प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने : थापा र भट्टराई «

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने : थापा र भट्टराई

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने बताए ।
नेपाल बार एसोसिएसन सल्लाहकार समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश जबराले गरेका कामहरु न्यायसम्मत् नभएको र पदमा बसिरहे न्याय सम्पादन अझ क्षत्विक्षत् हुने भन्दै तुरुन्त राजिनामा दिनुपर्ने बताए । कानुन व्यवसायीहरु एक मतले प्रधानन्यायाधीश जबराको राजिनामाको पक्षमा रहेको पनि उनले उल्लेख गरे ।
जबरा प्रधानन्यायाधीश रहुञ्जेल कानुन व्यवसायीहरुले बहस नगर्ने भन्दै उहाँले अदालत र न्यायप्रशासन नचलेमा त्यसको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्ने बताए । उनले भने, ‘प्रधानन्यायाधीशले न्याय प्रशासनमा सम्पादन गरेका कुराहरु न्यायसम्मत् भएनन्, न्याय प्रशासन उपयुक्त भएनन् भनेर उहाँको कार्य क्षमताको विषयमा हामीले छलफल गरेर निष्कर्ष निकालेर संविधानमा स्वत्ः आफैँ हट्ने व्यवस्था राजीनामा दिएर जानेछ । अहिलेको प्रधानन्यायाधीश फेरि बसिरहँदाखेरीको अवस्थामा न्याय सम्पादनमा गम्भीर क्षत्विक्षत् हुने र गम्भीर दिशाबाट न्याय विचलित हुने अवस्थामा सबै कानुन व्यवसायीहरु पुग्नुभएको छ । यसमा कुनै राजनीतिक दलले उठाएको कुरा पनि होइन् । उहाँ प्रधानन्यायाधीश रहुञ्जेलसम्म बहस गर्दैनौं । यो कुरा बुझे हुन्छ । अदालत, न्याय प्रशासन चल्दैन । गतिरोधको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्दछ भन्ने हामीहरुको भएको छ । राजनीतिक लेनदेन प्रधानन्यायाधीशले गरेका हुन् भन्नेमा हामीहरु पुगेका छौँ । साँठगाँठ भएको तमाम कानुन व्यवसायीलाई लागेको छ ।’
अधिवक्ता टिकाराम भट्टराईले बारको सल्लाहकार समितिको बैठकमा बोल्ने ३७ जनामध्ये ३६ जनाले वर्तमान प्रधानन्यायाधीशले संवैधानिक दायित्व पूरा गर्न नसकेको र उनको कार्यकालमा न्यायिक विचलन आएको धारण राखेको जानकारी दिनुभयो । प्रधानन्यायाधीशले आफ्नै सहकर्मीहरुको समेत विश्वास जित्न नसकेको भन्दै उहाँले न्यायपालिकाको गरिमा र प्रतिष्ठा कायम गर्नका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्नेमा सबैको मत रहेको बताए । उनले भने, ‘न्यायपालिकाको गरिमा र प्रतिष्ठा पनि उनले गिराउनु भो । त्यसैले उहाँको निरन्तरताले न्यायपालिकाको गरिमा र प्रतिष्ठा झन खस्किने हुनाले उहाँले अविलम्ब राजिनामा गर्नुपर्छ भन्ने सुझाव रह्यो ।’
प्रधानन्यायाधीश जबराले अबिलम्ब राजिनामा नदिएमा देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी पनि अधिवक्ता भट्टराईले दिए ।

प्रतिक्रिया दिनुहोस्