कालिञ्चोकका होटल व्यवसायीलाई मूल्यसूची अनिवार्य «

कालिञ्चोकका होटल व्यवसायीलाई मूल्यसूची अनिवार्य

दोलखा-कालिञ्चोक क्षेत्र होटलहरूमा अब अनिवार्य रूपमा मूल्यसूची राख्नुपर्ने भएको छ । कालिञ्चोक क्षेत्रमा रहेका होटल व्यवसायीहरूलाई भेला गरेर दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले सबै व्यवसायीलाई आ–आफ्नो होटलमा मूल्यसूची राख्न निर्देशन दिए ।
जिल्लाका सुरक्षा प्रमुखहरू सहित कालिञ्चोक क्षेत्रका अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी पाठकले एक हप्ताभित्र होटलहरूको मूल्यसूची जिल्ला प्रशासन कार्यालयमा पेस गर्न निर्देशन दिए । “सबै होटल व्यवसायीहरूले एक साताभित्र मूल्यसूची हामीलाई पेस गर्नुस्,” उनले भने, “होटलको स्तर अनुसारको सूचीमा उद्योग वाणिज्य संघ, होटल संघ लगायतका सरोकारवालासँग मिलेर मूल्यसूचीलाई अन्तिम रूप दिनेछौं ।” मूल्यसूचीभन्दा बढी जो कोहीले पर्यटकसँग पैसा लिए प्रशासनले कारबाही गर्छ ।
गुनासो बढेपछि प्रशासनको सक्रियता
कालिञ्चोकमा पर्यटकहरूको वृद्धिसँगै होटल व्यवसायी र गाडीबाट पर्यटकहरू ठगिन थालेको गुनासो बढेपछि त्यसको व्यवस्थापनका लागि प्रशासनले सक्रियता देखाएको हो । कालिञ्चोकमा घुम्न आएका पर्यटकसँग केही होटल व्यवसायीहरूले मनलाग्दी मूल्य लिएको, दुव्र्यवहार गरेको र होटलको पैसा तिर्न नसकेर पर्यटकहरूले सुनको औंठीलगायतका सामग्री समेत छाड्नुपर्ने गुनासो आफूकहाँ आएको प्रजिअ पाठकले बताए ।
“केही व्यवसायीले राम्रो व्यवहार समेत गर्नुभएको छ, हिउँमा फसेर बेखर्ची भएकालाई खर्च समेत दिएर पठाउँनु भएको छ” उनले भने “तर केही व्यवसायीहरूले बाहिरबाट आउँनेहरूसँग एक पटक हो जति पनि लिए हुन्छ जस्तो व्यवहार देखाएकाले बाध्य भएर प्रशासन यहाँसम्म आउनु परेको हो ।”
प्रमुख जिल्ला अधिकारी पाठकले व्यवसायीहरूलाई दीर्घकालीन रूपको हुने गरी व्यवसाय गर्न र पर्यटकहरूलाई सम्मान गर्न आग्रह गरे । प्रशासनले कालिञ्चोक क्षेत्रको कुरी, घ्याङडाँडा र माथिल्ला क्षेत्रमा रहेका होटल तथा पसलहरूको लगत संकलनसमेत गरेको छ । लगत संकलनका क्रममा एकै व्यक्तिले ३ वटासम्म होटल सञ्चालन गरेको र सरकारी जग्गामा छोरालाई अंश दिए जसरी भागबण्डा समेत गरेको देखिएको उनले बताए ।
२ वर्षअघि गुठी संस्थानसँगको समन्वयमा ४० होटलले भूबहाल कर तिर्ने गरी होटल सञ्चालनको अनुमति लिएका छन् । ती अनुमति लिएका होटलहरूमध्ये पनि अधिकांशले डेढ वर्षसम्म भूबहाल कर नतिरेको उनले बताए । अनुमति लिएका वा नलिएका जसले पनि ठगी गरे, अनियमितता गरे जो कोहीलाई पनि कारबाहीको भागीदार हुने उनले बताए ।
गाउँपालिकाले व्यवसाय दर्ता गर्ने
कालिञ्चोक क्षेत्र कालिञ्चोक गाउँपालिकाभित्र पर्छ । गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले कालिञ्चोक गाउँपालिकाको व्यवसाय तथा कर नीति बनिसकेकाले अब निर्देशिका तयार गरेर केही समयमै व्यवसाय दर्ता सुरु हुने बताए । गाउँपालिकाको आफ्नो प्रणाली सुरु भएपछि कालिञ्चोकका होटलहरू गाउँपालिका कार्यालयमा दर्ता गर्ने र भू–बहाल करसमेत गाउँपालिकामै तिर्न आग्रह गरे ।
व्यवसायीहरू करको दायरामा आएपछि कुरी क्षेत्रको खानेपानी, सडक, फोहोरमैला व्यवस्थापनमा गाउँपालिकाले खर्च गर्ने बताए । उनले कालिञ्चोकको कुरीमा खानेपानी योजनाका लागि सर्भे भइरहेको समेत जानकारी दिए । बजारभन्दा माथि पानीको स्रोत नभएकाले तलबाटै लिफ्ट विधिबाट ल्याउनुपर्छ ।
प्रहरी चौकी स्थायना हुने
कालिञ्चोकमा पर्यटकहरू बढेसँग सुरक्षाका लागि नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना हुने भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वासुदेव पाठकले प्रहरी चौकीका लागि प्रहरी प्रधान कार्यालयबाट समेत स्वीकृति पाइसकेको बताए ।
प्रहरी चौकी राख्नका लागि जग्गासमेत तयार भइसकेको छ । त्यसलाई मिलाएर चौकीका लागि भवन तयार हुने वित्तिकै प्रहरी खटिने उनले बताए । कालिञ्चोकमा सुरक्षा चुनौतीको समेत गुनासो आएपछि प्रहरी चौकी नै राख्न लागेको उनले जानकारी दिए ।
अतिक्रमण बढ्यो
पछिल्लो समय कालिञ्चोक क्षेत्रको कुरी, कालिञ्चोक मन्दिर, घ्याङडाँडा क्षेत्रमा अतिक्रमण बढेको छ । पर्यटक आगमनसँगै व्यवसाय वृद्धि हुन थालेपछि प्राकृतिक स्वरुपलाई नै बिगार्ने गरी ठाउँ–ठाउँमा संरचना बनेका छन् ।
सार्वजनिक जग्गालाई व्यक्तिले आफूखुसी घरेडी बनाएर संरचना निर्माण गरिरहेका छन् । ठाउँ ठाउँमा स्काभेटर लगाएर घरेडी बनाएका छन् । सार्वजनिक जग्गालाई व्यक्तिहरूले अंशबण्डा जस्तो लगाएका छन् । प्राकृतिक स्वरुप विगार्न थालेपछि सर्वत्र चासोको विषय बनेको छ ।
प्रमुख जिल्ला अधिकारी पाठकले अनुमति पाएका भन्दा बढी संरचना बनाउन खोज्ने र सार्वजतिक जग्गा अतिक्रमण गर्ने जो कोहीलाई पनि कानुनी कठघरामा ल्याउने बताए । अब काठचोरी निकासी गर्ने, डोजर लगाएर घरेडी बनाउने जस्ता कार्य बन्द हुने बताए ।
कालिञ्चोक क्षेत्र अतिक्रमण बारे संसदीय समितिमा समेत छलफलको विषय बनेकाले प्रशासनले सुक्ष्म रूपमा अध्ययन गरिरेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्