तीन महिनामा चार खर्बको आयात, ६५ अर्बको निर्यात «

तीन महिनामा चार खर्बको आयात, ६५ अर्बको निर्यात


तीन महिनाको अवधिमा मुलुकमा चार खर्ब रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा ६५ अर्ब रुपैयाँबराबरको मात्र निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा आयात ६३.७३ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख रुपैयाँको भएको हो । अघिल्लो वर्ष सोही अवधिमा अवधिमा २ खर्ब ९२ अर्ब २६ करोड ९८ लाख रुपैयाँको मात्रै आयात भएको थियो ।
यस्तै तीन महिनाको अवधिमा निर्यात १०९ प्रतिशतले बढेर ६५ अर्ब ५२ करोड ८३ लाख रुपैयाँको भएको विभागको तथ्यांक छ । तीन महिनाको अवधिमा नेपालले ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । सोही अवधिमा गत वर्ष नेपालले ३१ अर्ब ४ करोड ६० लाख रुपैयाँको मात्रै निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आव १०९.५४ प्रतिशतले निर्यात बढेको छ ।
गत तीन महिनाको अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको छ । उक्त अवधिमा नेपालले २३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँको बराबरको ३ लाख ३२ हजार किलोलिटर डिजेल आयात गरेको छ । त्यसैगरी कच्चा भटमासको तेल २० अर्ब ६० करोड ६० लाख रुपैयाँ बराबरको १३ करोड २७ लाख ९९ हजार लिटर आयात गरी दोस्रो नम्बरमा रहेको छ ।
पहिलो त्रैमासमा १७ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरको मोबाइल फोन, १३ अर्ब ४ करोड ५३ लाख रुपैयाँ बराबरको कच्चा १२ पाम आयल आयात भएको पनि विभागले जनाएको छ । यस्तै १२ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ बराबरको पेट्रोल, १२ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ बराबरको आइरन स्टील, १२ अर्ब १८ करोड १० लाख रुपैयाँ बराबरको एलपीजी ग्यास आयात भएको छ । ११ अर्ब ७ करोड बराबरको सुन र १० अर्ब १७ करोड १४ लाख रुपैयाँ बराबरको चाँदी आयात भएको भन्सार विभागको तथ्याङक छ ।
पहिलो तीन महिनामा करिब साढे ५ खर्ब मूल्य बराबरको वैदेशिक व्यापार भएको छ । साउनदेखि असोज मसान्तसम्ममा नेपालले ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ, जुन हालसम्मकै उच्च हो । गत वर्ष सोही अवधिमा नेपालले ३ खर्ब २३ अर्ब ३१ करोड ५९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । आयातको अनुपातमा निर्यात नहुँदा तीन महिनाको अवधिमै ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । सो अवधिमा भएको व्यापारघाटा हालसम्मकै उच्च हो ।
गत वर्ष सोही अवधिमा नेपालले ३ खर्ब बढीको वैदेशिक व्यापार गर्दा २ खर्ब ६१ अर्ब २२ करोड ३७ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । नेपालले गत आवको सोही अवधिको तुलनामा चालु आव ५८.२८ प्रतिशतले व्यापारघाटा बढेको तथ्यांक छ । तीन महिनामा ४ खर्बभन्दा बढीको वस्तु आयात गर्दा १ खर्ब २९ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्