तेस्रो पिङ्काथन ११ फागुनमा «

तेस्रो पिङ्काथन ११ फागुनमा

पिङ्काथन काठमाडौंको तेस्रो संस्करण फागुन ११ गते शनिबार हुने भएको छ । पिङ्काथन महिला सशक्तिकरणका लागि गरिएको एक दौड (म्याराथन) प्रतियोगिता हो, जसमा महिलाहरुको मात्रै सहभागिता हुन्छ ।
सहभागी महिलालाई पिङ्क सिस्टर पनि भनिन्छ । कलाकार, मोडल र फिटनेस प्रमोटर मिलन्द सोमनले भारतबाट सुरु गरेको पिङ्काथनलाई काठमाडौंमा लेजर पोर्टका प्रबन्ध निर्देशक नमराज जोशीले ल्याएका हुन् । महिलाहरुलाई घरदेखि बाहिर निस्किएर फुर्तिपूर्ण र कसरत गरेर स्वस्थ हुने, जनचेतना जगाउन पिङ्काथन आयोजना गरिँदै आएको छ ।
२०१७ देखि पिङ्काथन काठमाडौंको आयोजना लेजर पोर्ट प्राइभेट लिमिटेडले सिस्टर्स फाउन्डेसनको सहयोगमा गर्दै आएको छ । पिङ्काथन फागुन ११ गते शनिबार नेपाल प्रहरी मुख्यालय नक्सालमा हुनेछ । पिङ्काथन काठामाडौं २१ किमी हाफ म्याराथनसहित, १० किमी, ५ किमी र ३ किमी दौड हुनेछ ।
पिङ्काथन काठमाडौंमा हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ हात पार्नेछन् । यसैगरी ५ किलोमिटर जित्नेले ११ हजार पाउनेछन् । साथै पिङ्काथनका दौड संयोजक रघुराज वन्तले हाफ म्याराथन र १० किमीमा राष्ट्रिय कीर्तिमान राख्नेलाई १ सेकेन्डको १ हजारका दरले छुट्टै पुरस्कार दिने घोषणा गरेका छन् ।
पिङ्काथनको पहिलो र दोस्रो संस्करणकी विजेता कान्छीमाया कोजुले तेस्रो संस्करणमा पनि भाग लिने जानकारी दिइन् । दौड संयोजक वन्तले कान्छीमायालाई प्रशिक्षण दिइरहेका छन् । पिङ्काथन काठमाडौंका आयोजक लेजर पोर्ट नेपाल प्रालिका मेनेजर नवराज जोशीका अनुसार यो वर्ष ५ हजार भन्दा बढी महिलाले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
भारतीय अभिनेता मिलिन्द सोमनले सुरु गरेको यो पिङ्काथन भारतमा निकै प्रख्यात छ । यो प्रत्येक वर्ष भारतको ८ विभिन्न सहरमा गरिँदै आएको छ, जुन नेपालमा भने ३ वर्ष अगाडिबाट सुरु गरिएको हो ।
पिङ्काथन काठमाडौंमा सहभागी हुनका लागि अनलाइन पिङ्काथनको साइट, ई-सेवा, उत्साह लर्निङ सेन्टर छाउनी र त्रिशारा दरबारमार्गमा फाराम भरेर सहभागी हुन सकिन्छ ।


 

प्रतिक्रिया दिनुहोस्