कोरोनाको दोस्रो लहरपछि होमस्टे सुनसान «

कोरोनाको दोस्रो लहरपछि होमस्टे सुनसान


कोरोना महामारीले थलिएका सुदूरपश्चिम प्रदेशका होमस्टे दोस्रो लहरपछि अझैसम्म सुनसान छन् ।
कोभिड १९ को दोस्रो लहर कम भएसँगै अन्य पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको आगमन बढेपनि होमस्टेहरुमा अझै पनि पाहुना आउन थालेका छैनन् । सुदूरपश्चिमका होमस्टे सञ्चालकहरुले पाहुना कुर्दा कुर्दा हैरान भइसकेको बताउँछन् ।
लम्कीचुहा नगरपालिका–३ मा बसेरा होमस्टे सञ्चालन गरिरहेका दीपक चौधरीले कोरोनाको दोस्रो चरणको कोरोनाले होमस्टे पूर्णरूपमा सुनसान भएको बताए । “दोस्रो लहरपछि पर्यटक आएका छैनन्” उनले भने, “कोरोनाको पहिलो लहरपछि दिनमा ५ देखि ७ जनासम्म आन्तरिक पर्यटकहरू आइरहन्थे । पहिलो पटक लकडाउन हुँदा होमस्टे बन्द भयो । लकडाउनपछि स्वास्थ्य मापदण्ड अपनाएर पुनः होमस्टे सञ्चालनमा ल्याएका थियौं । अहिले पनि त्यसैगरी चलाएका छौं, तर पाहुना छैनन् ।”
सोही होमस्टेका सञ्चालक किशोर चौधरीले दुई वर्षदेखि होमस्टे राम्रोसँग चल्न नसकेको बताए । उनले बसेरा होमस्टे भित्र सात घरमा होमस्टे सञ्चालन गरेकोमा सबैको व्यवसाय चल्न नसकेको बताए । “पाहुनाको सेवा सत्कार गरेबापत पाउने सेवा शुल्कबाट सातै परिवारको गुजारा चलेको थियो” उनले भने, “कोरोना महामारीसँगै होमस्टे चल्न छोडेपछि आम्दानीको स्रोत सुकेको छ ।”
मुक्त कमैया बस्तीमा सञ्चालन गरिएको बसेरा होमस्टेमा सञ्चालकहरुले स्थानीय उत्पादनकै परिकार पर्यटकलाई खुवाउँथे र स्थानीय सांकृतिक नृत्यकलाबाट मनोरञ्जन गराउँथे । परिवारका सबै सदस्य होमस्टे सञ्चालनमा जुटेको बताउँदै किशोरले होमस्टे सञ्चालन भएपछि दुई महिना राम्रै आम्दानी भएको जनाए । “मासिक ४० देखि ५० हजार रुपैयाँको कारोबार भइहाल्थ्यो” उनले भने, “भरखरै खुलेको होमस्टे सुरुवाती अवस्थामा दुई÷दुई पटक लकडाउन भएकाले पर्यटक पर्खन महिनौ लाग्ने गरेको छ ।”
बसेरा होमस्टे सञ्चालकहरुका अनुसार दैनिक ५० देखि ७० जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका थिए । तर, सञ्चालनमा आएको दुई महिना नपुग्दै कोरोनाले प्रभावित हुन पुगेको छ ।
बसोरा होमस्टे मात्रै नभएर सुदूरपश्चिम प्रदेशमा रहेका १३ वटै होमस्टेको अवस्था उस्तै छ । दुई वर्षयता कोरोना महमारीका कारण पर्यटक आगमन शुन्य भएको छ । कोरोना महामारी कम हुँदै जाँदा पर्यटन चलायमान हुँदै गएपनि होमस्टेमा पर्यटक भित्रिन सकेका छैनन् ।
पाहुनाको स्वागत गर्न आतुर रहेपनि हप्तौं कुरेपछि मात्रै दुई चार जना पर्यटक आउने गरेको धनगढी उपमहानगरपालिका–१६, भादामा सञ्चालित भादा थारु होमस्टेका सञ्चालक पुनाराम चौधरीले बताए । २०७० सालदेखि सञ्चालित भादा थारु होमस्टेले निकै चर्चित भइसकेको भएपनि कोरोना महामारी कारण शुन्य भएको उनले बताए ।
भादा गाउँ पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले कोरोनाबाट प्रभावित होमस्टेलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर फेरि सञ्चालनमा ल्याएपनि पर्यटक आगमन शुन्य प्रायः रहेको बताए । उनले गाउँमा २० घर परिवारले होमस्टे सञ्चालन गरिरहेको बताए ।
घोडाघोडी नगरपालिकामा सञ्चालित माघी होमस्टेका सञ्चालक शोभारामले व्यक्तिगत सम्पर्कबाट हप्ता दिनपछि दुई÷तीन जना पर्यटक मात्र आउने गरेको बताए । २०७१ बाट सञ्चालनमा आएको माघी होमस्टे सञ्चालक समितिका अध्यक्ष भगतचन्द्र चौधरीले परम्परागत सजावट गरिका १५ वटा घर रहेको बताए । कृषि विकास मन्त्रालयले २५ लाखको लागतमा निर्माण गरिदिएको थियो ।
कोरोना महामारीसँगै थलिएको होमस्टे व्यवसायलाई पुनरुत्थान गर्नका लागि पुनः प्रचार प्रसारलाई जोड दिनुपर्ने सञ्चालकहरु बताउँछन् । अध्यक्ष भगतचन्द्रले खेतको धान स्याहारी सकेपछि पर्यटकलाई आउन आव्हान गर्ने अभियान नै चलाउनुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेशमा १० वटा होमस्टे प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा र तीन वटा होमस्टे संघीय पर्यटन मन्त्रालयमा दर्ता भएका छन् । तीमध्ये सात वटा सामुदायिक र छ वटा निजी होमस्टे रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत मानबहादुर साउदले बताए । उनले कैलालीमा भादा गाउँ सामुदायिक होमस्टे, माघी थारु गाउँ सामुदायिक होमस्टे, बसन्ता कोरीडोर थारु होमस्टे, बसेरा थारु होमस्टे सञ्चालनमा रहेको बताए ।
त्यस्तै, कञ्चनपुरमा रानाथारु सामुदायिक होमस्टे, बैतडीमा सुशीला होमस्टे, विस्ना होमस्टे, बझाङमा मुनाल कृषि तथा पर्यटन होमस्टे, डडेल्धुरामा डोटेली होमस्टे, डोटीमा खप्तड होमस्टे र अछाममा कैलाशवेसी एग्रो होमस्टे सञ्चालनमा छ । कैलालीको गौरीगंगा नगरपालिका–१०, नुक्लीपुरमा नुक्लीपुर सामुदायिक होमस्टे सञ्चालनको लागि अनुमति लिएपनि कोरोनाले सञ्चालन गर्न नसकिएको सञ्चालक दिनेश थारु बताए ।

प्रतिक्रिया दिनुहोस्