रेफर गरेका बिरामीले समेत हवाई टिकट पाएनन् «

रेफर गरेका बिरामीले समेत हवाई टिकट पाएनन्


गुठिचौर गाउँपालिका ४ निवासी रिमाल पाण्डेका ३ महिनाको छोरा रिवान पाण्डेलाई एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि कर्णाली प्रतिष्ठानमा उचार थालियो । नर्मल स्वासप्रश्वासको दर ५० देखि ६० हुनुपर्नेमा घटेर ३६ मा पुगेपछि अस्पतालले रिवान पाण्डेलाई थप उचारका लागि शनिबार नै रेफर ग¥यो ।
पाण्डे परिवारले हवाई टिकटका लागि शनिबारकै दिनदेखि हारगुहार गरे । पटक पटक फोन गरेर टिकट राखिदिन दिन एयरलाइन्स मान्छेलाई अनुरोध गरे । तर सोमबार अन्तिम फ्लाइट हुँदा समेत पनि टिकट नपाएपछि रेफर गरेको बिरामीलाई छोरालाई पाण्डेले घर फर्काएर ल्याएका छन् ।
उनले भने,“दुई दिन अगाडी देखि टिकटका लागि भनेको थिएँ । छोराको अवस्था जटिल हँुदै गएको छ । शनिबार दिएको रेफर पत्र देखाउँदै सिता, तारा र समिट एयरका मान्छेलाई टिकटका लागि अनुरोध गर्दा पनि बिरामी सिट प्याक भएको भन्दै फिर्ता पठाए । तीन दिन अगाडीदेखि भन्दा पनि सिट प्याक भन्दै फर्काएपछि अचम्म लाग्यो । जति छलफल बहस गरेपनि हवाई सेवा पहुँचमुखी नै भएको महसुश भयो ।”
बिरामीको जटिलतालाई हेरेर सामान्य यात्रुलाई आजको भोलि सार्न सकिने अवस्थामा पनि एयरलाइन्स एजेण्टको मिलोमतोमा सर्वसाधारणलाई दुःख दिने गरेको पाण्डेको गुनासो छ । हवाई सेवाको बिरामी सिट पनि पहुँचवालााले मात्रै पाउने महसुश भएको छ ।
रेफर भएको बिरामीका लागि दुई दिन अगाडी भन्दा पनि टिकट नपाइने जुम्लामा सामान्य नागरिकका लागि हवाई सेवा आकाशको फल आँखाँ तरी मर जस्तै हुने नागरिक अगुवा राज बहादुर महतको भनाइ छ ।
यता प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले हवाई सेवामा रेफर भएका बिरामीलाई पहिलो प्रथामिकता दिनुपर्ने बताइन् । उनले भनिन्, “धेरै दिनदेखि बिरामी होल्डमा थिए । अक्सिजन सिलिण्डर अभावले रोकिएका पातारासीका बिरामीलाई सोमबार पठाइएको थियो । अन्य बिरामीलाई जटिलता हेरेर प्राथमिकता दिइन्छ । सबैले समान रुपमा हवाई सेवा पाउनुपर्छ । पाण्डेको बिरामीलाई मंगलबार जसरी पनि टिकट मिलाउन पहल गर्छु ।”

प्रतिक्रिया दिनुहोस्