फोनबाटै टिकट बुकिङ, सर्वसाधारणलाई सास्ती «

फोनबाटै टिकट बुकिङ, सर्वसाधारणलाई सास्ती

फोटो क्याप्सनः हवाई सेवा सुधारसम्बन्धी छलफल कार्यक्रममा सहभागी । तस्बिरः सागर परियार ।


जुम्लाको हवाई सेवा सुधारका लागि पटक–पटक छलफल बहस र निर्णय भए पनि अझै सुधार हुन सकेको छैन । जुम्लाको हवाई सेवा विगतदेखि हाल सम्म पैसा र पावरवालाको मुठ्ठीमा छ । फोनकै भरमा टिकट बुकिङ हुने हप्तादिनदेखि धाइरहेका सर्वसाधारणले टिकट नपाउने समस्या अझै विद्यमान छ ।
मनपरी भाडा लिने,आफ्नो चिनेका मात्र टिकट दिने तर अघिल्लो पर्खेका गाउँका नागरिकलाई विभिन्न बाहनामा घर फर्काउने, सेडुल अनुसार उडान नभर्ने, सम्झौताअनुसार नियमित उडान नगर्ने जस्ता थुप्रै बेथिति जुम्ला विमानस्थलमा छन् ।
नेता प्रहरी प्रशासनलाई भनेकै बेला टिकट पाईने भएकाले आम नागरिकले हवाई सेवामा भोगिरहेको समस्या प्रतिसरोकावाला गैरजिम्मेवार देखिएका छन् । गएको भदौ १३ गते बसेको बैठकले विमानस्थलमा हुने अनियमितता र अपारदर्शिता रोक्न चारवटा निर्णय गरेको थियो । टिकट वितरण प्रणालीलाई पारदर्शी बनाउन पहिलो आउनेले पहिलो सेवा पाउने गरी लकबुक बनाउने, अनलाइन टिकटका लागि पहल गर्ने, तालिकाअनुसार उडान भर्ने र हरेक जहाजको कार्यालय खोलेर टिकट वितरण सजह गर्ने निर्णय भएका थिए ।
तर निर्णय भएको करिब दुई महिना पुग्न लाग्दासमेत निर्णयको कार्यान्वयन हुन सकेको छैनन् । विमानस्थल बाहिर खोलिएका कार्यालयमा ताला लागेको हुन्छ । नागरिक अगुवा राजबहादुर महत भन्छन्, “फोनका भरमा टिकट वितरण हुन्छ । एजेन्टहरूले आफ्ना चिनेका मान्छे आएपछि अघिल्लो सदन आएकालाई पनि टिकट छैन भनेर फिर्ता गरेका धेरै उदाहरण छन् । विमानस्मानपहुँचवालाको हालीमुहाली बढेको छ । सर्वसाधारण नागरिकले हप्तौं कुर्दा टिकट पाउँदैनन् । फोनबाटै टिकट बुकिङ हुने गलत संस्कारको अन्त्य हुनुपर्छ ।”
दसैं–तिहारमा आउजाउ गर्ने यात्रुले हवाई सेवामा सास्ती पाएपछि हवाई समस्या सामाधान गर्न जुम्ला विमानस्थलमा दुई दिन बैठक बसेको छ । जिल्लास्तरीय सर्वदलीय र सर्वपक्षिय बैठकले हवाई समस्या सामाधान गर्न केन्द्रीय स्तरमा पहल गर्नेसहित अघिल्ला निर्णयलाई कार्यान्वयन गर्ने निष्कर्ष निकालेको छ ।
अध्यक्षतामा बसेको बैठकले सेडुअल फ्लाइट र सम्झौताअनुसार जहाँज नियमितता गर्ने र स्थानीय स्तरमा कार्यालय खोलेर अनिवार्य टिकट व्यवस्थापन गर्ने लगायतका बिषयमा निर्णय भएको नागरिक उड्डयन प्राधिकरणको जुम्लाला विमानस्थलका प्रमुख प्रकाश शर्माले बताए ।
कर्णाली प्रदेशकै सबैभन्दा बेस्थ जुम्ला विमानस्थलको स्तरबृद्धि संगै हवाइ सेवा सुधारका विषयमा सरोकारवालाले देखाएको चासो दिएका छन् । प्रमुख शर्माले थपे,“टिकट वितरणमा अनियमितता हुनुहँुदैन जो पहिला आयो उसैले पहिले सेवा पाउनुपर्छ । भने ज्येष्ठ नागरिक, बिरामी,पर्यटकहरूलाई विशेष प्रथामिकता हुनुपर्छ । केन्द्रस्तरबाटै पहल गरेर हवाई सेवा सुधारमा जोड दिन आबश्यक छ ।”
दसंै–तिहारको समयमा जुम्ला सिंजा हँदै रारा जाने पर्यटकको घुइँचो हुन्छ । तर भनेकै बेला टिकट नपाउँदा पर्यटक अलपत्र पर्ने अवस्था छ । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले भने, “फोनका भरमा आफन्तलाई टिकट दिने एजेण्डहरूको मनपरी रोकिनुपर्छ । पहिलो आउनेले अघि सेवा पाउनुपर्छ । प्रशासनले निर्णय अक्षंश कार्यान्वयन गर्न र हवाई सेवा सहज गर्न जोड दिनुपर्छ ।”
त्यसका साथै जुम्लामा नियमित उडान भर्ने सबै एयरलाईन्सको कार्यालय विमानस्थल बाहिर अनिवार्य खोल्नु पर्ने जिसस उपप्रमुख बुढाको माग छ । सर्वसाधारण तथा वाह्रय पर्यटकलाई टिकटका लागि कहाँ र कहिले भेट्ने भन्ने विषयमा स्पष्ट जानकारी गराउन समेत ध्यानकर्षण गराइएको पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए । जुम्लाको हवाई सेवा सुधारका लागि संचार जगतले नियमित ध्यानकर्षण गराएको भन्दै अध्यक्ष शाहीले हवाई सेवामा पहुँचवालाको हालीमुहाली अन्य गर्न,सर्वसाधारणमुखी हवाई सेवा बनाउन नियमित खबरदारी गर्ने उनको भनाइ छ ।
एयरलान्सहरूसँग गत भदौ १३ गते बैठक बसेर यथाशीघ्र पारदर्शी रुपमा टिकट वितरण, जीएसए कार्यालयमा राख्ने, ई–टिकटका लागि पहल गर्ने, स्वीकृत सेडुअल नियमित गर्ने, जीपीए कार्यालयहरूले स्थापना गर्ने निर्णय भए पनि एयरलाइन्सहरूले कार्यान्वय नगरेको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईंको भनाइ छ ।
आगामी दिनमा टिकट नपाएको, एजेण्ट, एयरलाइन्सको मिलोमत्तोमा सर्वसाधारणले सास्ती पाएको गुनासो नआउने गरी हवाई सेवा सहज बनाउनसमेत प्रजिअ प्रसाईंले निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहोस्