दसैं सकिए पनि चंगाको याद ताजै «

दसैं सकिए पनि चंगाको याद ताजै

PC: teensy idea

आजभन्दा करिब २०–२२ वर्षअगाडिको कुरा हो । दसैं आउन लाग्यो भनेपछि जोकोही पनि केही महिना अघिदेखि नै हर्षित हुन्थे । त्यसमाथि हामी बालापन छँदा त खुसी नहुने कुरै भएन, अर्थात् खुसीको सीमा नै थिएन ।
न कमाएर ल्याउने पीर, न आज खान पाइएन भन्ने पीर— सबै ससानो उमेरका केटाकेटी थियौं हामी । हामीले खेल्ने चिज सबै खेल्यौं । गुच्चा खेल्यौं, चुङ्गी खेल्यौं, ढ्याक खेल्यौं, डन्डीबियो खेल्यौं, भलिबल, फुटबल, क्रिकेट, खेल्ने कुरा जति प्रायः सबै खेल्यौं । दसैं आउन केही महिनाअघि नै हामी चंगा उडाउन सुरु गथ्र्यौं ।
त्यति बेला बस्ती निकै कम थियो । अहिलेको जस्तो घना बस्ती थिएन । पसलहरू पनि सबै ठाउँमा थिएनन् । खेतीयोग्य जमिन पनि धेरै थियो । खुला ठाउँ थियो । वैशाखमा मकै लगाएर मकैमा धानचमरा आउन नथाल्दै हामी चंगा उडाउन थाल्थ्यौं । चंगा किन्ने हाम्रो बजार भनेको त्यतिबेला भक्तपुरको ठिमी बजार थियो । हामी हिँडेरै मनोहरा खोला तरेर ठिमीको बजार जान्थ्यौं । प्रायः जे किनमेल किन्न जाँदा पनि हामी ठिमी पुग्थ्यौं । ठिमीको हलुवा–स्वारी निकै चर्चित थियो ।
हामी केही साथीहरू मिलेर धागो किन्थ्यौं । लट्टाई गत वर्षको भएकाले पुरानै चलाइन्थ्यो त केही नयाँ पनि किनिन्थ्यो । रेडिमेड धागो त्यतिबेला कम पाइन्थ्यो, तर महँगो हुन्थ्यो, किन्न सकिँदैनथ्यो । साबेलमार धागो, गनमार धागो हुन्थ्यो, यो धागो सेतो हुन्थ्यो । साबेलमार धागो अलि मसिनो हुन्थ्यो । मादा लगाउनुपथ्र्यो । धागोमा लगाएको मादा तीन–चार घण्टापछि सुक्थ्यो र लट्टाईमा बेथ्र्यौं ।
नयाँ धागो, नयाँ चंगा लिएर त्यति बेला नयाँ बाटो भन्ने ठाउँ, साबिक गोठाटार गाविस वडा नं. ६ अर्थात् पाटीको धारा भन्ने ठाउँमा जान्थ्यौं । चंगा धेरै ठाउँबाट पार्न आउँथे । त्यतिबेला फाट्टफुट मात्र उडेको चंगा दसैं नजिकिनै लाग्दा आकाशभरि देखिन्थे । त्यति बेला बालापनको दिमाग त हो, चेट भएको चंगा खोज्न जाँदा आमाबुवाहरूले दुःख गरी रोपेको धानखेत माडिन्थ्यो ।
सबैको नराम्ररी गाली पनि खाइन्थ्यो । सा¥है चकचके स्वभावले गर्दा नराम्रो काम गर्दा धेरै गाली खाइन्थ्यो । चंगा उड्नका लागि हावा लाग्नुपथ्र्यो । अलिअलि हावा लागेको खण्डमा पछाडि–पछाडि हिँडेर चंगा अकास्नुपथ्र्यो । तर, पछाडि हिँड्ने क्रममा खेतको नालीमा डुबेको अझै मेरो दिमागमा ताजा नै रहन्छ ।
घटस्थापनापछि दसैं सुरु हुन्थ्यो । चंगा त आकाशभरि हुन्थे । यता हे¥यो चंगा, उता हे¥यो चंगा, चंगामय हुन्थ्यो दसैं । दसैंलाई चंगाले अझ रमाइलो बनाउँथ्यो । दसैं सकिएपछि पनि चंगाको धेरै याद आउँथ्यो ।
यो त हाम्रो बाल्यकालको दसैंमा उडाएको चंगाको वास्तविक अनुभव थियो । तर विडम्बना, हालको दसैंलाई हेर्ने हो भने कहीँ–कतै पनि चंगा देखिँदैनन् । देखिन्छन् त केवल बैंक–वित्तीय संस्थाहरूको भित्तामा मात्र । आकाशमा देखिए पनि निकै कम मात्रामा देखिन्छन् । हुँदाहुँदा लिङ्गे पिङसमेत लोप हुने अवस्थामा पुगिसकेछ । लिङ्गे पिङ गाउँघरमा बाहेक सहरतिर निकै कम मात्रामा देखिन थालेको छ । यसको संरक्षण गरौं, मौलिक सांस्कृतिक चाड बडादसैंको जगेर्ना गरौं ।

प्रतिक्रिया दिनुहोस्