Logo

मृतक योगदानकर्ताका परिवारलाई कोषको मासिक पेन्सन


सामाजिक सुरक्षा कोष र वित्तीय संस्थाका कर्मचारीको विवाद अदालतमा विचाराधीन रहेको बेला एक वित्तीय संस्थाका मृतक कर्मचारीका परिवारले भने पहिलो पटक पेन्सन सुविधा लिएका छन् ।
कोषले बुधबार लक्ष्मी लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारी दिक्त्तेल रुपाकोट मझुवागढी नपा बस्ने उपेन्द्र भट्टराईका बुबाआमा देराज र ढकमाया भट्टराईले जीवनभर मासिक १६ हजार १९१ रुपैयाँ पाउने गरी सम्झौता गरेको जनाएको छ । मृतक भट्टराई कोषबाट पेन्सन सुविधा लिने पहिलो वित्तीय संस्थाका योगदानकर्ता रहेको कोषको भनाइ छ । मृतक भट्टराई २०७८ वैशाखमा सामाजिक सुरक्षा कोषमा सूचिकृत भई ३ महिनाको योगदान रकम जम्मा गर्ने सेवाग्राही हुन । अविवाहित भट्टराईको मृत्युपछि उनले पाउँदै आएको मासिक पारिश्रमिकको ६० प्रतिशतले हुन आउने १६ हजार १९१ रुपैयाँ अब उनका बुबा आमाले पाउने कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले बताए ।
सूचीकृत भएको ३ महिनामा नै कोरोना संक्रमणका कारण असोज ५ गते मृत्यु भएका भट्टराईलाई उपचार खर्च १ लाख र अन्तिम संस्कार खर्चसमेत कोषले उपलब्ध गराएको थियो । कोषले भट्टराई परिवार पाउने पेन्सनको पहिलो किस्तासमेत बुधबार नै मृतकका बाबुआमाको खातामा जम्मा गरिदिएको छ ।
सो अवसरमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले मृतक कर्मचारी भट्टराईलाई संस्थाको विनियावली अनुसार पाउने सबै सेवा सुबिधा दिने बताउँदै मृतकको नाम गरिएको बिमा रकम पनि चाँडो दिने तयारी रहेको बताए । प्रमुख कार्यकारी अधिकृत शर्माले संस्था समयमा नै कोषमा सूचीकृत भएको कारण आफना मृतक कर्मचारीका परिवारले थोरै भएपनि मासिक रुपमा निश्चित रकम पाउनु ठूलो आर्थिक सहयोग भएको बताए ।
कोषले आश्रित परिवार सुरक्षा अन्र्तगत दिएको पेन्सन बिमांकन मूल्यांकनका आधार प्रत्येक ३÷३ वर्षमा बढ्ने जनाएको छ । हालसम्म कोषका सूचीकृत ११२ योगदानकर्ताको विभिन्न कारणले मृत्यु भएकामध्ये ५१ जनाले मासिक पेन्सन पाउँदै आएपनि भट्टराई पहिलो वित्तीय संस्थाका कर्मचारी हुन् । बाँकी ६१ जनाले पेन्सनको प्रक्रियामा रहेको कोषले जनाएको छ । कोषका ४ योजनामध्ये आश्रित परिवार योजनाअन्र्तगत योगदानकर्ताको मृत्यु भएका निजको परिवारलाई यो आजिवन सुविधा प्रदान गर्दै आएको छ ।
यसैगरी जुनसुकै कारणले योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले खाईपाई आएको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम निज जीवित रहेसम्म निवृत्तभरण पाउने उल्लेख छ । कोषका सहप्रवक्ता रोहित रोग्मीले कोषले दिने योजनाबाहेक योगदानकर्तालाई प्रतिष्ठान वा रोजगारदाताले दिँदै आएको सेवा सुविधा पनि दिनु पर्ने कानुनी व्यवस्था रहेको बताए ।
योगदानकर्ताको मृत्यु भएमा निजका सन्तती २१ वर्ष उमेर पूरा नभएसम्म योगदानकर्ताको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा शैक्षिक वृत्तिबापत पाउने उल्लेख छ । मृतक योगदानकर्ताको पति पत्नी र छोराछोरी नभएको अवस्थामा निजको एकाघरका बुबा आमालाई आधारभूत पारिश्रमिकको ६० प्रतिशत निजको जिवनकाल भरी मासिक रुपमा निवृत्तिभरण प्रदान गरिने कोषले जनाएको छ । तर निजको वैकल्पिक रोजगारी भएमा सो सुविधा प्रदान नगरिने उल्लेख छ । यसरी योगदानकर्ता वा असक्षमताको सुविधा लिइरहेको अवस्थामा श्रमिकको मृत्यु भएमा निजको हकवालालाई २४ हजार रुपैयाँ अन्तिम संस्कार खर्चवापत कोषले दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्