विज्ञापन बजार व्यवस्थित र मर्यादित बनाउन आवश्यक : मन्त्री कार्की «

विज्ञापन बजार व्यवस्थित र मर्यादित बनाउन आवश्यक : मन्त्री कार्की


विज्ञापन बजारको दायरा बढ्दै जाँदा यस क्षेत्रलाई थप मर्यादित, व्यवस्थित र स्वच्छ बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । विज्ञापन बोर्डद्वारा सोमबार आयोजित विज्ञापन दिवस तथा अन्तक्र्रिया कार्यक्रममा विज्ञापनले वस्तु वा सेवाको प्रवद्र्धन गर्ने मात्र नभई उपभोक्ताको स्वाथ्यसँग पनि उत्तिकै सम्बन्ध राख्ने भएकोले यसलाई थप व्यवस्थित आवश्यक रहेको सरोकारवालाले बताएका हुन् ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन व्यवसायलाई मर्यादित, व्यवस्थित र स्वच्छ बनाउन सबैको सामूहिक प्रयासको खाँचो रहेको बताए ।
विज्ञापनका सामग्रीको उत्पादनदेखि प्रकाशन तथा प्रसारणमा प्रयोग गरिने भाषा, तथ्यपरक जानकारी हुनुपर्नेमा उनले जोड दिए । राजमार्गमा गरिने विज्ञापन, शहरी क्षेत्रमा राखिएका होर्डिङ बोर्डले जनमानसमा कस्तो प्रभाव पारेको छ भन्नेबारेमा अध्ययन हुन आवश्यक रहेको मन्त्री कार्कीले बताए । विज्ञापनलाई मर्यादित बनाउन यससम्बन्धी ल्याउन लागिएको आचारसंहिताले सहयोग पुग्ने उनको भनाइ थियो ।
मुलुकलाई समृद्धितर्फ लैजान भाषण र दस्तावेजमा उल्लेख गरेरमात्र नपुग्ने भन्दै उनले जनताले अनुभूत गर्ने खालका काम गर्न सकेमात्रै राजनीतिक परिवर्तनको अनुभूति हुने बताए । हामीसँग उपलब्ध साधन स्रोतलाई उपयोग गर्दै १० वर्षभित्र दक्षिण एसियाकै समृद्ध मुलुक बनाउन सकिने आधार पनि उनले प्रस्तुत गरे । मन्त्री कार्कीले बोर्डले मस्यौदा गरेको विज्ञापन आचारसंहिताको अनलाइनमार्फत लोकार्पणसमेत गरेका थिए ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कुनै पनि व्यवसायको प्रवद्र्धन र समग्र अर्थतन्त्रलाई चलायमान गराउन विज्ञापनको भूमिका महत्वपूर्ण रहने भएकाले सरकार विज्ञापन बजारलाई व्यवस्थित र मर्यादित गराउन प्रतिबद्ध रहेको बताए ।
बोर्डका अध्यक्ष लक्ष्मण हुमागार्इंले विज्ञापन उपभोक्ता, सञ्चारमाध्यम, विज्ञापनदातासँग प्रत्यक्ष सरोकार राख्ने हुँदा यसलाई व्यवस्थित र मर्यादित बनाउन आचारसंहिताको मस्यौदा तयार गरी आगामी पुसभित्र जारी गराउन तथा आगामी असार मसान्तभित्र राष्ट्रिय विज्ञापन नीति ल्याउने गरी गृहकार्य भएको जानकारी दिए । उनले सञ्चारमाध्यमको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको विज्ञापन बजारलाई पारदर्शी र व्यवस्थित गराउन बोर्ड क्रियाशील रहेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन बजार बढाउन स्वदेशी उद्योगधन्दा फस्टाउनु जरुरी हुने भएकोले सन् २०३० सम्ममा एक सय मिलियन डलरको अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिए । यसका लागि कोभिडबाट प्रभावित बन्न पुगेको विज्ञापन क्षेत्रलाई पनि अति प्रभावित सरह सुविधा दिन उनले माग गरे । नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले संस्थाले सुरुदेखि नै विज्ञापनलाई व्यवस्थित र मर्यादित बनाउन अलग्गै ऐन, आचारसंहिताको व्यवस्था, बोर्डको गठन हुनुपर्ने माग गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्