निर्जीवन बिमाको प्रिमियम वृद्धिप्रति महासंघको आपत्ति

नेपाल उद्योग वाणिज्य महासंघले निर्जीवन बिमाको प्रिमियम वृद्धिप्रति आपत्ति जनाएको छ । बिमा समितिले गत असोज ६ गते सबै निर्जीवन बिमा कम्पनीहरूका लागि जारी गरेको गैरशुुल्क बिमा व्यवसायका लागि न्यूनतम प्रिमियमदर वृद्धि गरी न्यूनतम सीमा तोकेको थियो । उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।
खुला बजार अर्थ व्यवस्थामा नियामक निकायद्वारा प्रिमियम वृृद्धि सोही दरलाई नै न्यूनतम सीमा तोकिँदा एकाएक आयोजनाको लागत बढ्न जाने महासंघले जनाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघलगायत आयोजना निर्माणमा संलग्न संघ–संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बिमा समितिले जारी गरेको निर्देशनमा बिमाको प्रिमियम शुल्क भुक्तानी गरे पनि बिमितले बिमकबाट दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न सर्तहरू राखिएका छन् । यस विषयमा सबै सरोकारवालासँग अविलम्ब छलफल गर्न पनि महासंघले माग गरेको छ ।
यसैगरी, बजारमा प्रतिस्पर्धा निरुत्साहित हुने गरी नियामक निकाय समितिद्वारा निर्जीवन बिमा कम्पनीहरूलाई गैरशुुल्क बिमा व्यवसायका लागि न्यूनतम प्रिमियमदर पुनरवलोकन गर्न पनि महासंघले माग गरेको छ । खुला बजार अर्थ व्यवस्थामा प्रतिस्पर्धाद्वारा मूल्य निर्धारण हुने भएकाले न्यूनतम शुल्क तोक्न नहुने महासंघले जनाएको छ ।