मृतक श्रमिकका आफन्तलाई तीन महिनामा २१ करोड सहयोग «

मृतक श्रमिकका आफन्तलाई तीन महिनामा २१ करोड सहयोग


वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएर सरकारबाट आर्थिक सहायता लिने श्रमिकको संख्या चालु आर्थिक वर्षको ३ महिना बढेर ३६४ पुगेको छ ।
गत वर्ष यही अवधीमा मृत्यु भई सरकारबाट आर्थिक सहायता लिने श्रमिकका आफन्तको संख्या गत वर्ष भन्दा ३३ जना बढेका छन् । गत वर्ष यही अवधीमा श्रम स्वीकृतिको मापदण्डमा परेर सरकारबाट आर्थिक सहायता लिने श्रमिक ३३१ बाट बढेर ३६४ पुगेको छ ।
अघिल्लो आवको सोही अवधीमा २३ करोड १७ लाख आर्थिक सहायता वितरण गरेकोमा सो रकम बढेर २५ करोड ४८ लाख पुगेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । उनका अनुसार, मृत्यु भई सहायता पाउने दायरा बढेको र अंगभंग हुनेको संख्या बढेसँगै आर्थिक दायित्वसमेत बढेको हो । गत वर्षको साउन, भदौ र असोजमा ५ जना श्रमिक रोजगारीका क्रममा अंगभंग भएकोमा चालु आर्थिक वर्ष ३ महिनामा ४४ पुगेको छ ।
गत वर्ष भन्दा अंगभंग र मृत्यु समेत बढेको बोर्डले जनाएको छ । चालु आर्थिक वर्षको ३ महिनामा मृत्युवापत २० करोड, अंगभगवापत १ करोड ६५ लाख र श्रमिक आफन्त उपचार खर्चवापत १ लाख ५० हजार आर्थिक सहायता वितरण गरिएको छ ।
सरकारले गत वर्षदेखि श्रम स्वीकृति लिएका श्रमिकको स्वदेश वा विदेशमा मृत्यु भएपनि ७ लाख रुपैयाँ आर्थिक सहायता पाउने निर्णय गरेपछि आर्थिक सहायता लिनेको संख्या बढेको हो । बोर्डले गत आवबाट मृत्यु तथा अंगभंग भएका श्रमिकका परिवारले पाउने आर्थिक सहायता रकम स्थानीय तहमार्फत् निवेदन लिने र रकम पीडित कामदार एवं परिवारका नजिकका हकदारको खातामा सिधै पठाउन सकिने व्यवस्था गरेको थियो ।
गत वर्ष कोभिड–१९ को संक्रमणका कारण निषेधाज्ञाको समयमा समेत प्राप्त निवेदनका आधारमा ७३१ मृत्यु भएका कामदारको निजकको हकदारलाई र १०९ जना बिरामी तथा अंगभंग भएका कामदारको बैंक खातामा नियमानुसारको रकम पठाइएको बोर्डले जनाएको छ ।

आर्थिक सहायता लिने बढ्दै
रोजगारीका क्रममा मृत्यु आर्थिक सहायता लिने बढदै गएको बोर्डले सार्वजानिक गरेका वार्षिक प्रतिवेदनमा उल्लेख छ । गत आवको १० महिनासम्ममा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका २७ महिला र १०७२ पुरुषसहित १ हजार ९९ जना नेपाली श्रमिकका नजिकको हकदारलाई वैदेशिक रोजगार बोर्डले ७० करोड २५ लाख ८५ हजार आर्थिक सहायता प्रदान गरेको थियो । बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले गत आवमा ११४ पुरुष तथा ५ महिला गरी ११९ जना बिरामी एवं अंगभंग भएका श्रमिकलाई स्वास्थ्य उपचार खर्च क्षतिपूर्तिवापत ४ करोड ४९ लाख प्रदान गरिएको बताए ।
वैदेशिक रोजगारीको क्रममा कोभिङ– १९ संक्रमणका कारण श्रम गन्तव्यमा नै मृत्यु भएका र सोही देशमा नै अन्त्येष्टिका लागि सहमति प्रदान गर्ने २३४ परिवारका सदस्यहरुमध्ये यस अवधिभित्र जम्मा ७८ परिवारलाई बोर्डको निर्णय अनुसार प्रतिपरिवार थप ५० हजार सान्त्वना राहत सहयोग गरिएको छ । यसरी राहत सहयोगका लागि बोर्ड थप ३९ लाख प्रदान गरेको जनाएको छ । अघिल्लो वष यसरी आर्थिक सहायता लिनेको संख्या ६५६ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्