तरकारी बेचेरै लाखौं आम्दानी «

तरकारी बेचेरै लाखौं आम्दानी

मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिएकी छिन् ।
काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौं रुपैयाँ कमाउन थालेकी छिन् । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गासमेत उपयोग गरेर उनले कमाइ गरेकी छिन् । गाउँमा उत्पादन भएको तरकारी बजार पुग्छ, बजारमा भएको पैसा गाउँ पुगेको छ ।
उनले आफ्नो जमिनबाहेक मासिक छ हजार रुपैयाँ भाडा तिरेर आठ रोपनी जमिन भाडामा लिइकए छिन् । त्यही भाडाको बारीले सात वर्षदेखि उनलाई लखपति बनाएको छ । उनको आशिष कृषि फार्ममा वर्षभरि नै ताजा तरकारी पाइन्छ । उनले लामो समयदेखि निरन्तर खेतीमै जोड दिएकी छिन् । एक वर्षमात्र हैन, पछिल्लो सात वर्षदेखि उनले नियमित कमाइ गर्न सकेकी छैनन् ।
“कृषिको हाकिमभन्दा मेरो कमाइ बढी छ” उनले भनिन् । तालिम दिने हाकिमले मासिक तलब खाने गरेको तर आफ्नो दैनिक कमाइ भइरहेको उनले बताइन् । चार छोरी पाल्ने उनको चुनौती तरकारी खेतीले पूरा गरिदिएको हो । संयोगले भेटिएका कृषि कार्यालयका अधिकृतले तालिममा सहभागी गराएपछि उनले भाडाको जमिनमा खेती गर्ने योजना बनाइकी थिइन् । त्यो अभियानले अहिले उहाँ अगुवा र कर्मठ किसानमा गनिन्छिन् । उनको बारीमा के हिउँद, के वर्षात् निरन्तर तरकारी लटरम्म हुन्छ ।
उनको बारीमा हिउँदमा लटरम्म फल्ने केराउ, काउली र मोटरकोसा, वर्षात्मा खुर्सानी, गोलभेंडालगायत तरकारी लगाएर यो सफलता पाइएको छ । “सिजनअनुसार फल्ने तरकारी पनि लगाएकी छु, बेमौसमी तरकारी प्लाष्टिकको घरमा लगाउँछु”, उनले भनिन्, “महिलाले केही गर्न सक्दैनन् भन्थे, आँट गरेर सफल भएकी छु ।”
धेरै वर्षसम्म सिक्किम लोकल जातको केराउ लगाएर कमाएको र अहिले सबैखाले खेती थालेको उनी बताउँछिन् । उनले भन्,ि “टनेलभित्र गोलभेडा मात्रै गर्ने चलन तोडेर खुर्सानी लगाएर पनि लाख कमाउन सकें ।” अहिले पनि उनका टनेलमा गोलभेडा, प्याज, रायो साग, अकबरे खुर्सानी, मुसुरो दाल, काउली बन्दा जस्ता उत्पादन लटरम्म फलेका छन् । लेखानी गाउँसहित बागलुङ बजारमा पनि नियमित तरकारी बेच्ने गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्