लाइसेन्सको नयाँ व्यवस्था मंसिरबाट «

लाइसेन्सको नयाँ व्यवस्था मंसिरबाट


यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ मंसिर दोस्रो साताबाट लागू गर्ने भएको छ । संशोधित कार्यविधिअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंक भार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई विभागले १ महिनापछि लागू गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।
विभागले निर्देशिका लागू गर्नका लागि यातायात व्यवस्थापन कार्यविधिको निर्देशिका–२०६० को दफा १२.९ र १२.१४ मा रहेको कानुनी व्यवस्था संशोधन गरेको थियो । अबको १ महिनापछि चालक अनुमति पत्रको नयाँ मापदण्ड कार्यान्वयन गर्न लागेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । उनले भने, “यातायत सेवा कार्यालयहरूले १ महिनाको सीमा राखेर कार्यान्वयन गर्ने प्रस्ताव राखेअनुसार नै बिहीबार मन्त्रालयमा प्रस्ताव पेस भएको छ ।”
सेवा कार्यालयहरुले १ महिनाको समय माग गरेको र सो समयमा आन्तरिक तयारी पूरा गरी नयाँ नियम लागू हुने गरी प्रकृया अगाडि बढाएको विभागले जनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट प्रस्ताव स्वीकृत भएसँगै नयाँ नियम कार्यान्वयनमा आउने छ ।
नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को तयार पारिएको संशोधित कार्यविधि अनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंक भार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई विभागले गरेको थियो ।
सरकारले लागू गर्न लागेको परिमार्जित सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ अनुसार वर्ग ‘क’ मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ मा कार, जिप, डेलिभरी भ्यानमा नयाँ नियम मात्र कार्यान्वयन गर्न लागेको हो । विभागले मानवरहित अटोमेटिकमा प्रयोगात्मक परीक्षा गराउने गरी तयारी गरेको जनाएको छ । विभागले यसअघि नै अटोमेसनमा गएपछि बारकोटको प्रयोग गरी मानवरहित प्रयोगात्मक परीक्षा सञ्चालन ल्याएको थियो ।
यसरी पास भएका परिक्षर्थीले राजस्व भुक्तानी गरेसँगै तत्कालै अस्थायी लाइसेन्स (१ वर्ष परीक्षणकाल) दिनेछ । अस्थायी लाइसेन्स क्यूआर कोडसहितको हुने भएकाले स्मार्ट काड प्राप्त नभएसम्मका लागि राजस्व भुक्तानी गरेको रसिद लिएर हिँड्नुपर्ने बाध्यता हटेको महानिर्देशक घिमिरेले बताए ।
विभागको नयाँ व्यवस्थासँगै सवारी चालक अनुमतिपत्रका लागि सहभागी हुने ६० देखि ८० प्रतिशत परीक्षार्थी लाभान्वित हुने विभागको प्रक्षेपण रहेको छ । हाल लिखित परीक्षामा कुल अंकभारमा ५० अंक ल्याउने पास भएपछि प्रयोगात्मकमा सहभागी हुने पाउने छन् र तोकिएको ट्रायल पास गर्नुपर्ने व्यवस्था छ । कानुनी व्यवस्थालाई संशोधन गरेर ट्रायलमा परीक्षामा सहभागीको प्राविधिक पक्षलाई वर्गीकरण गरी अंकभार तय हुने र मेजर, माइनरमा आधारमा अंकभार वर्गीकरण अनुसार परीक्षार्थीले ७० अंक ल्याएका सवारी अनुमतिका लागि योग्य हुने गरी कार्यविधि संशोधन गरिएको थियो ।
परीक्षार्थीले ट्रायल लिनका लागि स्वयम्ले सवारी साधनको व्यवस्था गर्न सक्नेछन् । यसरी सो सवारीले मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानको अनुमतिपत्रका लागि ट्रायल (प्रयोगात्मक)मा सात चरणको परीक्षा प्रकृयामा पास हुनुपर्ने छ ।
पछिल्लो समयकोभिड–१९ र लामो समय चालक अनुमतिपत्र रोकिँदा सेवाग्राहीको चाप अत्यधिक बढेर गएको थियो । सवारी चालक अनुमतिपत्र लिनका लागि हुने चाप, अपारदर्शिता, बीचौलीया हावी, सेवाग्राहीमा देखिएको सास्तीका कारणले मन्त्रालयलाई सवारी चालक अनुमतिपत्र अनलाइन बनाउनुपर्ने प्रयोगात्मक परीक्षालाई वैज्ञानिक बनाउन लागिपरेको थियो ।
सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम भर्नुपर्ने, त्यसपछि लिखित पास गरेपछि ट्रायलमा सहभागी हुन पाउनेछन् । नयाँ मापदण्डमा लिखित परिक्षाका लागि एक आर्थिक वर्षमा सोधिने ५ सय प्रश्नको संग्रह सार्वजनिक गरिसकेको छ । विभागको मातहतका उपत्यकका ४ सेवा कार्यालयसहित देशभरका १७ वटा कार्यालयबाट सेवा प्रवाह गरेको छ । कोभिड–१९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमतिपत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड–२०७८ स्वीकृत गरेर सोहीअनुसार परिक्षा सञ्चालन भइसकेको छ ।

सवारीको चालक अनुमति पत्रको आवेदन बन्द
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन बन्द गरेको छ । विभागले कोभिड–१९को दोस्रो महामारीका कारण गत वैशाख १६ देखि बन्द रहेको नयाँ सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन सोमबारदेखि खोलेको थियो ।
तर बिहीबार प्राविधिक समस्या देखिएकाले मर्मतका लागि बन्द गरेको विभागले जारी गरेको सूचनामा उल्लेख छ । कोभिड–१९का कारण रोकिएको आवेदनले गर्दा धेरै सेवाग्राहीले लाइसेन्स दिनबाट नयाँ चालक वञ्चित भएको अवस्था थियो । आवेदन बन्द भएसँगै सेवाग्रही थप मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्