करोडपति किसानको बस्ती

हुम्ला : १६ घरधुरीको सानो र चिटिक्क परेको लाँदुगाउँको लामा बस्ती झट्ट हेर्दा नेपालको अन्य गाउँ बस्तीभन्दा केही फरक छैन । राजनीतिक दलका नेताले गरेको समृद्ध नेपालको भाषण वा कृषिले नेपालीको जीवन कसरी परिवर्तन गर्न सक्छ भन्ने किताबी ज्ञानबाट पनि यो बस्ती अछुतो छैन । न त अर्थविद्ले अखबार र रेडियो-टिभीमा दिने अन्तर्वार्ताबाट बेखबर नै छन् लाँदुगाउँको लामा बस्तीका करोडपति किसान ।
अन्य गाउँ बस्ती झैं विहान भालेको डाँकसँगै लामा बस्ती विस्तारै जाग्छ । तर, त्यसपछि भने अन्य बस्तीभन्दा फरक देखिन्छ– लामा बस्ती । कोही ग्रीन हाउसमा सागपात, तरकारी खेतीको काममा लाग्छन् भने कोही स्याउ बगैंचा र होम गार्डेनको मलखाद, सिँचाइ तथा हेरचाहमा लाग्छन् । कोही भने डोको बोकेर सेलर स्टोर (तरकारी र फलफूल भण्डारण गृह)मा भएको स्याउ बोकेर २ घण्टाको दूरीमा रहेको सिमकोटमा बिक्री गर्न हिँड्छन् । यहाँ फुर्सदिला कोही भेटिँदैनन् । कोही चौंरी दुहुनमा लाग्छन् भने कोही जमेको दही भाँडोमा राखी बिक्री गर्न लैजान्छन् । प्रत्येक किसान केही न केही कृषि उपजसहित बाटोभरी भेटिन्छन् । बजारबाट बेलुका घर फर्कंदा घरमा आवश्यक उपभोग्य सामानका साथै खल्तीमा पैसासहित फर्कन्छन् उनीहरू ।
उन्नत प्रविधिको कृषिले उनीहरूको जीवनशैली फेरिएको हो । यो बस्तीले उन्नत प्रविधिबाट कृषि सुरु गरेको अहिले ठ्याक्कै १५ वर्ष भयो । आफू विद्याललयमा अध्ययन गर्दै गर्दा भर्खर सागपातको खेती सुरु गरेको सम्झन्छन् स्थानीय धनबहादुर लामा । त्यतिखेर सागमात्रै बेच्न सिमकोट पुगेको र कापीकलम किनेर पढ्नलेख्नको जोहो गरेको पनि उनलाई हिजोजस्तै लाग्छ । आफ्नो समयमा जस्तो पढ्न पढाउन अहिले समस्या छैन । उनीहरूका बच्चाहरूले राम्रो शिक्षा पाएका छन् ।
त्यसैगरी गाउँका अन्य किसानले पनि दही, मह, घ्यू, स्याउ, ओखर, आलु भर्खर बिक्री गर्न सुरु गरेका थिए । तरकारी बिक्री गर्न सुरुमा संकोच लागेको भए पनि पछि विस्तारै बानी परेको अनुभव कार्साङ्मा लामाको छ । अहिले किन्न र बेच्नको लागि केही समस्या छैन । कृषि उपज बजार लग्यो किन्नको लागि ग्राहकको अभाव नभएको उनको भनाइ छ ।
गाउँका १६ घरधुरीमध्ये सदरमुकाम सिमकोटमा घर नभएको कोही किसान नै छैन । घर बनाएर जग्गासमेत जोहो भएको छ । किसानलाई हेलाको दृष्टिकोणले हेर्ने परिपाटी हटेकोले काम गर्नको लागि सहज भएको अर्का कृषक पामायुटुन लामा बताउँछन् ।
यस्तै, राम्रो आयआर्जनको फलस्वरूप साना–साना वालवालिकाले सिमकोटमा रहेको घरमा बसेर अंग्रेजी माध्यमको विद्यालयमा पढ्ने अवसर पाएका छन् । माध्यमिक शिक्षा उत्तीर्णपछि काठमाडौंमा उच्च शिक्षा अध्ययन गराउन कृषि उपजले नै सहयोग गरेको छ । हरेक किसानका छोराछोरी काठमाडौंमा पढाउन तथा घरखर्चको लागि पनि कृषि उत्पादनले सहज भएको हुम्लाको कृषि क्षेत्रको लागि अगुवा गाउँको रूपमा रहेको लाँदुगाउँ आफैमा एउटा सानो नेपाल हो । हरेक नेपालीले देखेको आफ्नो सपनाको देश, कृषिप्रधान समृद्ध नेपाल ।
कृषिकै कारण सदरमुकाम सिमकोटमा घरजग्गाको मालिक बन्न पाएकोमा धनबहादुर लामा दंग देखिन्छन् । स्नातक तह उत्तीर्ण गरे पनि उनलाई कुनै जागिर खान मन छैन । जािगरमा अरुको मातहतमा नोकरको जस्तो व्यवहार खेप्नुभन्दा मालिक भएर स्वरोजगार गरी मनग्ये आम्दानी गर्नुमा उनी खुसी व्यक्त गर्दछन् ।
कृषि विकास कार्यालयले एक बोट स्याउलाई ४० रुपैयाँमा खरिद गरी जिल्लाका कृषकलाई अनुदानस्वरूप बिक्री गर्ने गरेको छ । यसरी प्राप्त २ सय ५० बोट स्याउबाट यस वर्षमात्र ३ लाख ५० हजार रुपैयाँ आम्दानी भयो । अझै सोलार स्टोरमा भण्डारण गरिएको स्याउ बेच्न बाँकी नै छ । बाँकी रहेको स्याउबाट १ लाखसम्मको आम्दानी हुने उनको आकलन छ । यस वर्षमात्र उनले १ हजार बोट स्याउ रोप्ने लक्ष्य राखेका छन् । ५ सय बोट रोपिसकेको र बाँकी बोटको लागि तयारी भइरहेको उनी बताउँछन् ।
उनलाई श्रीमती जुम्कित लामाले सहयोग गरिरहेकी छिन् । “सबैजना मिलेर काम गर्छौं, आम्दानीमा कुनै कमी छैन,” उनी भन्छिन् । स्याउ, ओखर र आरुको बोटको उत्पादन पनि यस गाउँका अधिकांश कृषकले गर्ने गरेका छन् ।
गाउँमा खोलिएको लाँदु तोर्पा बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत कृषि काममा आवद्ध रहेका छन् । पछिल्ला वर्षहरूमा जिल्लास्तरीय कृषि उपज मेलामा यहाँको उत्पादनले नै उत्कृष्ट पुरस्कार प्राप्त गर्ने गरेको छ । कृषि उपजसम्बन्धी जिल्लाका संघ संस्थाले तालिम दिनुपरेमा यहाँका कृषकलाई अगुवा कृषकको रूपमा तालिम सहजकर्ताको रूपमा आफुलाई लिँदा गौरव महशुस हुने कृषक कार्साङ्मा लामाको भनाइ छ । देशभित्रका ७ वटा जिल्ला र बंगलादेशसम्म अवलोकन भ्रमण गर्न समेत उनले पाएका छन् ।