पर्यटन क्षेत्रको पुरुत्थान गर्ने मन्त्री आलेको प्रतिवद्धता

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको बताएका छन् ।
कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको उनले बताए । नेपाल पर्यटन बोर्डले मंगलबार आफ्नै स्वागतमा आयोजित कार्यक्रममा उनले कोभिडले गर्दा नेपालको पर्यटन उद्योग बढी समस्यामा रहेकाले गर्दा पर्यटनसँग सरोकाराख्ने सबै पक्षले आफ्नो क्षेत्रबाट पर्यटन पुर्नरुत्थान गर्न लाग्नुपर्ने बताए । मन्त्री आलेले निजी क्षेत्रको कम्पनीसँग सेटिङ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको पनि बताएका छन् ।
मन्त्री आलेले थन्किएर बसेका नेपाल वायु सेवा निगमका दुई वटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर नेपालमा पर्यटक भित्र्याउने काममा आफू लागि पर्ने कार्ययोजना पनि सार्वजनिक गर्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आईकाओ)को कालो सूचीबाट नेपाललाई हटाउन पहल गर्ने बताए ।
निगमकै कर्मचारी संघ, संगठनहरुको माग अनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको गरेको प्रष्ट पार्दै उनले अब निगमको बैठक बस्ने र त्यसले निगमको थन्किएर बसेको विमान सञ्चालन गर्ने, पर्यटन प्रवद्र्धन हुने गरी उडान भर्नेलगायतका काम गर्ने मन्त्री आलेको भनाइ थियो । “म आएको २४ घण्टा नबित्दै नेपाल एयरलाइन्सको १ सय ४ दिनदेखि लगाइएको तालाबन्दी खुलाएँ । त्यहाँका संघ, संगठन र युनियनका कर्मचारीहरुसँग वार्ता गरेर त्यो समस्या समाधान गरियो ।” उनले भने, “अब छिट्टै निगमको बैठक बसेर थन्किएर बसेका २ वटा जहाज पनि सञ्चालनमा ल्याउनेछौं । नेपालमा पर्यटक भित्र्याउनका लागि आवश्यक कामहरु गरेर अघि बढनेछौं ।”
कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले व्यवसायीहरुका काम सहजीकरण र माग सम्बोधन गर्न मन्त्रालय सधै तयार रहको बताए । नेपालमा पर्यटनको अथाह सम्भावना रहेपनि त्यसको उपयोग गर्न नसकेको उल्लेख गर्दै मन्त्री आलेले मन्त्रालयले नीतिगत सुधारको काम गर्ने र लगानी भित्र्याउन निजी क्षेत्र अग्रसर हुन आग्रह गरे ।
यस्तै बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको विकासका लागि केही नीतिगत सुधार र पूर्वाधार विकास आवश्यक रहेको बताउँदै त्यसका लागि पहल गर्न मन्त्री आलेलाई आग्रह गरे ।
“नेपाललाई सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्य बनाउन सकिने पर्याप्त आधार छ” उनले भने, “यसका लागि अन्तर मन्त्रालय समन्वय र पर्यटन मैत्री कानून आवश्यक छ ।”