विदेशी मुद्रा सञ्चितीले आठ महिनाको मात्र आयात धान्ने «

विदेशी मुद्रा सञ्चितीले आठ महिनाको मात्र आयात धान्ने


चालु आर्थिक वर्षको दुई महिनामै विदेशी मुद्रा सञ्चिती ९३ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा देशको विदेशी मुद्रा सञ्चिती ६.६ प्रतिशतले घटेर २०७८ भदौ मसान्तमा १३ खर्ब ६ अर्ब ९५ करोड कायम भएको उल्लेख छ ।
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.२ प्रतिशतले कमी आई २०७८ साउन मसान्तमा १३ खर्व ५३ अर्ब ८२ करोड कायम भएको थियो । आर्थिक वर्ष २०७८/०७९ को दुई महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिबाट ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
अर्थतन्त्रको मुख्य आधार मानिएको रेमिट्यान्सको लगातार गिरावट र उच्च व्यापार घाटाले गर्दा देशको विदेशी विनिमय सञ्चितीमा दबाब बढिरहेको छ ।
चालु आवको दोस्रो महिनामा पनि रेमिट्यान्स नकारात्मक नै छ । २०७८ भदौसम्ममा रेमिट्यान्स ६.३ प्रतिशतले कमी आई १ खर्ब ५५ अर्ब ३७ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढ्दा १ खर्ब ६५ अर्ब भित्रिएको थियो ।
कोभिड—१९ को महामारीमा पनि बढेको रेमिट्यान्स २०७८ साउनमा १८.१ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोड भित्रिएको थियो । विदेशी विनिमय सञ्चितिमा दबाब बढेसँगै गत महिनाबाटै राष्ट्र बैंकले विदेश जाँदा गर्ने डलर सटहीमा पनि कडाइ गरेको छ । आव २०७८/०७९ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ७०.८ प्रतिशतले वृद्धि भई २ खर्ब ७० अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले घटेको थियो ।
भदौसम्ममा ११५.४ प्रतिशतले वृद्धि भई ४४ अर्ब ४ करोडको वस्तु निर्यात हुँदा आयात ७५.९ प्रतिशतले वृद्धि भई ३ खर्ब १४ अर्ब ५२ करोड पुगेको छ । पर्यटनलगायतका क्षेत्रबाट हुने आम्दानी प्रभावित हुँदा निर्यात ११५.४ प्रतिशतले वृद्धि भई ४४ अर्ब ४ करोड पुगेको छ ।
देशमा भित्रनेभन्दा बाहिरिने रकम उच्च भएपछि देशको शोधानान्तर घाटापनि वृद्धि भएको छ । चालु आवको भदौसम्ममा शोधानान्तर ८३ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो । चालु आवकै साउनमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा थियो ।
अर्थतन्त्रका सूचक नकारात्मक हुँदा बैंक तथा वित्तीय संस्थाहरुले तरलताको अभाव झेलिरहेका छन् । भदौमा बैंकहरुको निक्षेप ०.७ प्रतिशतले मात्र वृद्धि हुँदा कर्जा प्रभाव भने ५.७ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्