अर्थतन्त्रका सूचकले दिएको नकारात्मक संकेत «

अर्थतन्त्रका सूचकले दिएको नकारात्मक संकेत

कोरोना कहरका बीच बिस्तारै मक्किँदै गइरहेको अर्थतन्त्रका प्रारम्भिक लक्षणहरू पहिल्याउन ढिला भएको छ । कोरोना महामारीले विश्व नै आक्रान्त हुँदा वैदेशिक रोजगारीमा आएको कमी तथा आयात नियन्त्रित भएको स्थितिबाट अर्थतन्त्रमा केही असर गरेको छैन भन्ने भ्रममा रहेकाहरू पनि अब बिस्तारै जाग्लान् । तर, अर्थतन्त्रमा कोरोना महामारीले नराम्रोसँग असर गरेको थियो, जुन बिस्तारै प्रकट हँुदै छ ।
चालू आर्थिक वर्षको पहिलो महिनादेखि नै अर्थतन्त्रका प्रमुख सूचकहरू सकारात्मक छैनन् ।
सरकारले जति छिटो यी संकेतहरू बुझेर अर्थतन्त्रलाई ध्यान दिन सक्छ, त्यति नै सरकार तथा नागरिक दुवैको भलो हुने देखिन्छ । किनकि चालू आर्थिक वर्षको दुई महिनामै विदेशी मुद्रा सञ्चिति ९३ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले विदेशी मुद्रा सञ्चिति ६.६ प्रतिशतले घटेर २०७८ भदौ मसान्तमा १३ खर्ब ६ अर्ब ९५ करोड कायम भएको उल्लेख गरेको छ । विगतमा करिब दुई वर्षमा कोरोनाका कारण आयात नियन्त्रित हुँदा बढेको बचत आयात खुकुलो भएपछि घट्न थालेको छ ।
वैदेशिक मुद्राको एकमात्र प्रमुख स्रोत रेमिट्यान्स घट्नु तथा आयात बढ्न थालेपछि एकैपटक वैदेशिक मुद्रा सञ्चितिमा नकारात्मक असर पर्नु स्वाभाविक हो । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको पहिलो महिनाको आर्थिक सूचकहरू हेरिसकेपछि आयातमा नियन्त्रण गर्न खोजेको थियो । तर, आयात नियन्त्रण गरेर मात्र वैदेशिक मुद्रा सञ्चिति बढ्ने होइन ।
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.२ प्रतिशतले कमी आई २०७८ साउन मसान्तमा १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ को दुई महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिबाट ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । हुन त आठ महिनाको आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति भनेको ठीकै हो ।
तर, चालू आवको दोस्रो महिनामा पनि रेमिट्यान्स आय नकारात्मक नै छ । २०७८ भदौसम्ममा १ खर्ब ५५ अर्ब ३७ करोड रेमिट्यान्स भित्रिएको छ । तर, अघिल्लो आवको सोही अवधिमा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो । जसरी रेमिट्यान्स आय घट्दै छ र विदेशी मुद्राको अर्को स्रोत विदेशी पर्यटक तत्काल ठूलो संख्यामा नेपाल आउने वातावरण बनिसकेको छैन, त्यसबाट विदेशी विनिमय सञ्चितिमा झन् बढी चाप पर्ने निश्चित छ ।
विदेशी विनिमय सञ्चितिमा दबाब बढेसँगै गत महिनाबाटै राष्ट्र बैंकले विदेश जाँदा गर्ने डलर सटहीमा पनि कडाइ गरेको छ । किनकि देशमा भित्रिनेभन्दा बाहिरिने रकम उच्च भएपछि देशको शोधनान्तर घाटा पनि वृद्धि भएको छ । चालू आवको भदौसम्ममा शोधनान्तर ८३ अर्ब ४१ करोडले घाटामा रहेको छ । अर्थतन्त्रका सूचक नकारात्मक हुँदै गर्दा यता बैंक तथा वित्तीय संस्थाहरूले पनि तरलताको अभाव झेलिरहेका छन् ।
चालू आवको तेस्रो महिनामा पनि अर्थतन्त्रका सूचक सकारात्मक हुने छाँट छैन । किनकि चालू आवको तीन महिनाको मुलुकले ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ भने ६५ अर्ब ५२ करोड ८३ लाख रुपैयाँको मात्र निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । हुन त आयातसँगै निर्यात पनि बढेको छ ।
तर, विदेशी मुद्रा सञ्चितिमा असर पर्ने गरी आयात बढ्दा त्यसलाई भरथेग गर्ने गरी निर्यात भएको छैन । नेपालमा सबैभन्दा बढी आयात अझै पनि पेट्रोलियम पदार्थ नै रहेको छ ।
सरकारले पेट्रोलियम पदार्थको आयात घटाउन विभिन्न नीति लिए तापनि त्यसमा सफल हुन सकेको छैन । किनकि गत तीन महिनाको अवधिमा २३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँबराबरको डिजेल, १२ अर्ब ८६ करोड ५६ लाखबराबरको पेट्रोल र १२ अर्ब १८ करोड १० लाखबराबरको एलपीजी ग्यास आयात भएको छ । यसरी चालू आवको पहिलो त्रैमासमा करिब साढे ५ खर्ब मूल्य बराबरको वैदेशिक व्यापार हुँदा ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख व्यापार घाटा रहेको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्