६९ करोड लागतमा पशुपंक्षी भ्याक्सिन उद्योग «

६९ करोड लागतमा पशुपंक्षी भ्याक्सिन उद्योग

काभ्रे-गोल्छा अर्गनाइनजेसन र हेस्टर बायोसाइन्सेज लिमिटेड इन्डियाको संयुक्त लगानीमा काभ्रेको बनेपा नगरपालिका वडा नं ३ उग्रचण्डीमा ६९ करोड लगानीमा हेस्टर बायोसाइन्सेज नेपालको स्थापना भएको छ । उच्च प्रविधिको प्रयोग गरेर कुखुरा तथा पशु चौपायलाई आवश्यक पर्ने भ्याक्सिन उत्पादन गर्ने उद्योगमा वार्षिक १ सय १४ करोड डोज लाइभ र सक्रिय भ्याक्सिन उत्पादन हुनेछ भने ४७ थरी भ्याक्सिनमध्ये हाल कम्पनीले २० भ्याक्सिनका लागि सरकारबाट लाइसेन्स लिइसकेको तथा अन्य भ्याक्सिनहरूको लाइसेन्स लिने तयारीमा रहेको हेस्टर बायोसाइन्सेज नेपालका सिइयो तथा प्रबन्ध निर्देशक राजीव गान्धीले जानकारी दिए ।
गान्धीका अनुसार यसअघि हेस्टर नेपालले भ्याक्सिनको आयात गरेर वितरणमात्र गर्ने काम गर्दथ्यो भने अहिले उत्पादननै नेपालमा गरेर अन्य देशमा निर्यात गर्ने बताए । हेस्टर नेपालले अण्डा, दूध तथा मासुजन्य पदार्थ स्वस्थ्य रुपमा उत्पादन गर्नको लागि कम्पनी सञ्चालनमा ल्याइएको हेस्टर नेपालले जनाएको छ । हालसम्म २ करोड डोज भ्याक्सिनहरू अन्य देशमा निर्यात गरिसकेको हेस्टरले वर्ड फ्लूको पनि भ्याक्सिन बनाउने संस्थाले जनाएको छ । कुखुरापालन व्यावसायिक रूपले राम्रोसँग अगाडि बढे पनि बर्डफ्लु रोगले कुखुरापालक व्यवसायी तथा किसानलाई मर्का पार्ने गरेको थियो ।
बुधबार काभ्रेको बनेपा नपा ३ उग्रचण्डी नालामा रहेको कम्पनीको प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रधानमन्त्री ओलीले मुलुकमा लगानीमैत्री वातावरण तयार भएकाले ढुक्क भएर लगानी गर्न अनुरोध गरेका छन् । “सरकारले निजी क्षेत्रलाई संरक्षण र प्रोत्साहन गर्छ,” प्रधानमन्त्री ओलीले भने, “रोजगार सिर्जना गरी बेरोजगार अन्त्य गर्ने उद्योगहरूमा उच्च प्रविधिमा आधारित ज्ञान, रोजगारी, उत्पादकत्व र निर्यात हुनेछ ।” प्रधानमन्त्री ओलीले भ्याक्सिनमा आत्मनिर्भर बनाउँदै निर्यात समेत गर्ने उद्योगलाई अगाडी बढ्न शुभकामना ब्यक्त गरे । कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सरकारले एकद्वार प्रणलीमा लगानी गर्ने बातावरण बनाइसकेको तथा लगानी गर्न दिने निर्णय गरिसकेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरे । अर्थमन्त्री खतिवडाले निर्यातउन्मुख उद्यमले दिगो आर्थिक विकासमा मद्दत गर्ने भएको हुनाले यस्ता उद्योगहरू सञ्चालनमा सरकारले प्राथमकिता दिने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निजी क्षेत्रमा सयुक्त लगानी ल्याएर सञ्चालन गर्नु राम्रो कुरा भएको बताइन् । सरकारको सहयोग रहेमा बाहिरको लगानी भित्राउन निजी क्षेत्र लाग्ने बताउँदै अध्यक्ष राणाले सरकारले पनि नयाँ उद्योग खोल्ने वातावरण बनाइदिनुपर्ने आवश्यकता औंल्याइन् ।
गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छाले नेपालमा पशुजन्य उत्पादन वृद्धि भइरहँदा सरकारले पशुहरूको हेल्थ केयर कम्पनीलाई प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिनुपर्ने बताए । उनले नेपाललाई पशुका लागि आवश्यक पर्ने भ्याक्सिन उत्पादनमा आत्मनिर्भर बनाउन र भेडा वाख्रामा लाग्ने पीपीआर रोगलाई हटाउन सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।

कपिल कोइराला

प्रतिक्रिया दिनुहोस्