करोडौं लगानीको निर्माणाधीन ‘दमक भ्यू टावर’बाट देखिन्छ सुकुम्बासीको गरिबी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा (२०७२ सालमा) दमकको विकासका लागि विभिन्न विकासे योजनाको घोषणा गरे । सोहीअनुरूप दमक नगरपालिका–३ मा देशकै सबैभन्दा अग्लो दृश्यावलोकन स्तम्भ (भ्यू टावर) लाई प्राथमिकतामा राखे ।
सरकारले राष्ट्रि«य गौरवको आयोजनाको सूचीमा राखेर ‘दमक भ्यू टावर’ निर्माण सुरु ग¥यो ।
सघन सहरी तथा भवन निर्माण आयोजना, भद्रपुरका अनुसार २०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार २०७८ पुस २७ मा उक्त टावर निर्माणको समयावधि सकिँदै छ ।
२०७८ कात्तिक पहिलो सातासम्म ४७ प्रतिशत काम मात्र सम्पन्न भएको निर्माण कम्पनीका आयोजना प्रबन्धक सर्जल बिडारीले बताए ।
१ सय मिटर अग्लो र १८ तले भ्यू टावर चिनियाँ कम्पनी जेडसीजीआईईसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा निर्माणको ठेक्का पाएका हुन् । कोरोनाका कारण निर्माण प्रक्रिया ढिला भएको बिडारीको भनाइ छ । म्याद थपेर काम गरिने उनी बताउँछन् ।
अहिले भ्यू टावरको सातौँ तला निर्माण भइरहेको छ । तर, करोडौँ खर्च गरेर निर्माण सुरु भएको भ्यू टावरको निर्माणले स्थानीयवासीको पीडा थपिएको छ । भ्यू टावरबाट निस्कने पश्चिमतर्फको गेटअगाडि ५० परिवार सुकुम्बासी बस्ती छ । अहिले निर्माणको चरणमा रहेको सातौँ तलाबाट सुकुम्बासीको गरिबी प्रस्टै देखिन्छ ।
चार दशकदेखि सोही स्थानमा बसोबास गर्दै आएका उनीहरूले अहिलेसम्म आफूले भोगचलन गरेको जग्गाको धनीपुर्जा पाएका छैनन् । जतिजति भ्यू टावर बन्दै जान्छ उति नै पीडा थपिने उनीहरू सुनाउँछन् ।
“भ्यू टावर बनिसकेपछि हाम्रो बस्ती हटाउने हल्ला सुनिँदै छ,” पोष्टबहादुर दर्जी भन्छन्, “यति ठूलो भ्यू टावर बन्दा न हामीले रोजगारी पायौँ, न खुसी नै छौँ ।”
गरिबीका कारण स्वास्थ्य, शिक्षा, शुद्ध पिउने पानीबाट समेत आफूहरू वञ्चित हुँदै आएको उनको भनाइ छ । बस्तीलाई व्यवस्थित बनाएर धनीपुर्जा उपलब्ध गराउनुपर्ने उनको माग छ । सरकारी पक्षबाट व्यवस्थापनका लागि अहिलेसम्म कुनै चासो नदेखाएको दर्जीले सुनाए ।
सहरी विकास कार्यालयमार्फत चलेको सुरक्षित नागरिक आवास कार्यक्रमबाट त्यहाँ सुकुम्बासीले घर छाउन ५० हजार रुपैयाँ अनुदान भने पाएका छन् । सरकारले घर छाउन ५० हजार दिएको स्थानीय देवी बर्देवा बताउँछिन् ।
“५० हजारले घर बनाउन कहाँ पुग्छ र ?” उनी भन्छिन्, “ऋण काढेर घर बनाइरहेका छौँ । तर, बस्ती नै नरहने हो कि भन्ने पीर छ ।”
२०२४ सालदेखि टुकुरे बस्तीमा बस्दै आएकी तारा धिमाल १६ कट्ठा जग्गाको फिल्डबुक भए पनि जग्गाधनी प्रमाणपुर्जा नभएको बताउँछिन् । “आँगननजिकै भ्यू टावर ठडिएको छ । हामीले आफैँ फँडानी गरेर बसेको जग्गाको धनीपुर्जा अहिलेसम्म छैन,” उनले भनिन्, “हाम्रो बस्तीलाई हटाउनेभन्दा पनि यहीँ व्यवस्थित बनाउनुप¥यो ।”
सुकुम्बासी बस्तीकै चिनजान पाँचकोटीको घर निर्माणाधीन भ्यू टावरको पर्खालसँगै जोडिएको छ । उनी निर्माण क्षेत्रमा मजदुरी गर्छन् । बिहान ८ बजे मजदुरीमा जाने र बेलुका ६ बजे फर्कने उनको दैनिकी नै हो । त्यही मजदुरीबाट दैनिक कमाइ हुने १ हजार रुपैयाँले उनले परिवार धान्दै आएका छन् ।
तर, आँगनसँगै जोडिएको भ्यू टावर निर्माण क्षेत्रमा आफूले रोजगारीका लागि गुहारे पनि नपाएको उनी सुनाउँछन् । पाँचकोटीका दुई छोरा छन् । ढुकुरपानी माविमा कक्षा ६ मा अध्ययनरत उनका जेठा छोरा निशान पाँचकोटीले पढाइ छोड्न बाध्य भए । गरिबीकै कारण छोरालाई पढाउन नसकेको उनले सुनाए ।
भ्यू टावर निर्माणसँगै देशकै आर्थिक समृद्धिको थलो दमक बन्ने बहस भइरहेका बेला स्थानीयवासी भने आफ्नो थाकथलो छोडेर हिँड्नुपर्ने हो कि भन्ने चिन्तामा छन् । दमक नगरपालिकाका–३ का वडाध्यक्ष नवीन बरालले भ्यू टावर बने सुकुम्बासी विस्थापित हुनु नपर्ने बताए । “भविष्यमा बस्तीलाई व्यवस्थित गर्न भने पहल गर्नेछौँ,” बराल भन्छन् ।