म्यादी बिमा भुक्तानीमा बिचौलिया हावी «

म्यादी बिमा भुक्तानीमा बिचौलिया हावी


वैदेशिक रोजगार म्यादी बिमाको दाबी प्रक्रियामा बिचौलियाको प्रवेशले सेवाग्राही ठगिन थालेपछि सरकारले अनलाइन आवेदन र भुक्तानी गर्नेबारे अध्ययन सुरु गरेको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीको बिमा भुक्तानीमा बिचौलियाले पैसा दिलाउने भन्ने निश्चित प्रतिशत कमिसन माग्न थालेपछि बोर्डले बिमा प्रक्रियालाई अनलाइन गर्ने तयारी गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले मृतकलाई दिने ७ लाख रुपैयाँ अनलाइन प्रणालीबाट आवेदन र भुक्तानीको प्रक्रिया सुरु भइसकेकाले बिमा रकमसमेत अनलाइन गर्ने तयारी भएको बताए । “हाल बिमा रकमका लागि मृतक श्रमिकका आफन्त विभिन्न कागजात लिएर बिमा कम्पनी र बोर्डमा नै आउनुपर्ने व्यवस्था रहेको छ,” कार्यकारी निर्देशक श्रेष्ठले कारोबारसँग भने, “मृतक श्रमिकका आफन्तको सहजता र ठगी नियन्त्रणका बोर्ड र बिमा कम्पनीको सेवा एकीकृत रुपमा जानुपर्छ भनेर सरोकारवाला निकायहरुको सहभागितामा अध्ययन टोली गठन गरिएको छ ।”
बिमाको आवेदन दिने र भुक्तानी लिने कामको सहजिकरणका लागि बोर्डले काम गर्ने गरी तयारी भएको छ । हाल भुक्तानीका लागि सेवाग्राहीले हजारांै खर्च गरेर काठमाडौं वा सम्बन्धित कार्यालय धाउनुपर्ने बाध्यता छ । कागजात मिलाउन नसक्ने श्रमिकका आफन्तलाई बिचौलियाले गैरकानुनी रुपमा पैसा असुल्ने गरेका कारण पनि बोर्डले सबै प्रक्रियाको सहजिकरण आफैं गर्ने गरी अध्ययन सुरु गरेको हो ।
विदेशमा मृत्यु भएका श्रमिकका आफन्तले १० लाखदेखि १३ लाख रुपैयाँ बिमाबाट भुक्तानी पाउने र सरकारले ७ लाख सहयोग गरी लगभग २० लाख रुपैयाँ पाउने गरेका छन् । यसका लागि बोर्डले बिमा कम्पनी, बिमा समितिलगायतका निकायसँग छलफल गरेर आवश्यक परेको अवस्थामा दुवै निकायको कानुन संशोधन नै गर्ने योजना बनाएको छ ।
हाल वैदेशिक रोजगार बोर्डमा मृतकले भरेको हकवाला र बिमा गर्दा भुक्तानी पाउने व्यक्तिको नामसमेत फरक परेका कारण यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य चुनौती रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । वैदेशिक रोजगारीमा आफन्तको मृत्यु भएर सहयोग र बिमा भुक्तानी लिनेमध्ये ८५ प्रतिशत महिला हुने गरेको बोर्डले जनाएको छ ।
बिमा प्रक्रियामा सहजिकरण गर्ने भन्दै बिचौलियाले मृतकको नाममा आफन्तले लिने पैसाको निश्चित प्रतिशत कमिसन माग्ने गरेको बोर्डले जनाएको छ । कतिपय बिमा कम्पनीले विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई भुक्तानु दिनुपर्ने पैसाको केही हिस्साबाट पुनः बिमा गराई आधा रकम मात्र दिने गुनासो बोर्डमा आउने गरेको छ । मृतकका आफन्तलाई भुक्तानी दिनुपर्ने सम्पूर्ण रकम नदिएर आधा रकमको पुन बिमा गराएको सम्बन्धमा समेत बोर्डले बिमा कम्पनीसँग छलफल गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्