फुजिमा आयलका उत्पादन प्रयोग गर्नेलाई ग्यारेन्टी बिमा «

फुजिमा आयलका उत्पादन प्रयोग गर्नेलाई ग्यारेन्टी बिमा


विराटनगरस्थित फुजिमा आयल लिमिटेडले उत्पादनपछिको ग्यारेन्टी बिमा गरेको छ ।
फुजिमा आयलका उत्पादनका कारण कुनै नोक्सानी भए त्यसको क्षतिपूर्तिको व्यवस्था गर्न उत्पादनपछिको ग्यारेन्टी बिमा गरिएको फुजिमा आयल विराटनगरले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक सुबोध कोइरालाले आफ्नो उत्पादन गुणस्तरीय भएकाले उपभोक्तालाई ढुक्कसँग प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले उत्पादनपछिको ग्यारेन्टी बिमा गरिएको बताए । उनले फुजिमा आयलका उत्पादनको प्रयोगले कुनै पनि सवारी साधनको इन्जिनमा क्षति पुगे एक करोड रुपैयाँसम्मको बिमा उपभोक्ताले दाबी गर्न सक्ने उल्लेख गरे । “हाम्रो कम्पनीको २७ वर्षको इतिहासमा अहिलेसम्म कतैबाट पनि एक रुपैयाँ क्षतिपूर्तिका लागि पनि आएका छैनन्” उनले भने, “उपभोक्तामा कम्पनीप्रतिको विश्वास अझै जागृत गराउन बिमा योजना अघि सारेका हौं ।”
कोइरालाले आफ्नो उत्पादनको प्रयोगले कुनै पनि समस्या आएमा इन्स्योरेन्समार्फत क्षतिपूर्ति दिने व्यवस्था नेपालमा पहिलोपटक फुजिमा आयल प्रालिले ल्याएको उनको दाबी छ । विदेशमा भने यस्तो व्यवस्था धेरै पहिलेदेखि नै प्रचलनमा रहेको कोइरालाले बताए । उनका अनुसार फुजिमा आयलले कन्ट्रोल, म्याजिक प्लस र रोयल ब्राण्डका लुब्रिकेन्टस् र ग्रिजको उत्पादन गर्दै आएको छ ।
नेपालमा ८ वटा ठूला लुब्रिकेन्टस कम्पनी छन् । ती कम्पनीले वार्षिक करिब २० अर्बको कारोबार गर्ने गरेको कोइरालाले सुनाए । नेपाली उत्पादनले ३५ प्रतिशत माग धान्ने गरेको उनको भनाइछ । कच्चापदार्थको आयातमा लाग्दै आएको भन्सार छुट, विदेशी उत्पादनको चोरी पैठारी नियन्त्रण गर्ने हो भने लुब्रिकेन्टसमा नेपाल चाँडै नै आत्मनिर्भर हुने कोइरालाले दाबी गरे । फुजिमाले मात्रै वार्षिक ३५ लाखभन्दा बढी लिटर उत्पादन गर्ने गरेको छ । २०५२ सालमा स्थापित फुजिमाका उत्पादनलाई मुलुकभरी नै पु¥याएको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्