स्वदेशी उद्योगको ४० हजार टन चिनी बिकेन «

स्वदेशी उद्योगको ४० हजार टन चिनी बिकेन

स्वदेशी चिनीले आयातित चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा बिक्री नभइ लामो समयदेखि गोदाममै थन्किएकोले आयातित चिनीको भन्सार दर बढाउन व्यवसायीले माग गरेका छन् । आयातलाई नियन्त्रण नगर्ने हो भने किसानलाई उखुको भुक्तानी दिन नसकिने उनीहरुको भनाइ छ ।
४० हजार टन चिनी बिक्री नभइ मौज्दातमा रहेपछि उखु कुषकको रकम भुक्तानी गर्न नसकेको उद्योगीले बताएका छन् । खुल्ला सिमानाको कारण सस्तो मूल्यमा चिनी आयात भई स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा बिक्री नभइ गोदाममा थन्किएको उनीहरूको दाबी छ ।
नेपाल चिनी उत्पादक संघका अनुसार अहिले विभिन्न १४ वटा चिनी उद्योगसँग अहिले ४० हजार टन चिनी मौज्दातमा छ । स्वदेशी चिनीको लागत महँगो हुँदा बिक्री नभई एक वर्षदेखि गोदाममा थन्किँदा किसानको रकम भुक्तानी गर्न नसकेको संघका अध्यक्ष शशीकान्त अग्रवालको भनाइ छ । “उद्योगसँग रहेको ४० हजार टन चिनी बिक्री भएको छैन,” उनले भने, “चिनी बिक्री नहुँदा किसानको रकम भुक्तानी गर्न सकेका छैन ।” किसानको रकम भुक्तानी गर्नका लागि आयातित चिनीको भन्सार शुल्क ६० प्रतिशत पु¥याउनुपर्ने उनको भनाइ छ ।
प्रतिकेजी ५५ रुपैयाँमा तस्करीबाट चिनी आयात भइरहेको अग्रवालले दावी गरे । “स्वदेशी चिनीको लागत मूल्य नै महँगो हुँदा बिक्री हुन सकेको छैन,” उनले भने । प्रतिकेजी ५५ रुपैयाँमा तस्करीबाट चिनी आइरहेको बेला एक केजी उखु उत्पादन गर्नका लागि उद्योगीले कृषकलाई ५४ रुपैयाँ दिनुपरेको दावी गरेका छन् ।
सरकारले भन्सार शुल्क बढाएमात्रै उखु किसानको भुक्तानी दिन सकिने उद्योगीको भनाइ छ । सरकारले खुद्रा उखुको मूल्य प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा तोकेको छ । चिनी विक्री नहुँदा किसानलाई ३१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उद्योगीको भनाइ छ । किसानको रकम भुक्तानी गर्नका लागि सरकारले सहुलियतदरमा ऋण उपलव्ध गराउनुपर्ने उनीहरूको भनाइ छ । सरकारले कृषकलाई उपलव्ध गराउने अनुदानवापतको ८० करोड रकम छिटो वितरण गर्न उद्योगीले आग्रह गरेका छन् ।
किसानसँग उखु खरिद गरेर उद्योगसम्म ल्याउँदा देखि चिनी उत्पादन र करसमेत लागत जोड्दा प्रतिकिलो चिनीको मूल्य ७७ रुपैयाँ ७४ पैसा हुन आउने उद्योगीको भनाइ छ । स्वदेशी उद्योगको हितको लागि सरकारले चिनीको आयातमा परिमाणात्मक बन्देज लगाएको छ । तर, खुला सीमाको कारणले गर्दा तस्करीबाट ठूलो परिमाणमा चिनी आउने गर्छ । भैरहवा नाकाबाट दैनिक आठ देखि १० गाडी चिनी नेपाल भित्रिने गरेको छ । उद्योगीका अनुसार वार्षिक रूपमा ५० हजार क्विन्टल चिनी तस्करीबाट नेपाल भित्रिने गर्छ ।
संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भन्सार शुल्क थप वृद्धि गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले विश्व व्यापार संगठन (डब्लूटीओ) को नियमभित्र रहेर अधिकतम ६० प्रतिशतसम्म चिनीको भन्सार शुल्क वृद्धि गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । उद्योगीका मागअनुसार सरकारले चिनी आयात गर्दा लाग्ने शुल्क १५ प्रतिशतलाई वृद्धि गरी ३० प्रतिशत पु-याइसकेको छ । आयातित चिनीमा भन्सार शुल्क बृद्धिगरेसँगै बजारमा चिनीको मूल्य आकासिने उपाभोक्ता अधिकारकर्मीको भनाइ छ ।
नेपालमा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग छ । स्वदेशी उद्योगीले १ लाख २० हजार टन उत्पादन गर्दै आएका छन् । अपुग हुने चिनी भारतसहित तेस्रो मुलुकबाट आयात हुन्छ । घरायसी प्रयोगसँगै पेयपदार्थमा चिनीको खपत बढी प्रयोग हुने गर्छ । पाँच जनाको एक परिवारका लागि वार्षिक १० केजी चिनी आवश्यक पर्ने मान्यता छ ।

 

प्रतिक्रिया दिनुहोस्