भोट–हुम्ला व्यापारका विचारणीय पक्ष

भोट–हुम्ला व्यापारका विचारणीय पक्षभोट–हुम्ला व्यापारका विचारणीय पक्षनामग्याल लामा तामाङआधुनिक मानव सभ्यताको विकास कि नदीकिनारबाट भएको छ, कि त हिमालको काखबाट । अझ विश्व व्यापारको अभिलिखित इतिहास हेर्ने हो भने पनि सामुद्रिक व्यापार र हिमाली व्यापार आजको अन्तर्देशीय पारवहनका प्रारम्भिक उन्नत रूप हुन् । भोट बर्मेली भाषा, बुद्ध धर्म, दुरुस्त भौगोलिक अवस्थिति तथा वस्तुस्थिति, समान संस्कृति, रहनसहन र लवाइखवाइले हुम्ला र तिब्बतलाई टप्पक्क एकै ठाउँमा राखेको थियो । हाम्रो इतिहास हेर्ने हो भने सयौं वर्ष पहिलेदेखि माथिल्लो धिंगामा व्यापारिक मेला तथा प्रदर्शनी हुने गर्थे र सो मेलाहरूमा तिब्बतीहरूले अनाज तथा अन्य कलाकौशलका वस्तुहरू लिने गर्थे । भोटको इतिहास साक्ष् छ, हाम्रा बराजुहरूले कृषिजन्य अधिकांश पेसाको विकास गरिसक्दा पनि भोटस“ग सुन र नुनबाहेक अरू केही थिएन । तर, समय बदलियो र माथिल्लो धिंगामा हुने व्यापारिक मेलाहरू उँभो सर्दै छोंछ, टाक्चे, च्याक्पालुङ, घेउ खोला हुदै अहिले तिब्बतको पुराङमा हुने गरेका छन् । र, आज तिब्बतमा पैसा, उत्पादन र बजार जे छ त्यसकै प्राप्तिका लागि नेपालले ठूलो कसरत गर्नुुपरेको छ ।
भोटबाट धेरै पहिलेदेखि नुन हुम्ला हुँदै हालको प्रदेश ६ र ७ का जिल्लाहरूमा कारोबार हुने गरेको भए पनि यो ठाउँमा अरू चाइनिज उत्पादन विश्व जनरल स्टोरको नाममा मैले भित्र्याएको थिएँ र अझै पनि यो पसल हुम्लाभरिमा चाइनिज पसलको नामले चर्चित छ । आज कर्णाली करिडोरअन्तर्गत हिल्सालाई सेतुले जोड्ने कुरा छ भने ठाउँ–ठाउँमा सडक निर्माणका कार्यहरू धमाधम हुँदै गर्दा म ५० सालतिरका ती दिनहरू सम्झन्छु जुन दिनहरूमा मैले सिमकोट–मानसरोवरको बाटोमा इतिहासमै पहिलो पटक खच्चरको सवारीबाट विदेशी पर्यटकहरूलाई मानसरोवर घुमाएको थिएँ र घुमाएका पर्यटकहरूलाई आ–आफ्ना आफन्तहरूलाई पनि मानसरोवर जान स्थानीय सवारी पाइन्छ भन्नु है भन्ने सन्देश दिएको थिएँ । अचेल मानसरोवर पुग्न हेलिकप्टरमा जम्मा २५ सय रुपैयाँ तिरे पुग्छ र पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढेका भारतीय तीर्थयात्रीहरू हेलीकै बाटो रोज्छन् पनि । तथापि, हिजो खच्चरबाट जाने गोरा वर्ण र अग्ला कद भएका डलरधारी पर्यटकको संख्यामा भने उल्लेख्य गिरावट आएको छ ।
चीनले तिब्बतलाई स्वशासित क्षेत्र बनाइसकेपश्चात् भने भोटमा भौतिक विकास बहार बनेर आयो । साँझ खाना खाईवरी नेपाली भूमिमा सुतेकाहरू बिहान उठ्दा तिब्बतको पाखामा इन्जिन चलेको देख्थे तर विडम्बना नेपालका पाखाहरूमा इन्जिन त के भेडाबाख्रासमेत चल्न सकेनन् । र, फलतः तिब्बतीयनहरूको हुम्लालाई हेर्ने दृष्टिकोण पृथक् बन्दै गयो । लिमीहरूमा मेरा बचपनका दिनहरू बितेका भएर पनि मलाई लिमी भनेको गरिबी र पछौटेपनको पर्याय होइन, यो त त्रिदेशीय व्यपारको हेडक्वार्टर हो भन्नेमा विश्वस्त थिए । तिब्बतीयनहरूसँग सम्बन्ध विस्तार गरेमा उनीहरूको दृष्टिकोण अवश्य बदलिनेछ भन्ने त्योभन्दा ठूलो विश्वास ममा थियो र यसका लागि मैले निरन्तर प्रयास गरिरहें । हुम्ला उद्योग–वाणिज्य संघको प्रथम उपाध्यक्ष रहँदा मेरो अगुवाइमा २०६५ सालमा हुम्लाका तत्कालीन सभासद् र तिब्बतका अधिकारीहरूबीच लिमीमा एउटा व्यापारिक बैठक सम्पन्न गर्न सफल भए । हो, यदि आज कुनै तिब्बतीयन व्यापारी र अधिकारीहरूले हुम्लाको समृद्धिको पक्षमा बोल्छ भने त्यो त्यही सम्मेलनको उपज हो भनेर म लेखेर दिन सक्छु ।
नेपाली अधिकारीहरू तिब्बत गएर व्यापारिक भेटवार्ताहरू हुने र मानसरोवर घुमेर आउने चलन चलिआएको भए पनि तिब्बतीयन अधिकारीहरू नेपाल आएर दुई देशीय व्यापार सम्बन्धका बारेमा छलफल गर्ने चलन पटक्कै थिएन । जबसम्म उनीहरूका आँखाले नेपालको भूगोल नियाल्दैनन्, तबसम्म उनीहरूले यहाँ लगानी गर्ने कल्पनासम्म पनि गर्न सक्दैनन् भन्ने तथ्यको मनन गरेर हुम्लामा पहिलो पटक दुई देशीय भेटवार्ताको आयोजना गरेर तिब्बतीयनहरूलाई रारासहितका ठाउँहरूको अवलोकन गराएका थियौं । हाम्रा यी प्रयासले हुम्ला र तिब्बतबीच अन्तरव्यापारका धेरै ढोकामा स्वस्तिक चिह्न कुदेका छन् । नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज हुम्ला एकाइको संस्थापक हुदै गर्दा चीनका विभिन्न वाणिज्य संघहरूसँग भएगरेका विभिन्न सम्झौता तथा भेटवार्ताहरूले दुईदेशीय व्यापारलाई सहज बनाउँदै लगेका छन् ।
चाइनिजहरू लोभी, नमिल्ने, असहज हुन्छन् भन्ने उपमाहरूमा कुनै सत्यता देखिँदैन । एउटा टेलिफोन वार्ताका भरमा करोडौं रुपैयाँ लगानी गर्ने विश्वासिला चिनियाँहरू पनि भेटेको छु । कुनै नेपालीले सञ्चालन गर्न नसकेका रेस्टुराँहरू ठमेलमा चिनियाँहरूले सञ्चालन गरेका छन् । खासमा एक चीन नीतिको प्रभावकारी कार्यान्वयनमा बाहेक अन्य कुनै पनि कुरामा चीनको नेपालमाथि निहित स्वार्थ छैन । तातोपानी नाका खोल्नमा जागरूकता नदेखाउनु पनि यसैको उदाहरण हो । चिनियाँ आकलनअनुसार हिल्सा नाका सबैभन्दा सुरक्षित नाका हो, किनभने हिल्सा नाकाको प्रयोगबाट चीनविरोधी गतिविधि बन्द गर्नलाई भूगोलमा लगाइएको सुरक्षा प्रतिबन्ध नै काफी छ । अन्तर्देशीय व्यापारमा चिनियाँ पक्षमा दुइटा समस्या रहेका छन् । चीनको भौगोलिक विकटताले सामानको मूल्य बढाउनु पहिलो समस्या हो भने दोस्रो समस्या हरेक कारोबारमा चिनियाँ व्यापारीहरूले बिल उपलब्ध गराउन नसक्नु हो ।
तर, व्यापार प्रवद्र्धनका लागि भने नेपालले धेरै काम गर्न बाँकी छ । सीमामा भन्सार कार्यालय स्थापना नगर्नु, क्वारेन्टाइनको व्यवस्था नहुनु, चेकपोस्ट नहुनु र ब्युरोक्र्याटिक रेडटेप व्याप्त हुनु हाम्रा समस्या हुन् । अधिकांश चिनियाँले मासु बिनाको भोजन नै गर्दैनन् । त्यहाँ चौंरीको प्रतिकेजी मासुको मूल्य १२ सय रुपैयाँ पर्छ । यदि क्वारेन्टाइनको व्यवस्था गरेर हुम्लाको मासु पठाउन सके त्यसको फाइदा हामीलाई नै हुने होइन र ? प्रतिकेजी आलुको मूल्य १० युआन छ भने स्थानीय बजारमा आलु कुहाउनुभन्दा सडक जोडेर १ सय ७० रुपैयाँमा तिब्बत ओसार्न सके नेपालीहरू नै त समृद्ध बन्ने हुन् । तिब्बतमा जति पनि फलफूल र तरकारी भित्रिन्छ त्यो सबै चार दिनको सडकयात्राबाट भेटिने पाकिस्ताननजिकको सिन्जुयान प्रान्तबाट महँगो मूल्यमा भित्रिने विषादीसहितको उत्पादन हो । तर, हामीले आधा दिनको बाटोबाट सस्तोमा अग्र्यानिक उत्पादनहरू दिन सक्यौं भने त्यसको कम्प्याराटिभ एड्भान्टेज हाम्रै पोल्टामा पर्छ । अरू त परै जाओस्, तिब्बतमा ढुंगासमेत गतिलो पाइँदैन । यदि हामीले बाटो बनाएर भीरबाट ढुंगा झिकेर मात्रै पनि दिने हो भने त्यसको हजारौं पैसा नेपाल भित्रिन्छ ।
नेपाल–चीनका नाकाहरूमध्ये हिल्सा भौगोलिक हिसाबले पनि वरदानप्राप्त नाका हो । पुराङलाई एउटा केन्द्र मान्ने हो भने लिपुलेकबाट भारत भेटिन्छ । सोही चोकको दोस्रो बाटोबाट बझाङ, तेस्रोबाट हुम्ला, चौथो बाटोबाट चीनको सिन्जाङ प्रान्त र पाँचौं बाटोबाट ल्हासा पुगिन्छ । यति मात्रै होइन, यो नाका प्रदेश नं. ६ मा आयात न्यूनीकरण तथा निर्यात प्रवद्र्धनका लागि पनि उत्कृष्ट नाका हो । परिवर्तित सन्दर्भमा हामी दुई ठूला औद्योगिक देशको बीचमा छौं । अब उनीहरूलाई उवाँ, फापर मात्र नभई युनिक उत्पादन उपलब्ध गराउन सक्नुपर्छ । अन्य वस्तु बिकाउने किफायती बाटो भनेको लाखौं पर्यटक भित्र्याउन नैै हो । नेपाल घुम्न आउने हरेक पर्यटकलाई एउटा मायाको चिनो मात्रै बिकाउन सक्ने हो भने पनि हुम्ला मात्र होइन, सारा नेपाल नै समृद्ध पार्न सकिन्छ ।