जिरी नगरपालिकाको पार्किङ शुल्क हट्यो «

जिरी नगरपालिकाको पार्किङ शुल्क हट्यो

जिरी नगरपालिकाले जिरी प्रवेश गर्ने सवारी साधनबाट लिने शुल्क हटाएको छ । नगरपालिकाले बुधबारदेखि नै इलाका प्रहरी कार्यालय जिरीसँगै प्रहरीको गाडी चेकपोष्टमै राखिएको शुल्क लिने पोष्ट बन्द गराएको हो । राजमार्गमै पोष्ट राखेर प्रहरीको पोष्टमा गाडी रोकेको मौको छोपेर नगरपालिकाले कर्मचारी राखेर शुल्क उठाउँदै आएको थियो ।
नगरपालिकाले जिरीमा भित्रीने सवारी साधनलाई पार्किङ र सरसफाइ शुल्कका नाममा राजमार्गमै बसेर शुल्क उठाउँदै आएको थियो । नगरपालिकाले सवारी साधनबाट अतिरिक्त शुल्क लिएको समाचार कारोबार दैनिकमा प्रकाशित भएको थियो । समाचार प्रकाशित भएको ३ दिनमै नगरपालिकाले पोष्ट बन्द गराएको हो । नगरपालिकाले डेढ महिनादेखि सवारी साधनबाट शुल्क उठाउँदै आएको थियो ।
जिरी प्रवेश गर्ने ठूला बस, ट्रकका लागि प्रतिपटक ६०, मिनी ट्रक, मिनी बस, भ्यान, ट्याक्टरका लागि ५० र साना जिपका लागि ४० रुपैयाँका दरले शुल्क लिने गरिएको थियो । जिरीको सडक हुँदै ओहोर दोहोर गर्ने सबै सवारी साधनसँग शुल्क लिने गरेको थियो । प्रहरी चेक पोष्टमा इन्ट्रि गर्न गाडी रोकेको मौका छोपेर नगरपालिकाका कर्मचारीले गाडीधनीलाई रसिद थमाएर पैसा असुल्दै प्रति स्थानीयस्तरमा समेत असन्तुष्टि रहेको थियो ।
जिरी नगरपालिकाका मेयर टंक जिरेलले नगरपालिकाको आर्थिक ऐन २०७५ को दफा २३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सवारीका साधनको पार्किङ व्यवस्थापन गर्न लागिएको बताए । ‘क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरी’ को नारालाई पूरा गर्नका लागि जथाभावी फोहोर नहोस् भन्नाका लागि पनि गाडीसँग सरसफाइ दस्तुर लिएको बताए । प्रहरीसँगको पोष्ट तत्काललाई बन्द गराए तापनि पार्किङ र सरसफाइलाई व्यवस्थित गरिने उनले बताए ।
नगरपालिकाले तोकिएको सवारी साधन पार्किङ स्थलसमेत तोकेको छ । बजार क्षेत्रलाई सुन्दर राख्न पार्किङ निषेधित क्षेत्र भनी तोकेको छ । निशेधित स्थानमा ट्रक, यात्रुवाहक बस, ट्रिपर र ट्याक्टर पार्किङ गरेमा प्रतिपटक ३ सयसम्म जरिवाना तोकेको छ ।
पार्किङ स्थल भनी नतोकिएको अन्य जुनसुकै स्थानमा पार्किङ गरिएमा १ सय रुपैयाँ जरिवाना लाग्नेछ । यस्तै, निषेधित क्षेत्रमा बोलेरो, कार, जिप, भ्यान र अटो रिक्सा पार्किङ गर्नेले २ सय र अन्य स्थानमा पार्किङ गरेको पाइएमा ७० रुपैयाँ जरिवाना हुनेछ । नगरपालिकाको निषेधित स्थानमा मोटरसाइकल पार्किङ गर्नेले ५० रुपैयाँ र अन्य स्थानमा पार्किङ गर्नेले २० रुपैयाँ जरिवाना तिर्नुपर्ने छ । यो बाहेक जिरी प्रवेश गर्ने सवारी साधनले प्रतिपटक पार्किङ शुल्क ५० रुपैयाँ तिर्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्