मनसुनपछिको वर्षाले सवा ८ अर्बको धान क्षति «

मनसुनपछिको वर्षाले सवा ८ अर्बको धान क्षति


बेमौसमी वर्षापछि आएको बाढी र हुरीले ८ अर्बको धानबालीमा क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ । ६ वटा प्रदेशका १९ जिल्लामा गरी ८ अर्ब २१ करोड रुपैयाँ बराबरको दुई लाख ६९ हजार ८ सय ४२ मेट्रिक टन धानमा क्षति पु¥याएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले प्रारम्भिक विवरण अनुसार ८ अर्ब २१ बराबरको धानवालीमा क्षति भएको जानकारी दिए । सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको १ लाख ६१ हजार २ सय २३ टन धान क्षति भएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा–१ अर्ब ९१ करोड रुपैयाँ बराबरको ६८ हजार ४ सय मेट्रिक टन धानमा क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ । प्रदेश १ मा ८० करोड रुपैयाँ बराबरको २८ हजार ४ सय ६९ मेट्रिक धानमा क्षति पुगेको छ ।
यस्तै प्रदेश–२ मा ५६ करोड रुपैयाँ बराबरको २० हजार ३ सय ५०, गण्डकी प्रदेशमा १३ करोड रुपैयाँ बराबरको ४ हजार ५ सय ३०, कर्णाली प्रदेशमा १३ करोड रुपैयाँ बराबरको ४० हजार २ सय १९ मेट्रिक टनमा क्षति पुगेको मन्त्रालयलको तथ्यांक छ । सबै भन्दा धेरै लुम्बिनी प्रदेशको बर्दिया, कपिलवस्तु, बाँके, रुपन्देही, जिल्लामा क्षति पुगेको छ । गण्डकी प्रदेशका स्याङजा, कास्की, नवलपरासी जिल्लामा क्षति पुगेको छ ।
यस्तै प्रदेश–१ का झापा, मोरङ, सुनसरी, प्रदेश–२ का सप्तरी सिरहा र सर्लाहीमा जिल्लामा क्षति भएको छ । यस्तै कर्णाली प्रदेशको डोल्पा, जुम्ला, सल्यान सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
एक लाख ७१ हजार ७६ हेक्टरमा क्षेत्रफलमा असर परेकोमा ७१ हजार ११ हेक्टर क्षेत्रमा लगाइएको धानमा क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ । पाकेका धानमा ठूलो क्षति पुगेपछि यो वर्ष उत्पादनमा कमी आउने मन्त्रालयले अनुमान गरेको छ । मन्त्रालयले विगतका वर्षभन्दा यसपटक धान रोप्ने मौसम राम्रो भएकाले ९८.३३ प्रतिशतको हाराहारीमा रोपाइँ भएको जनाएको छ । तर भित्र्याउनुअघि नै अधिकांश काटेर राखेको धान खेतमै डुवान र बाढीले बगाउँदा पूरै क्षति हुन पुगेको छ । मन्त्रालयका अनुसार, अहिले करिब २५ जिल्ला बढी प्रभावित छन् । विशेषगरी लुम्बिनी, सुदूरपश्चिम, प्रदेश १ र २ का जिल्लाहरूमा बढी क्षति पुगेको मन्त्रालयका भनाइ छ ।
गत वर्ष १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा धान रोप्दा ५६ लाख २१ हजार ७१० मेट्रिक टन उत्पादन भएको थियो । मन्त्रालयका अनुसार अनुसार यसपटक मुलुकभर वर्षा समयमै भएकाले रोपाइँ गत वर्षको भन्दा १५ प्रतिशत उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो । अघिल्लो वर्ष २८ अर्ब र गत वर्ष ४८ अर्ब रुपैयाँ बराबरको धान भित्र्याएकोमा यस वर्षको क्षतिले घट्ने मन्त्रालयले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्