विकास बजेट २५ % मात्र खर्च «

विकास बजेट २५ % मात्र खर्च

आर्थिक वर्ष सुरु हुनुभन्दा ४५ दिनअघि नै बजेट आए पनि बैतडीमा विकास खर्चको अवस्था निकै कम देखिएको छ । आव ०७४-७५ को बजेट आएको आठ महिना पुग्नै लाग्दासमेत विकास बजेट खर्चको अवस्था न्यून देखिएको हो ।
बजेट निकासा भएको ८ महिना र आव सुरु भएको ६ महिना पूरा हुँदा बैतडीमा २५.३७ प्रतिशतमात्रै विकास बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका अनुसार आवको ६ महिना तथा सरकारले बजेट ल्याएको साढे सात महिना पुग्दासमेत पुँजीगत अर्थात् विकास बजेट खर्च ३१ करोड ९८ लाख ६ हजार ७११ रुपैयाँ निकासा भएको छ ।
सरकारले चालू आवमा बैतडीको विकासका लागि पुँजीगत बजेट १ अर्ब २६ करोड ५ लाख ५३ हजार ३ सय रुपैयाँ विनियोजन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका सूचना अधिकारी भाष्करदत्त पन्तले बताए । चालू आवको मंसिरसम्म निर्वाचनका कारण विकासका गतिविधिले गति लिन नपाएको विकासे कार्यालयहरूको दाबी छ ।
निर्वाचनका कारण विकास बजेट खर्च नहुनुनै मुख्य कारण भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका निमित्त कोष तथा लेखा नियन्त्रक नरेशराज भट्टले बताए । “विकासे कार्यालयहरूसँग बुझ्दा मुख्य कारण चुनाव र नयाँ संरचनाको अलमलले गर्दा काम हुन पाएन,” उनले थपे, “स्थानीय तहमा कर्मचारी अभावले पनि बजेट कार्यान्वयन हुन पाएन ।” आवको ६ महिना बितिसक्दा समेत  कतिपय विकासे अड्डाहरूले योजनाको ठेक्का आह्वानसमेत गर्न सकेका छैनन् ।
सहरी विकास तथा भवन डिभिजन कार्यालयले पुँजीगततर्फ हालसम्म कुल ४५ करोड विनियोजित भएकोमा १३ करोडमात्रै खर्च गरेको छ । यस्तै सुदूरपश्चिम डिभिजन सडक कार्यालय बैतडीले चालू खर्चतर्फ कुल ३५ करोड ३६ लाख बजेट पाएकोमा १४ करोड खर्च गरेको छ । अधिकांश विकासे कार्यालयहरूले जनशक्ति अभाकै कारण कम काम भएको बताएका छन् ।
स्थानीय तहलाई झन सकस
सरकारले चालू आवमा स्थानीय तहलाई प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि परिचालन क्षमता कमजोर भएका कारण खर्च हुन नसकेको देखिएको छ । अधिकांश स्थानीय तहमा विकास बजेट खर्च १ प्रतिशतभन्दा बढी हुन सकेको छैन । बैतडीका सबैभन्दा पुरानो नगरपालिका दशरथचन्द नगरपालिकाले आवको ६ महिनासम्म १ प्रतिशतमात्रै बजेट खर्च गरेको नगरपालिकाका इन्जिनियर जयसिंह बोहराले बताए । “नयाँ संरचना आएलगत्तै नगरसभा हतारमा गर्नुप¥यो,” उनले भने, “बजेट कार्यान्वयनका लागि जनशक्ति अभाव रह्यो ।” यस्तै भर्खरै बनेका नयाँ नगरपालिका र गाउँपालिकामा कर्मचारी अभावका कारण विकास बजेट निकै कम खर्च भएको छ । “प्राविधिक कर्मचारीको नाममा ओभरसियर पनि छैनन् कसरी विकास बजेट खर्च गर्ने ?” पुर्चौडी नगरपालिकाका उपमेयर जानकी ऐरबमले भनिन् ।
कसरी विकास बजेट खर्च गर्ने भन्नेबारे जनप्रतिनिधि अलमलमा रहेको देखिन्छ । अहिलेसम्म योजनाहरू कार्यान्वनका लागि सम्झौता गर्ने काम चलिरहेको स्थानीय तहहरूले बताएका छन् । दोगडाकेदार गाउँपालिकाले भने अन्य स्थानीय तहको तुलनामा विकास खर्च बढी गरेको छ । गाउँपालिकाले हालसम्म झण्डै ३० प्रतिशत पुँजीगत खर्च गरेको बताए । चुनावी व्यस्तता र कर्मचारी अभावका बाबजुद पनि विकास बजेट खर्च सन्तोषजनक रहेको दागडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताए ।
यस्तै चालू आवको ६ महिनामा बैतडीमा भने ५६ प्रतिशत नाघेको छ । चालूतर्फ विनियोजित कुल ४ अर्ब ६१ करोड ९० लाख ५३ हजार रुपैयाँ बजेटमध्ये बैतडीमा हालसम्म २ अर्ब ६२ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ । चालू खर्च जिल्ला निर्वाचन कर्यालय, जिल्ला प्रहरी, जिल्ला प्रशासन, शिक्षा कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयले बढी गरेका छन् ।

स्थानीय तहमा कर्मचारी अभाव
जिल्लामा ३ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा कर्मचारी अभाव भएको छ । स्थानीय तह बनेपछि पहिलेका गाविस र जिविसमा रहेका कर्मचारीको सरुवा भएकाले स्थानीय तहमा कर्मचारी अभाव भएको हो । जिल्लाका ३ नगरपालिका, ६ गाउँपालिका र ८२ वटा वडा कार्यालयमा कर्मचारीको अभाव रहेको हो । वडा कार्यालयमा सचिव नहुँदा सेवा प्रवाहमा समेत समस्या भएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।
जिल्लाको ९ वटा स्थानीय तहमध्ये ३ वटामा मात्र प्रमुख प्रशासकीय अधिकृत छन् भने बाँकी ६ वटा स्थानीय निमित्तकै भरमा छन् । जिल्लाको खाँडाचक्र, रास्कोट नगरपालिका र कालिका गाउँपालिकामा मात्र प्रशासकीय अधिकृत छन् । तिलागुफा नगरपालिकासहित, नरहरिनाथ, शान्नित्रिवेणी, पलाता र पचालझरना गाउँपालिका निमित्तका भरमा काम भइरहेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए । “जिल्लाका सबै स्थानीय तहमा कार्यकारी अधिकृत अभाव छ ।” उनले भने, “कार्यकारी अधिकृत नहँुदा सेवा प्रवाहमा समस्या भएको छ ।” जिल्लामा रहेका ८२ वटामध्ये जिल्लाभर २ वटा वडामा वडासचिव रहेको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए । “जिल्लामै २ जनामात्र वडासचिव छन् ।” उनले भने, “पचालझरना र पलाता गाउँपालिकाका वडासचिव स्थानीय भएकाले दुई जनामात्र वडासचिव छन् ।”

प्रतिक्रिया दिनुहोस्