उपत्यकाको सडक सुरक्षा र ट्राफिक व्यवस्थापनको अध्ययन हुने «

उपत्यकाको सडक सुरक्षा र ट्राफिक व्यवस्थापनको अध्ययन हुने

उपत्यकाको सडक सुधार र ट्राफिक व्यवस्थापनका लागि अध्ययन हुने भएको छ । जाइका नेपालको प्राविधिक सहयोगमा सडक विभागसँगको समन्वयमा उपत्यकामा बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्ने गरि अध्ययन गर्ने भएको हो ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव शर्मा र जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि युमिको आसाकुमाबीच ‘काठमाडौं उपत्यकामा सहरी यातायात व्यवस्थापनको परिचय दिने परियोजना’ अघि बढाउन सम्झौतामा हस्ताक्षर भएको छ ।
परियोजना काठमाडौं उपत्यकामा ट्राफिक जाम न्यूनीकरण र सडक सुरक्षा प्रवद्र्धनमा केन्द्रित हुने विभागले जनाएको छ । काठमाडौं उपत्यकामा बिहान र साँझको भीडमा ट्राफिक जाम बढेपछि यसलाई न्यूनीकरण गरी भविष्यमा ट्राफिक दुर्घटना घटाउने उद्देश्यसहित परियोजना अघि बढाउन लागिएको हो ।
परियोजना फेब्रुअरी २०२२ मा सुरु भई अगस्ट २०२५ सम्म लागू हुनेछ ।
परियोजनाले मुख्यतया सडक यातायातको क्षेत्रमा सहरी यातायात व्यवस्थापन योजना विकास गरी ट्राफिक समस्या समाधान गर्नमा अध्ययन केन्द्रित हुनेछ । परियोजनाले ट्राफिक सिग्नल सञ्चालनमा सुधार र व्यवस्थापन र ट्राफिक सुरक्षा अभियानको कार्यान्वयनलाई लक्षित गर्ने तथा विभिन्न नमुना परियोजनामार्फत अन्तर क्षेत्र (इन्टरसेक्सन) सुधारका लागि क्षमता अभिवृद्धि गर्ने योजना छ ।
ट्राफिक जामलाई कम गर्न र सडक सुरक्षा प्रवद्र्धन गर्न आवश्यक अनुरुप अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले बताए । उनले भने, “त्यसैले ट्राफिक जाम घटाउन र सडक सुरक्षा प्रवद्र्धन गर्न आवश्यक देखिएकाले गर्दा जाइकाको सहयोगमा नै अध्ययन हुन लागेको हो ।” उपत्यकाको सडक सुरक्षा र सवारी चापलाई गतिशील रूपमा व्यवस्थापनका लागि मूलतः अध्ययन हुने जनाइएको छ । जाइकाले मन्त्रालय र ट्राफिक प्रहरी समन्वयमा प्राविधिक अध्ययन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्