बागमती प्रदेशमा बहुमत सांसदसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी «

बागमती प्रदेशमा बहुमत सांसदसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी


बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि समाजवादीका संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै ५९ जना सांसदले प्रदेश प्रमुखसमक्ष बुधबार दावी पेश गरेका हुन् ।
मुख्यमन्त्री शाक्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले बिहीबार ३ बजेसम्म सरकार गठनको लागि आह्वान गरेका थिए । प्रदेश प्रमुखको आह्वानसँगै नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीका सांसदहरुको समर्थनमा नेकपा एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्री बनाउन ५९ जना सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षरसहित दावी गरेका हुन् ।
बागमती प्रदेशमा कुल १०९ जना सांसद रहेकोमा सरकार बनाउन ५५ जना नै प्रयाप्त रहन्छ । ५९ जना सांसदहरुको हस्ताक्षरहित सरकार गठनको दावी भएसँगै प्रदेश प्रमुखले पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्ने पक्का भएको हो ।
नेकपा एसका संसदीय दलका नेता पाण्डे आफ्नो दल नेकपा समाजवादीसँगै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँसहित जनता समाजवादी पार्टी सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न प्रदेश प्रमुख समक्ष गएका थिए ।
प्रदेशसभामा माओवादी केन्द्रका २३ सांसद, कांग्रेसका २२ सांसद, नेकपा एकीकृत समाजवादीका १३ सांसद र जसपाका १ सांसद गरी गठबन्धनका ५९ जना सांसद छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४३ जना सांसद छन् । विवेकशील साझाका तीन, नेमकिपा र राप्रपाका २÷२ सदस्य रहेका छन् । आज बिहीबार ३ बजेसम्मको समय सकिएपछि बहुमतसहित दावी गरेका पाण्डेलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरी सपथ ग्रहण गराउने प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।
बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूले पेस गरेको विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै राजीनामा घोषणा गरेकी थिइन् । उनले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरिन् । प्रदेशसभामा बुधबार विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुने कार्यतालिका थियो । त्यसअघि नै उनले राजीनामा दिएकी हुन् । मुख्यमन्त्रीको राजीनामासँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्