चितवनमा सयपत्री फूल बुकिङ धमाधम «

चितवनमा सयपत्री फूल बुकिङ धमाधम


चितवनका धेरै क्षेत्रमा सयपत्री फूलहरु ढकमक्क फुलेका छन् । तिहार लक्षित गरी फूलखेती गर्ने संख्या बढ्दो छ ।
फ्लोरिकल्चर एसोसियसन चितवनका अध्यक्ष अमर घलेका अनुसार सयपत्रीको करिब २० विघा क्षेत्रफल विस्तार भएको छ । “गत वर्ष २० विघामा खेती थियो, यसवर्ष ४० विघामा खेती भएको अनुमान छ” उनले भने, “१० धुरदेखि ३ विघासम्म फूलखेती गर्ने धेरै छन् ।” एसोसियसनमा ४० जना पुष्पव्यवसायी संगठित भएपनि सयपत्री फूलखेती गर्ने व्यक्ति तथा समूह यसपाली दोब्बर बढेको उनको भनाइ छ । “तिहारमा सयपत्री, मखमलीको माग उच्च हुन्छ, आम्दानी पनि राम्रो छ” उनले भने, “यसपाली चितवनकै ३ लाख माला खपत हुने अपेक्षा छ ।” उनका अनुसार चितवनको बजारमा करिब ७ लाख मालाको कारोबार हुनेछ । जसमध्ये आधामात्रै चितवनमा उत्पादन भएको छ । चितवनमा तिहार लक्षित करिब १० लाख सयपत्रीका बेर्ना रोपिएको थियो । गत वर्ष ५ लाख बेर्ना रोपिएका थिए ।
भरतपुर–७ मा स्थित उज्वल नर्सरीका सञ्चालक सुलभ श्रेष्ठले यस वर्ष तिहारमा करिब २५ हजार माला बिक्री गर्ने लक्ष्य रहेको बताए । “नर्सरीकै ३ विघाबाट करिब १० हजार माला र अन्यबाट संकलित १५ हजार माला बेच्ने योजनामा छौं” उनले भने, “१२ हजार माला बुकिङ भइसकेको छ, १३ गतेसम्म बुकिङ गर्न सकिनेछ ।” उज्वल टोलमा ६ वर्ष पहिले समूह नै गठन गरेर फूल खेतीलाई व्यवसायीकरण गरिएको थियो । एकल खेती गर्ने क्रम बढेपछि नर्सरी आजकल संकलन केन्द्र बनेको छ । यहाँबाट दुई दर्जन समूह तथा व्यक्तिले उत्पादन गरेका फूलहरु खरिद गरेर बजारीकरणको काम हँुदै आएको छ ।
भरतपुर–७ कै माली दाई इनोभेसन प्रालिमार्फत १ विघा २ कठ्ठामा सयपत्री फूलखेती छ । सिभिल इञ्जिनियर सागर कार्की, विएस्सी एजीका विद्यार्थी अजय यादव र बोस्र्टन कलेजमा शिक्षण गर्ने एक्सन लौडारी मिलेर खेतीलाई व्यवसायीकरण गरेका हुन् । ४ वर्ष पहिले सामाजिक संस्था बेटर चितवनमार्फत जोडिएका ७ विद्यार्थी मिलेर फूलखेती थालेपनि जागिर र अध्ययनका लागि चितवन बाहिर पुगेपनि माली दाइले फूलखेती रोकेन । “पढ्दै फूलखेतीमा लागेका थियौं, अहिले पढाई पनि पूरा भयो, तर खेती छाडेनौं” पुष्प व्यवसाय गरेका सागर कार्की भन्छन्, “यसपाली करिब ८ लाख बराबरको माला बेच्ने लक्ष्य लिएका छौं ।”
पहिलो वर्ष अध्ययनका लागि लगाइएको १ सय बेर्नाबाट उत्साहित बनेर उनीहरुले दोस्रो वर्ष भरतपुर–४ लंकुमा ३ कट्टठामा फूलखेती गरे । तेस्रो वर्ष भरतपुर–७ अन्नपूर्ण चोकमा ३ कठ्ठा क्षेत्रफल थपे । फूलको हेरचाह गर्नेलाई सम्मान दिन फर्मको नाम पनि माली दाइ राखे । माली दाइकै अर्का सञ्चालक अजय यावदले तिहारमा यसवर्ष १० हजार माला बिक्री गर्ने योजना सुनाए । “करिब १ लाखको माला बुकिङ भइसक्यो, १७ गतेदेखि बिक्री स्टलनै बनाउने छौं” उनले भने, “सुर्खेतसम्मबाट बुकिङ भएका छन् ।”
भरतपुर–४ लंकुका ३० वर्षिय कृष्ण कुँवरले ५ वर्षदेखि ३ कठ्ठामा सयपत्री खेती गरेका छन् । उनले यो तिहारमा १ लाख बढी मुनाफा गर्ने लक्ष्य लिएका छन् । “थोरै लगानीबाट सजिलै आम्दानी गर्न सकिदो रहेछ”, उनी भन्छन्, “अर्को वर्ष क्षेत्र विस्तार गर्ने सोच छ ।” आइटी पढेकी २२ वर्षिया विनिता गुरुङले यो वर्ष १ कठ्ठामा सयपत्री लगाएकी छन् । डेढ वर्षसम्म सयपत्रीका बेर्ना हुर्काएर बेचेकी उनले परीक्षणका लागि यसपाली खेती गरेकी हुन् । “यसपाली परीक्षण गरेको हुँ, अर्को वर्ष क्षेत्रफल थप्ने छु”, उनले भनिन्, “फूलखेतीमा धेरै युवाहरुको आकर्षण बढेको छ ।”

प्रतिक्रिया दिनुहोस्