खुला सीमा व्यवस्थापनमा प्रवेशाज्ञा «

खुला सीमा व्यवस्थापनमा प्रवेशाज्ञा

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात् राजनीतिक विचारमा आएको विविधताका कारण अन्य क्षेत्रमा जस्तै छिमेकी मित्रराष्ट्रहरूप्रति अभिव्यक्त गरिने मैत्रीपूर्ण सद्भावसहितको वैदेशिक कूटनीतिको क्षेत्रमा पनि कायम रहनुपर्ने न्यूनतम मर्यादाविशेषको समेत रत्तिभर ख्याल नराखी नेपाली राष्ट्रवादका नाममा आफ्नो निहित राजनीतिक स्वार्थ परिपूर्तिका लागि लिप्त रहँदै अभिव्यक्त भएका कूटनीतिक, राजनीतिक विचारहरूले कहिलेकाहीं नेपाल एवं नेपाली जनताको साख विश्व समुदायमाझ संकुचित रहन जाने अवस्था प्रारम्भ हुने देखिन्छ ।
चरम राष्ट्रवादको नाममा सार्वभौमसत्तासम्पन्न नेपाली जनताको आत्मसम्मानमा ठेस पुग्ने प्रवृत्तिका घटनाक्रमको विकासले मुलुक, छिमेकी मित्रराष्ट्र एवं हामीहरू कसैको पनि हित नहुने प्रस्टै छ ।
नेपालले जहिले पनि संयुक्त राष्ट्रसंघको बडापत्रमा आधारित असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलका आधारभूत सिद्धान्तमा आधारित मूल्य–मान्यता एवं छिमेकी मित्रराष्ट्रलगायत विश्वका अन्य कुनै पनि मित्रराष्ट्रको गरिमामा कुनै प्रकारको आँच नपुग्ने वैदेशिक नीतिलाई मुलुकको परराष्ट्र नीतिका रूपमा अवलम्बन गर्दै आएको तथ्यलाई हामीहरू कसैले पनि भुल्न सक्दैनौं ।
तथापि कुत्सित राजनीतिक स्वार्थजन्य तथ्यबाट प्रभावित समूहबाट बेलाबखत अभिव्यक्त गरिने अभिव्यक्ति कारण उत्पन्न हुन सक्ने गैरजिम्मेवारीपूर्ण कदमको विकासले वैदेशिक कूटनीतिक सम्बन्ध विस्तारको क्षेत्रमा चिसोपनको अनुभूति रहन जाने प्रबल सम्भावना जीवन्त रहन्छ ।
तसर्थ, राष्ट्रवादी आत्मसम्मानका नाममा गरिने अवाञ्छित गतिविधिको अत्यधिकताले अन्ततः बाह्य शक्तिकेन्द्रलाई नै अघोषित रूपमा सहयोग पुग्न गई नेपाल तथा नेपाली जनतालाई प्रत्युत्पादक नकारात्मक असरबाहेक अन्य कुनै ठोस उपलब्धिमूलक नतिजा हात लाग्ने देखिँदैन ।
किनकि कतिपय अवस्थामा मुलुकका लोकतान्त्रिक शक्तिसँग सन्निकटतम सम्बन्ध स्थापित रहेका उपल्ला तहका राजनीतिक समूहबाटै मुलुकको आन्तरिक सुरक्षाको सन्दर्भमा विशेष गरी खुला सीमा व्यवस्थापनका अतिरिक्त स्थलमार्गबाट नेपाल–भारत प्रवेश गर्दाका समयमा सम्बद्ध मुलुकका नागरिक समुदायलाई राहदानी एवं यस्तै प्रवृत्तिका अन्य प्रवेशाज्ञासम्बन्धी अन्य कुनै वैकल्पिक व्यवस्थापन अनिवार्य रूपमा हुनुपर्छ भन्ने आवाज सुषुप्त रूपमा धेरै अगाडिदेखि नै उठाउँदै आएको कुरा हो ।
सम्भवतः रोटीबेटीको सम्बन्ध स्थापित रहेका यी दुवै मुलुकका आमनागरिक समुदायलाई एकअर्कोको मुलुकमा प्रवेश गर्दाका बखतमा हवाईमार्गबाहेक अन्य अवस्थामा हालसम्म कुनै पनि प्रकारको अनुमतिपत्रलगायतका राहदानी एवं प्रवेश आज्ञापत्रको आवश्यकता नपर्ने कुरा सर्वविदितै छ ।
तथापि आफ्नो पहिचान एवं व्यक्तिगत सुरक्षाको खातिर नागरिकता/राहदानीलगायत यस्तै सरकारी निकायबाट जारी गरिएका आधिकारिक परिचयपत्र भने आफ्नो साथमा राख्ने व्यवस्था गरिएको खण्डमा यात्रा सुखमय हुने कुरालाई भने अन्यथा लिन मिल्दैन ।
सरसर्ती रूपमा हेर्दा भिन्न परिवेशमा रहेका दुई सार्वभौमसत्तासम्पन्न स्वतन्त्र गणराज्यका सम्प्रभू नागरिक समुदायको बीचमा आवतजावतको सहजीकरणका लागि नेपालको परिवर्तित परिवेशअनुसार राहदानी, अनुमतिपत्र एवं प्रवेशाज्ञाको व्यवस्थाको चाहनाको कदमलाई अस्वाभाविक मान्न मिल्दैन ।
प्रस्तुत तथ्य नेपालको नितान्त निजी सरोकारको विषय हुनुका साथै मुलुकको आन्तरिक परराष्ट्र मामिलाको गहन मर्मस्पर्शी तथ्यसमेत हो । यद्यपि नेपाल–भारतबीचको मैत्रीपूर्ण सद्भावको गहनतालाई नजिकबाट नियालेर अध्ययन गर्ने हेर्ने हो भने आदिम कालदेखि कायम रहँदै आएको विशेष प्रकारको मैत्रीपूर्ण सम्बन्ध एवं अधिकांश सामाजिक संरचना, भाषागत समानता, वैवाहिक सम्बन्ध आदिका कारण भिन्न परिवेशमा समेत राहदानी एवं प्रवेशाज्ञाको व्यवस्था नगरिएको मात्र हो भन्दा फरक नपर्ला ।
विश्वमा यस प्रकारका मैत्रीपूर्ण सम्बन्ध स्थापित भएका मुलुकमा समेत यस्तै प्रवृत्तिका सुविधाहरू उपभोग गरिरहेका कैयौं उदाहरण प्रशस्त मात्रामा भेटिने गर्छन् । नेपाल–भारतको सम्बन्धलाई हेर्दा यदि यथार्थमा नै राहदानी, प्रवेशाज्ञा एवं खुला सीमा क्षेत्र व्यवस्थापनमा कडाइका साथ प्रस्तुत हुने रणनीति अवलम्बन गर्ने हो भने त्यसको प्रत्यक्ष प्रभाव भारतीय नागरिक समुदायलाई भन्दा पनि आमनेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नै बढी मात्रामा असर पार्ने निश्चित छ ।
किनभने वृत्तिविकास एवं अन्य विकास निर्माणका साथै पूर्वाधार विकासका हिसाबमा समेत तुलनात्मक रूपमा नेपालभन्दा भारत अब्बल रहनुका साथै भारतका विभिन्न सहरहरूमा बर्सेनि लाखौंको संख्यामा रहेका नेपाली नागरिकको समूहले सानोभन्दा सानो कामदेखि लिएर सम्मानजनक कार्यका लागिसमेत भारतलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका कारण प्रवेशमा कडाइ गर्दा नेपाली पक्ष नै त्यसको प्रत्यक्ष मारमा पर्ने देखिन्छ । साथै सीमा क्षेत्रमा रहेका नेपाली नागरिक समुदायको दैनिक जीवनयापनका लागि आवश्यक पर्ने नुनदेखि सुनसम्मको व्यवस्थापनमा समेत भारतमा नै निर्भर रहनुपर्ने अवस्थाले हृदयविदारक परिस्थितिको निर्माण नगर्ला भन्न सकिँदैन ।
विपरीत अवस्था पैदा भई विभिन्न पेसा–व्यवसायमा आबद्ध रही भारतमा रहेका लाखौंलाख नेपालीहरूको समूहलाई नेपाल फिर्ता पठाउने अदूरदर्शी योजनाको विकास गर्दै भारत एवं भारतीय जनताले असहिष्णुताको मार्गलाई अवलम्बन गर्ने प्रयास गरेमा त्यसको नकारात्मक प्रभावस्वरूप नेपालको जनसंख्यामा अप्रत्याशित रूपमा वृद्धि हुन गई बेरोजगारी समस्यादेखि लिएर अन्य विविध प्रकारका सामाजिक समस्यासँग जुध्न नेपाल सरकार एवं नेपाली जनता तयार रहनुबाहेक अर्को कुनै विकल्प मुलुकसँग नरहने प्रस्टै छ । उदाहरणका लागि विगतमा भारत सरकारले भुटानी शरणार्थीप्रति अपनाएको रणनीतिक व्यवहारका कारण नेपालका पूर्वी भूभागमा रहेका हजारौं भुटानी शरणार्थीको समस्या हालसम्म पनि निराकरण हुन नसकेको वर्तमान परिप्रेक्ष्यमा दूरगामी असर पर्ने कतिपय मुद्दामा आवश्यक निर्णय लिइँदा विशेष सावधानी अपनाउनु नै मुलुक र जनताप्रति सच्चा सद्भाव प्रकट गरेको अवस्था मान्न सकिनेछ ।
यस प्रकारका घटना–परिघटनाको अभिवृद्धिले आमनेपाली समुदायलाई भन्दा पनि बाह्य शक्तिलाई नै प्रत्यक्ष लाभ पुग्ने देखिन्छ, किनकि यदि भारतमा रहेका लाखौंलाख नेपालीजनलाई विस्थापित गर्न सम्बद्ध पक्ष सक्षम रहेको खण्डमा नेपाली मूलका नागरिक समुदायले उपभोग गर्दै आएको पेसा–व्यवसायजस्ता दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा रिक्त रहन आएका स्थानहरूमा आफ्ना नागरिक समुदायका लागि विभिन्न प्रकारका सेवा–सुविधालगायत अतिरिक्त रोजगारीको व्यवस्थापन गर्न पाउने परिस्थितिको निर्माण हुने हुँदा प्रत्यक्ष रूपमा हेर्दा राहदानी, प्रवेशाज्ञा एवं सीमा क्षेत्र व्यवस्थापनमा कडाइ गर्ने भन्ने कुरा चरम राष्ट्रवादी कार्य भनिए तापनि मित्रवश परिवेशमा रहेको सम्बन्धगत विशेषताका अतिरिक्त अन्य कतिपय सामाजिक परिवेशका कारण अन्ततः ठूलो आर्थिक नोक्सानीको मार सहन गर्न भारतका सहरहरूमा पेसा–व्यवसाय आदिमा संलग्न रहँदै आएका निमुखा नेपाली नागरिक समुदायमाथि नै पर्ने भएको हुँदा आवेशमा आई गरिएको कुनै पनि निर्णयलाई राष्ट्रहितकारी कदम मान्न सकिँदैन ।
तसर्थ, हामी सस्तो राष्ट्रवादको नारामा अल्झिएर छिमेकी मित्रराष्ट्रहरूसँग कायम रहँदै आएको मैत्रीपूर्ण दौत्य सम्बन्ध विकासको क्षेत्रमा प्रत्यक्ष वा परोक्ष ऋणात्मक प्रभाव पार्ने कार्य गर्नमा उद्यत रहन्छौं भने समग्रमा प्रस्तुत प्रवृत्तिप्रवृत्तिको विकासले यस क्षेत्रमा शीत एवं वाक्युद्धको प्रारम्भ गर्ने कार्यमा सहयोगी भूमिका निर्वाह गर्ने देखिन्छ ।
त्यसो भएको हुँदा नेपालजस्तो घरेलु द्वन्द्वबाट बिस्तारै निकास पाएको मुलुकले प्रस्तुत अवस्थाप्रति अत्यन्त संवेदनशील भएर अगाडि बढ्नुपर्ने हुन्छ । अन्यथा हतारमा निर्णय गरी फुर्सदमा पछुताउनुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन । नेपाल तथा भारतीय जनताबीचमा युगौंयुगदेखिन कायम रहँदै आएको दौत्य सम्बन्ध विकासको न्यानो अनुभूतिमा कुनै पनि प्रकारको विचलन उत्पन्न गराउन यदि सम्भव भए त्यसको प्रत्यक्ष लाभ अराजक पृष्ठभूमिमा रमाउने समूह तथा हतियारको राजनीति गर्ने समूहले नै मुख्य रूपमा प्रश्रय पाउने भएको हँुदा यस प्रकारका कार्य गर्न÷गराउन सूक्ष्म रूपमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेमाका कुनै पक्ष हौसिएका त छैनन् भन्ने तथ्यलाई समयमै होस पु¥याएर कार्य गर्नु मैत्रीपूर्ण सम्बन्ध विस्तार तथा सद्भावको क्षेत्रमा नयाँ आयाम थप्नुसरहको अवस्था हो ।
अतः मुलुकमा अवैधानिक रूपमा साना हतियारको प्रयोगका कारण आन्तरिक सुरक्षामा चुनौती थपिएको बेला अराजकतामा रमाउने शक्तिलाई खुला सीमा आदिका कारण राजनीतिको नाममा हतियारको राजनीति गर्ने सुअवसरको निर्माण हामीहरू आफंैले गर्ने हो भने मुलुकको आन्तरिक सुरक्षाका साथै बाह्य सुरक्षामा समेत गम्भीर खतराको जोखिमको मात्रा बढ्न जाने तथ्यलाई नकार्न मिल्दैन । तसर्थ घोषित–अघोषित रूपमा चरम राष्ट्रवादी धार तथा आत्मसम्मानका नाममा अन्तर्राष्ट्रिय शक्तिकेन्द्र तथा छिमेकी राष्ट्रलाई प्रत्यक्ष लाभ पुग्ने गतिविधिमा समावेश नरहनु नै असली राष्ट्र चरित्रको अनुपम नमुना मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्