कार्यालय प्रमुखसहित ३३ जना कर्मचारी अनुपस्थित «

कार्यालय प्रमुखसहित ३३ जना कर्मचारी अनुपस्थित

जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लास्थित सरकारी कार्यालयहरूको छड्के अनुगमन गरेको छ । सदरमुकाम बेंसीसहरमा रहेका सरकारी कार्यालयहरूको अनुगमन गरेको हो ।
जिल्ला प्रशान कार्यालयका प्रशासकीय अधिकृतद्वय जगदीश मिश्र, हरिगोपाल कर्मचार्य र नायव सुब्बा ईश्वर गुरुङ गरी तीन जनाको नेतृत्वमा छुट्टाछुट्टै टोलीले जिल्लाका नौवटा कार्यालयमा छड्के अनुगमन गरेको प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
कार्यालयहरूको अनुगमनको क्रममा एकजना कार्यालय प्रमुखसहित ३३ जना कर्मचारी कार्यालय समयमा अनुपस्थित रहेको पाइएको छ । कार्यालय समयमा भएको छड्के अनुगमनको क्रममा विभिन्न कार्यालयका राजपत्र अनंकित तथा सहायक तहका ३२ जना कर्मचारी कार्यालयमा अनुपस्थित भएको पाइएको प्रशासन कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत जगदीश मिश्रले बताए ।
अनुगमनकै क्रममा २१ जना कर्मचारी कार्यालय पोशाकमा नरहेको पनि भेटिएको प्रशासनले जनाएको छ । कार्यालय पोशाकमा नरहेका कर्मचारीहरू पनि सहायकस्तरका रहेको मिश्रले बताए । कार्यालयमा नभेटिएका कर्मचारीहरू दसंै बिदामा घर गएर नफर्किएका हुन् ।
प्रशासनले चारवटा संघ सरकारअन्तर्गत र पाँचवटा प्रदेश सरकारअन्तर्गतका कार्यालयहरूमा छड्के अनुगमन गरेको हो । प्रशासनले संघ सरकारअन्तर्गत जिल्लास्थित मालपोत कार्यालय, नापी कार्यालय, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, अलैची जोनमा छड्के अनुगमन गरी कार्यालयको सेवा प्रवाह निरीक्षण गरेको थियो ।
यसैगरी प्रदेश सरकारअन्तर्गतका स्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, कृषि ज्ञान केन्द्रमा अनुगमन गरेको हो । सम्बन्धित कार्यालयमा कर्मचारीहरूको पोषाक, सेवा प्रवाह, कर्मचारी उपस्थित भए नभएको लगायतका विषयमा अनुगमन गरिएको सूचना अधिकारी मिश्रले बताए ।
अनुगमनको क्रममा अनुपस्थित र कार्यालय पोशाकमा नभेटिएका कर्मचारीहरूलाई कानुन बमोजिम कारबाही गरिने पनि प्रशासनले जनाएको छ । सार्वजनिक सेवा प्रवाह गर्दै आएका सरकारी कार्यालयहरूको सेवा प्रवाहको प्रभावकारितालाई थप प्रभावकारी बनाउन अनुगमन गरिएको प्रमूख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
कार्यालय प्रमुखसहित कर्मचारीहरू नियमविपरीत र बिना जानकारी कार्यालयमा अनुपस्थित हुँदा सेवाग्राहि समस्यामा पर्ने भन्दै सेवा प्रवाहलाई सहज र सरल बनाउन केन्द्रीय निर्देशनबमोजिम अनुगमन गर्नु परेको प्रजिअ वैद्यको भनाइ छ ।
अनुगमन टोलीले सबै कार्यालयलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन् । कार्यालयमा कर्मचारी नआउने, विनाजानकारी अनुपस्थित हुने, हाजिरी गरेर कार्यालयको काम नगरी बस्ने जस्तो भएमा सेवा प्रवाहमा समस्या हुने भन्दै अनुगमन टोलिले सेवाग्राहीप्रति उत्तरदायी र जवाफदेहिता बन्न सबै कार्यालयका प्रमुखसहित कर्मचारीहरूलाई निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्