कास्कीमा ९ करोडको धानबालीमा क्षति «

कास्कीमा ९ करोडको धानबालीमा क्षति


यही कात्तिकको पहिलो साता परेको हावा हुरीसहितको वर्षाले गर्दा कास्कीमा करिब १ सय १० हेक्टर क्षेत्रफलमा लगाएको धानवालीमा क्षति पुगेको छ । मनसुनपछि आएको वर्षाले करिब १ सय १० हेक्टर क्षेत्रमा लगाएको धानबाली पूर्णरुपमा क्षति भएको कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख शालिकराम अधिकारीले बताए ।
कास्कीमा १ हजार १ सय ३३ हेक्टर क्षेत्रमा धानवाली हुने भएपनि ३ सय ४३ हेक्टर क्षेत्रमा वर्षाले क्षति गरेको उनले बताए । कास्कीमा हाल प्रारम्भिक अध्ययन अनुसार करिब ९ करोड मूल्य बराबरको धानवालीको क्षति भएको प्रमुख अधिकारीले बताए । उनका अनुसार छिटो पाक्ने र टारी खेतको धान केही ठाँउमा दसैंलगतै काटेका किसानको लगातार ४÷५ दिन परेको वर्षाले गर्दा धानवालीमा क्षति पुगेको हो । ढिलो पाक्ने धानमा हावा हुरीले ढलाए पनि फल लगाई सकेकाले ढलेको धानमा किसानलाई धान काट्न र व्यवस्थापन गर्न कठिन भएपनि धेरै क्षति भने नभएको उनले जनाए ।
पोखरामा प्रायः जेठोबुढो, पँहेले लगायतका धान उत्पादन हुने गरेको छ भने कास्कीका अन्य ग्रामीण भेगमा मनसुली, लोकनाथ, मनसुली, रामधान, राधा सातलगायतका जातको धान उप्तादन हुने गरेको छ । अन्य वर्षको तुलनामा यस वर्ष लगातार जसो पानी परेकाले धान उत्पादन बढ्ने अपेक्षा गरेपनि धान थन्क्याउने समयमा लगातार पानी परेको कारण कास्कीसहित देश भरी धेरै ठाँउमा धानवलीमा ठूलो क्षति पुगेको छ ।
कास्कीमा गत वर्ष ७९ हजार ४ सय ३७ मेटिकटन धान उत्पादन भएको थियो । कास्कीमा २५ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमाधान खेती गर्दा उक्त मेटिक्टन धान उत्पादन भएको हो ।

प्रतिक्रिया दिनुहोस्