तीन महिनामा राजस्व चुहावटका १६ मुद्दा दर्ता «

तीन महिनामा राजस्व चुहावटका १६ मुद्दा दर्ता


चालू आर्थिक वर्षको पहिलो त्रैमासमा राजस्व अनुसन्धान विभागले राजस्व चुहावट तथा विदेशी विनिमय गरेर १६ वटा मुद्दा दर्ता गरेको छ । विभागका अनुसार असोज महिनासम्ममा विभागले ७७ करोड ८९ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै राजस्व चुहावटतर्फ ६ वटा मुद्दा दर्ता गरेको हो ।
विदेशी विनिमयतर्फ ६४ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै १० वटा मुद्दा दर्ता गरेको विभागले जनाएको छ । केही मुद्दाहरु दर्ताको क्रममा रहेकाले मंसिर भित्रमा थप १०/१५ वटा मुद्दा दर्ता हुने विभागका एक कर्मचारीले जनाए ।
राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष २०७७/०७८ मा ५४ वटा मुद्दामा ३ सय १७ जना प्रतिवादीविरुद्ध १९ अर्ब ८१ करोड रुपैयाँ बराबरको बिगो कायम गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । साथै विदेशी विनिमयतर्फ विभागले ५४ वटा मुद्दामा १ सय १४ जनालाई प्रतिवाद्धी बनाउँदै ४ अर्ब ९४ करोड रुपैयाँको मागदावी गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा विभागले ९७ वटा मुद्दामा ३ सय २० प्रतिवादीविरुद्ध राजस्व छली गरेको आरोपमा १५ अर्ब १५ करोड रुपैयाँ बराबरको बिगो दावी गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो, जुन त्यस अघिल्लो वर्षको भन्दा केही धेरै हो । विभागले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ९३ वटा मुद्धामा ३ सय १ जनाविरुद्ध ९ अर्ब ८३ करोड रुपैयाँ बराबारको बिगो दावी गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।
आर्थिक वर्ष २०७४/०७५ मा भने वर्ष भरीमा राजस्व चुहावटका मात्र ८ वटा मुद्दा दर्ता भएका थिए । उक्त वर्ष ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको राजस्व चुहावट भएको भन्दै सो वाराबरको बिगो दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्