नेतृत्वबाटै कांग्रेस समाप्त हुने खेल भइरहेको छ : डा. कोइराला «

नेतृत्वबाटै कांग्रेस समाप्त हुने खेल भइरहेको छ : डा. कोइराला

आगामी मंसिरमा नेपाली कांग्रेसको महाधिवेशन सम्भव नरहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् ।
नेपाली कांग्रेसको महाधिवेशन अघि आम निर्वाचन पनि सम्भव नरहेको उनले दाबी गरे । महाधिवेशन नहुने भएर सभापतिका लागि उम्मेदवारीको घोषणा नभएको कोइरालाले बताए । “अधिवेशन र निर्वाचन हुन हामीले प्रेसर गर्ने हो ।
तर १३ वटा जिल्लामा वडा अधिवेशन समेत नभएकोले मंसिरमा महाधिवेशन सम्भव छैन,” उनले भने । “पालिका, क्षेत्र प्रदेश बाँकी नै छ, कसरी मंसिरमा सम्भव छ ? डा. कोइरालाको प्रश्न थियो, “डेढ वर्षमा पदाधिकारीले ५ पटक आफ्नो आयु थप्यो ।
चार वर्षमा अधिवेशन गर्नुपर्ने साढे पाँच वर्ष भयो । कति आयु लम्ब्याउने? यसरी हामी स्वीकार्दैनौं ।”महाधिवेशन पक्का हुने भएपछि मात्र सभापतिको उम्मेदवारी घोषणा गर्ने कोइरालाले बताए । “कांग्रेसको अधिवेशन र महाधिवशेन विना निर्वाचन भएमा कांग्रेसको अवस्था झन् खराब हुन्छ । अहिलेको नेतृत्वबाट कांग्रेस समाप्त हुने खेल भैरहेको छ ।
अधिवेशन गर्न कसले रोकेको छ ?कार्यकर्ताले त रोकेको छैन । सभापति लगायत पदाधिकारी, पूर्वपदाधिकारीहरु नै जिम्मेवार हुन् । केन्द्रीय सदस्यहरुको कुनै पनि जिम्मेवारी छैन,” उनले भने ।
कांग्रेसमा अहिलेको नेतृत्वबाट मुलुकको रुपान्तरण हुन नसक्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले बताए । उनले भने, “देशको रुपान्तरण र कांग्रेसमा पुस्तान्तरण आजको आवश्यकता हो । अब हामीले नेतृत्व लिनुपर्छ भन्ने पक्षमा हामी छौं । १४ औ अधिवेशन सम्झौता गर्न तयार छौं । सभापति बाहेक अरु सबै पद हामीलाई चाहिन्छ । तर १५ औं महाधिवशेन हाम्रो हो ।”
मातृशोकमा रहेका नेपाली कांग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीलाई भेट्न नेता कोइराला र भण्डारीसहितको १६ जनाको समूह आइतबार धादिङ आएको हो । नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेसको महाधिवेशन र देशमा निर्वाचन दुवै मंसिरमा सम्भव नरहेको उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्