ब्याजदरको स्थिरताले सेयर बजारमा सकारात्मक प्रभाव «

ब्याजदरको स्थिरताले सेयर बजारमा सकारात्मक प्रभाव


बैंक तथा वित्तीय संस्थाको ब्याजदरको उतारचढावका कारण अस्थिर बनेको सेयर बजारमा ब्याजदरको स्थिरतासँगै सकारात्मक प्रभाव पर्न थालेको छ । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी ब्याजदरलाई एकल अंकमा कायम गराएसँगै सेयर बजार निरन्तर उकालो लाग्न थालेको छ ।
गत साताभरमा ८३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्स, यो साताको तीन दिनमै करिब २ सय अंकले वृद्धि भएको छ । गत साता बिहीबार नेप्से २५५७ अंकमा झरेर बन्द भएको थियो । आइतबारबाट भने बजार लगातार उकालो लागिरहेको छ ।
आइतबार २७ अंकले बढेको नेप्से सोमबार ८८ र मंगलबार ७८ अंकले वृद्धि भएको छ । बजारमा तरलता अभाव भएसँगै बैंकहरुले कात्तिक महिनाका पौने १२ प्रतिशतसम्म ब्याजदर तोकेपछि बजार उच्च अंकले घटेको थियो । राष्ट्र बैंकले २ कात्तिकमा जारी गरेको १० प्रतिशतसम्म मात्र ब्याजदर घटबढ गर्न पाउने निर्देशन पछि भोलिपल्ट बैकहरुले एकल विन्दुमा रहने गरी ब्याजदरको सीमा तोकेका थिए ।
राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकहरुले ३ कात्तिकमा ब्याजदर परिवर्तन राष्ट्र बैंकको चाहाना अनुसार एकल विन्दुमा नै ब्याजदर सीमित गरेका छन् । जसका कारण आइतबारबाट बजारमा सकारात्मक प्रभाव देखिएको हो ।
बजारको वृद्धिसँगै कारोबार रकममा पनि सुधार आएको छ । मंगलबार २२७ कम्पनीका १ करोड १४ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३१ करोड रुपैयाँ बरारबको कारोबार भएको छ ।
मंगलबार नेप्सेसँगै समूहगत परिसूचक पनि उकालो लागेका छन् । यसदिन बैंकिङ ४५.०१, व्यापार ८३.३६, होटल तथा टुरिजम २३२.२, विकास बैंक १८५.८३ र हाइड्रोपावर १२३.५९ अंकले बढेका छन् । यसैगरी फाइनान्स १३६.६६, निर्जीवन बिमा ३१७.५३, उत्पादन १७४.५५, अन्य ४४.८८, लघुवित्त ६८.३१, जीवन बिमा ४९९.९८, म्युचुअल फण्ड ०.२१ र लगानी समूह ३.९१ अंकले बढेका छन् ।
बढेको बजारमा मंगलबार १७९ कम्पनीको मूल्य उकालो लागेको छ भने ६ कम्पनीको मूल्य घटेको छ । यसैगरी २ कम्पनीको मूल्य स्थिर छ । यसदिन साना किसान लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचुलअ फण्ड, रैराङ हाइड्रो, साधना लघुवित्त, नेरुडे लघुवित्त र कालिका लघुवित्तको मूल्य घटेको छ भने बेस्ट फाइनान्स, न्यादी ग्रुप पावर, खानीखोला हाइड्रो, राधि विद्युत, घलेम्दी हाइड्रोलगायत कम्पनीको मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्