सीमापारिको भारतीय बजार रुपैडिहामा भने नेपाली उपभोक्ताहरूको ठेलमठेल घुइँचो छ । हामीले उद्योग वाणिज्य संघका तर्फबाट उपभोक्ता जागरुक बनाउनका लागि पहल थाले पनि खासगरी सरकारी तवरबाट त्यो किसिमको सहयोग भएको पाइँदैन ।
सीमापारि भइरहेको व्यापारलाई निरुत्साहित गरी नेपाली बजारमा उपभोक्ता आकर्षित गर्ने सरकारी योजना नहुँदा नेपाली व्यवसायी र उपभोक्ता मर्कामा परेका छन् । अर्कातर्फ सरकारले सहुलियत पसलका नाममा कागजी रूपमा नुन र चामलमात्र राखेको छ । सबै खाले उपभोग्य वस्तुमा छुट दिएर सुपथ मूल्य पसल खोल्नुपर्नेमा उपभोक्ता आकर्षित गर्ने सरकारी योजना नहुँदा सीमापारिको व्यापारलाई प्रोत्साहन मिलेको छ, जसको प्रत्यक्ष मारमा यहाँका व्यवसायी परेका छन । रुपैडिहामा सामान किन्न जाने नाममा दैनिक अवैध रूपमा तस्करी हुँदा पनि तस्करी नियन्त्रण हुन सकिरहेको छैन ।
सरकारले सीमा नाकाबाट हुने अवैध आयात नियन्त्रण गर्न नसक्नुका साथै उपभोक्ताको आकर्षण बढाउनेतर्फ खासै चासो नदिएकाले दसैंतिहारको बेलामा समेत नेपालगन्जको व्यवसायले गति लिन नसकेको हो । स्वदेशी उत्पादन प्रर्वद्धन, भन्सार नियमनमा कडाइ र चाडबाडको बेलामा सहुलियत दिने राज्यको नीति नाममात्रको छ, जसका कारण उपभोक्ता स्वदेशी व्यवसायप्रति आकर्षित हुन सकेका छैनन् । यसको प्रभाव मुलुकको समग्र अर्थतन्त्रमा पर्ने गरेको छ ।
सरकारले सीमापारिको व्यापार व्यवसायलाई निरुत्साहित गरी उपभोक्तालाई स्वदेशमै आकर्षित बनाउन समय–समयमा बजार अनुगमनका साथै विशेष योजनाका साथ कार्य गर्नुपर्ने देखिन्छ ।

संक्षिप्त प्रज्ञापनमा कडाइ गर्नुपर्छ
ठाकुरकुमार श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही
निश्चय पनि नेपाल–भारतका सीमावर्ती क्षेत्रका बजारहरूमा दुवै देशका नागरिकहरूको आकर्षण नै रहने गरेको छ । भारतमा नेपालभन्दा सस्तो र नेपालमा विदेशी सामान गुणस्तरीय सामान भारतमा भन्दा सस्तो पाइने भन्दै उपभोक्ताहरू वारिपारि आएर गएर खरिदारी गर्ने गरेका छन् । यसरी खरिदारी गर्दा स्थानीय व्यवसाय बजार गुलजार दुवैतर्फ हुनुपर्ने हो, तर सीमावर्ती भारतीय बजार गुलजार हुँदा नेपाली सीमावर्ती बजारमा चहलपहल खासै हुँदैन । यो पहिलेदेखि नै थियो र अझै पनि उपभोक्ता सचेत हुन सकेका छैनन् ।
कोरोनाका कारण सीमा नाका र सीमावर्ती बजारहरू बन्द हुँदा स्थानीय बजारमा खरिदारी गर्ने बानी नेपालीहरूमा परेको थियो र केही मात्रामा स्थानीय बजारहरूमा चहलपहल बढेको थियो । सीमा नाका बन्द हुँदा सीमावर्ती क्षेत्रका नेपाली बजारहरू केही मात्रामा चलायमान देखिएका थिए । तर, पछि नाका पूर्णरूपमा खुल्न थालेपछि नेपाली उपभोक्ताहरू भारतीय बजारतर्फ बढिरहेका छन् । कसैले रोक्न सकेका छैनन् ।
अहिले चाडपर्वको समयमा सीमा नाका खुल्दा भारतीय बजार पूरै उत्साहमा छन् भने नेपाली बजारहरूमा त्यस्तो कुनै रौनक देखिएको छैन ।
सीमावर्ती क्षेत्र अर्थात् नाका खुल्दा नेपालको पर्यटन क्षेत्र भने विस्तारै चलायमान हुँदै छ, भारतीयहरू आउने क्रम विस्तारै सुरु भएको छ । यो सकारात्मक पाटो हो ।
नेपाली उपभोक्ताहरू सामान सस्तो पाइने भन्दै सीमावर्ती भारतीय बजार पुग्ने गर्छन् । तर, नेपाली उपभोक्ताहरूले कहिले पनि सामानको गुणस्तर, मूल्यमा तुलना गरेको पाइँदैन । एकाध सामान भारतमा सस्तो होला, तर धेरै भारतीय सामान जसको भारतमा जति मूल्य छ त्यति मूल्यमै नेपालमा पनि उपलब्ध हुन्छ । त्यसतर्फ नेपाली उपभोक्ताको ध्यान कहिल्यै जान सकेन । अर्को कुरा, सरकारले खरिदारी गर्ने जुन छुट लिमिट दिएको छ, त्यसको व्यापक दुरुपयोग भएको छ । १ हजार रुपैयाँसम्मको सामान खरिदारी गरेर आउने छुट भए पनि उपभोक्ताले लाखांै रुपैयाँका विभिन्न सामानहरू खरिदारी गरिआएको पाइन्छ ।
यो विषयमा भन्सार कार्यालय पनि अलि कडा रूपमा प्रस्तुत हुनुप¥यो । चोरी–निकासी पनि नियन्त्रण हुनुप¥यो । हुन त प्रहरीकोे सक्रियता बढेको छ । नियन्त्रणमा अझ बढी प्रभावकारिता देखिनुपर्छ । झोलेपोके तस्कर जो नाका हुँदै आउने गर्छन्, खरिदारी गरी त्यस्तालाई निरुत्साहित गर्नुपर्छ । त्यस्ताले ल्याएर दिएका सामान कुनै पनि व्यवसायीले खरिद गर्नु हुँदैन ।
त्यसो गरेमा केही मात्रामा भए पनि मद्दत पुग्छ । भारतमा सस्तो सामान पाइन्छ भन्दैमा कर नतिरी हजारौंको सामान ल्याउनेहरूलाई करको दायरामा नल्याएसम्म यो परिपाटी जारी रहन्छ र नेपाली सीमावर्ती बजारहरू चलायमान बन्न सक्दैनन् । घरायसी सामानका नाममा दैनिक करोडौंका सामान भन्सार नगरी भित्रिने भएकाले दिनहुँ भारतमा खरिदारीका लागि जानेहरूको रेकर्ड नाकामा राख्नुपर्ने साथै संक्षिप्त प्रज्ञापन अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्था हुनुपर्छ । त्यसैगरी आउने–जाने सबैलाई र ल्याएका सामानहरूको स्क्यान गर्ने मेसिन जुन जडान छ, त्यसको प्रयोग गरिनुपर्छ ।

भन्सार नीति परिवर्तन हुनुपर्छ
ओमकार गौचन
प्रोप्राइटर, गौचन फेन्सी पसल, भैरहवा
एकादेशमा सीमावर्ती बजारहरू गुलजार थिए । दैनिक हजारौंको व्यापार हुने गथ्र्याे । मानिसहरू टाढाटाढाबाट लत्ताकपडा, दैनिक खाद्यवस्तु खरिद गर्न भैरहवा आउने गर्थे । तर, अहिले माहोल धेरै परिवर्तन भएको छ ।
२०४५ सालमा जब व्यापार तथा पारवहन सन्धि भारतले नेपालसँग नवीकरण गरेन र नाकाबन्दी ग¥यो त्यति बेलादेखि नेपालीहरू सीमावर्ती बजारमा खरिदारीका लागि जान थालेका हुन् । हाम्रो भैरहवाको कुरा हो यो २०४५mबष्तियस्।२०४५द्दछ सालअघिसम्म भैरहवाको बजार एकदम गुलजार थियो । त्यसपछि नाकाबन्दीका कारण नेपालीहरू भारतीय बजार जाने क्रम विस्तारै बढ्दै गयो ।
नेपाली उपभोक्ताको चहलपहल भारतीय बजारमा बढेपछि नौतनवा होइन सुनौलीमा अझ बढी चहलपहल हुन थाल्यो । जुन क्रम अहिले पनि छ । पारिको बजारमा चहलपहल हुँदा हामीकहाँ व्यापार छैन भन्नुपर्ने अवस्था छ । अहिले कोरोनाको समयमा नाका बन्द हुँदा उपभोक्ताहरूमा स्थानीय बजारमा खरिदारी गर्ने प्रचलन परेको थियो । केही मात्रामा भए पनि बजारहरू गुलजार हँुदै गएका थिए । अब नेपाली उपभोक्ताले नेपाली बजारमै खरिदारी गर्ने क्रम सुरु भयो भनी हामी निकै खुसी भएका थियौं । तर, त्यो क्रम धेरै टिकेन ।
नेपाली बजारमा खरिदारी गर्ने नेपाली उपभोक्ताको बानी रहन गयो होला भन्ने सोचाइ व्यर्थको रहेछ । दसैंअगाडि असोज पहिलो साताबाट नाका खुल्यो । नाका खुलेपछि नेपाली उपभोक्ताको घुइँचो भारतीय बजारतिर बढेको छ । हामी उपभोक्तालाई रोक्न सक्दैनौं । स्थानीय बजार प्रवद्र्धन गर्ने जिम्मा सरकारको स्थानीय तहको हो । तर, यस विषयमा कसैलाई केही मतलब छैन ।
हामी कराएर मात्र केही हुनेवाला छैन । जबसम्म भन्सारमा नीति परिवर्तन हुँदैन तबसम्म सीमावर्ती बजारमा खरिदारीका लागि जानेहरूलाई रोक्न सकिँदैन । अन्डर बिलिङ, असमान भन्सार मूल्यांकनलगायतका कारणले भारतीय केही सामानहरू जस्तो कुर्था–सुरुवाल, धोती, कपडालगायतका सामान भारतको तुलनामा नेपालमा महँगो पर्छ । कुनै–कुनै सामानको त भन्सार मूल्यांकन र कपडाको मूल्यभन्दा महँगा छन्, जसले गर्दा यहाँ सामान महँगो छ ।
त्यही सामान नेपाली उपभोक्ताले भारतबाट भन्सार नतिरी ल्याउँछन् र नेपालमा त धेरै ठग्ने, भारतमै कति हो कति सस्तो भन्छन् । त्यसैले गर्दा भन्सार मूल्यांकन, अन्डर बिलिङजस्ता कारण र अरू पनि छन् । संक्षिप्त प्रज्ञापनमा कडाइ गर्नुपर्छ । भन्सार बिन्दुमै जुन १ हजार रुपैयाँसम्मको सामान ल्याउन छुट छ, त्योभन्दा बढी ल्याउनेलाई प्रज्ञापन भराई भन्सार तिरेर मात्र लैजाने व्यवस्था गर्नुपर्छ र कडाइ पनि गर्नु पर्छ ।
नेपाली बजार गुलजार बनाउने मुख्य दायित्व सरकारको हो र यसमा भन्सारको मुख्य जिम्मेवारी पनि छ ।
संक्षिप्त प्रज्ञापनलगायतका विषयमा भन्सार अलि कडा रूपमा प्रस्तुत हुँदा राजस्व संकलनसमेत अलि राम्रो हुने थियो र भन्सार कर तिनुपर्छ, भन्सारमा कडाइ छ भनेपछि उपभोक्ताहरू पनि नेपाली बजारमै खरिदारी गर्न सक्थे ।
अर्को कुरा, झोलेपोकेका कारण पनि समस्या छ । झोलेपोकेका सामान भैरहवा, बुटवल मात्र नभई पाल्पा, गुल्मी, अर्घाखाँचीसम्म पुग्ने गरेको छ । झोलेपोकेको सामान कसैले खरिद नगर्ने र सामान ल्याउन अर्डर पनि नगर्ने हो भने यो समस्या पनि हल हुने थियो । यो विषयमा उद्योगी–व्यवसायीका निजी संस्थाहरू अलि गम्भीर भएर अघि बढ्नुपर्छ जस्तो मलाई लाग्छ ।

उपभोक्ता सचेत हुन सकेनन्
अनिल ज्ञवाली, अध्यक्ष, उद्योग व्यापार संगठन, रुपन्देही
अहिले मुख्य समस्या भनेकै हाम्रो उपभोक्ताले कुरा नबुझ्नु हो । हामीले लामो समयदेखि स्थानीय उत्पादनको प्रयोग, स्थानीय बजारमा खरिदारी गरौं, नेपाली हुनुमा गर्व गरौं भन्दै आएका छौं । जति भने पनि उपभोक्ताको धारणामा परिवर्तन ल्याउन सकिएन । हामीले हरेकपल्ट आयोजना गर्ने व्यापार मेलाहरूमा एकै प्रकृतिका सामानको नेपाली बजारमा पर्ने मूल्य र भारतीय बजारमा पर्ने मूल्यका बारेमा पोस्टर राखेर जनचेतना जगाउँदै आएका छौं । विभिन्न कार्यक्रममा यो मुद्दालाई प्रमुखताका साथ उठाउने गरेका छौं । तर, उपभोक्ता सचेत नहुँदा धेरै समस्या छ । सस्तोको नाममा गुणस्तरहीन सामानहरू आउने गरेका छन् । उपभोक्ताले मूल्य पनि हेर्दैनन् । चिनी र कपडा हो अलिकति सस्तो पर्ने । तर, तीबाहेक धेरै सामान नेपालमै सस्तो हुन्छ । यसतर्फ उपभोक्ताको ध्यान कहिल्यै पनि जान सकेन ।
आम नेपाली उपभोक्ताकै कारण नेपाली बजार चलायमान हुन नसकेको हो । सीमा नाकामा कडाइ नहुँदा, भन्सार खरो रूपमा प्रस्तुत नहुँदा, संक्षिप्त प्रज्ञापनमा फितलो हुँदा र प्रहरी प्रशासनको उपस्थिति कमजोर हुँदा पारिको बजारमा चहलपहल र नेपालको बजारमा आकर्षण कम हुने गरेको हो । नेपाली बजारमा जुन डेढ–दुई दशकअघि चमक थियो त्यो अब आउन सक्ने देखिन्न । नेपाली उपभोक्तामा चेतनाको अभावले, कर तिरेर, भन्सार तिरेर सामान ल्याउनुपर्छ भन्ने भावना आउन नसक्दा सामान्य अधिकारको दुरुपयोग गरी लाखौंको सामान धमाधम भित्रिरहेका छन् । घरायसी प्रयोगका नाममा सामान ल्याउने र ती सामानलाई व्यापारिक प्रयोजनमा प्रयोग भएको पाइएको छ । यस्ता कार्यहरू रोकिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्