थप राहतको व्यवस्था हुन्छ : प्रधानमन्त्री देउबा «

थप राहतको व्यवस्था हुन्छ : प्रधानमन्त्री देउबा


प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो पीडितका लागि थप राहातको व्यवस्था गर्ने बताएका छन् ।
इलाम र पाँचथरको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चाँडै मन्त्रिपरिषदको बैठक राखेर राहात सम्बन्धि थप निर्णय लिने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले सरकारले यसअघि नै मृतकको परिवारलाई दुई लाख रुपैयाँ राहात उपलब्ध गराउने निर्णय गरिसकेको स्मरण गर्दै सरकारले थप राहातको व्यवस्था गर्ने घोषणा गरे । उनले पहिरोले घर बनाउने ठाउँ नहुनेलाई जग्गा जमिन दिएर भएपनि घर बनाइदिने र घर भत्किएकाहरुलाई सहयोग गर्ने बताए । उनले भने, “हामीले स्थलगत रुपमा नै अध्ययन गरेका छौं, भएको क्षति नोक्सानीको सरकारले मुल्यांकन गरेर क्याबिनेट बसेर निर्णय लिन्छौ ।”
प्रधानमन्त्री देउवाले बेमौसममा परेको पानीले मेचीदेखि महाकालिसम्म ठूलो क्षति पु¥याएको बताउँदै सरकार पीडितहरुको साथमा रहेको बताए । पहिरो पीडितलाई सम्बोधन गर्दै उनले भने, “हामी तपाइँहरुको साथमा छौं, त्यही भएर हामी आएका हौं ।”
प्रधानमन्त्री देउवाले बाढी पहिरो प्रभावित क्षेत्रका नागरिकलाई एकै ठाउँमा बसोबास गर्ने व्यवस्था मिलाउने वा नयाँ सहर बनाउने विषयमा समेत सोचिरहेको बताए ।
बाढी पहिरो प्रभावित निरीक्षणका लागि उर्जा तथा जलश्रोतमन्त्री फम्फा भूसाल, सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी थिए । बाढी पहिरोबाट पाँचथरमा ३० जनाको मृत्यु भएको थियो । १४ जना घाइते भएका थिए । चार जना अझै बेपत्ता छन् । इलाममा १४ जनाको मृत्यु भएको थियो । दुई जना घाइते भएका थिए भने दुई जना बेपत्ता छन् ।
प्रधानमन्त्री देउवासहितको टोलीले मोरङ, सुनसरीसहित इलाम र पाँचथरमा गएको बाढी पहिरोको निरीक्षण गरे । प्रधानमन्त्री देउवाले पीडितसँगै रहेर उनीहरुका समस्या समेत सुनेका छन् ।

प्रतिक्रिया दिनुहोस्