बहुराष्ट्रिय कम्पनीका विज्ञापन स्थानीय भाषामा बन्न थाल्नु सकारात्मक
क्लिनफिडको अपेक्षित प्रभाव देखिएन

सरकारले नेपालमा विदेशी विज्ञापनरहित टेलिभिजन प्रसारण (क्लिनफिड) लागु गरेको आइतबार एक वर्ष पूरा भएको छ । विज्ञापन बजारले क्लिनफिड लागु भएयता अपेक्षित लाभ लिन नसके पनि विदेशी भाषामा बनेका विज्ञापनको दबदबाबाट भने केही टाढा देखिएको छ । एक वर्षयता नेपाली टेलिभिजनका लागि स्थानीय भाषामै विज्ञापन निर्माण हुने क्रम बढ्दो छ ।
क्लिनफिड लागु भएपछि नेपालको विज्ञापन बजार दोब्बर हुने, रोजगारी सिर्जना बढ्ने, सिर्जनात्मक क्षमता बढ्नेदेखि समग्रमा नेपालको विज्ञापन दायरा दोब्बर हुने अपेक्षा गरिएको थियो । नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले कोभिडका कारण क्लिनफिडबाट अपेक्षित लाभ लिन नसकेको बताए । विज्ञापन बजारको राशी बढ्यो या बढेन भन्दा पनि सार्वभौम राष्ट्रका हैसियतले सामाजिक आर्थिक तथा सांस्कृतिक विकृति रोक्ने काम भएको र यसलाई सकारात्मक रुपमा लिनुपर्ने उनी बताउँछन् ।
नेपाली टेलिभिजन भारतीय बैंकमा पैसा जम्मा गरौँ भन्नेसम्मका विज्ञापन बज्ने गरेकोमा यस्ता विज्ञापन रोकिएको उनको अनुभव छ । “बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा बज्ने विज्ञापनका लागि स्थानीय कलाकार बोलाउने, छुट्टै विज्ञापन निर्माण गर्ने काम थालिसकेका छन्, यसलाई सकारात्मक मान्नुपर्छ,” उनी भन्छन्, “कोभिडको प्रभाव घट्दै गर्दा क्लिनफिडको प्रभाव भने बढ्दै जानेछ ।” कोभिडकै कारण क्लिनफिड कार्यान्वयनबाट अपेक्षित लाभ लिन नसकेको उनको भनाइ छ ।
क्लिनफिड लागु हुनभन्दा अगाडी विदेशी भाषा तथा डब गरिएका विज्ञापनको दवदवा थियो । अहिले स्थानीय भाषामा विज्ञापन बनाउँदा बहुराष्ट्रिय कम्पनीहरुले खर्च बढाउनुपर्ने र नेपाली कन्टेन्टमा विज्ञापन बनाएर प्रशारण गर्नुपर्ने बाध्यात्मक कानूनी व्यवस्था छ । यसकै फलस्वरुप बहुराष्ट्रिय कम्पनीले नेपाली कलाकारबाट विज्ञापन निर्माण सुरु गरेका छन् । नेपालको विज्ञापन बजार झण्डै १४ अर्ब रुपैयाँको छ । क्लिनफिडको पूर्ण कार्यान्वयनसँगै यसको दायरा दोब्बर हुने अनुमान गरिएको छ ।
अध्यक्ष हुमागाइँका अनुसार सोमबार विज्ञापन बोर्डले विज्ञापन बजार सम्बन्धमा आचारसंहिता जारी गर्न लागेको छ । यसले पनि क्लिनफिडलाई सहयोग पुग्नेछ । नीतिगत रुपमा क्लिनफिड लागू भइसकेको भएपनि प्रविधिको पछिल्लो विकास र रुपान्तरणका कारण टेलिभिजन मिडियाभन्दा सामाजिक सञ्जाल नै बढी प्रभावशाली भइसकेका कारण अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसक्ने कतिपय विश्लेषकको भनाइ छ ।
सामाजिक सञ्जालमा पनि क्लिनफिड आवश्यक रहेको उनीहरुले बताएका छन् । क्लिनफिडले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिकसहित नेपाली विज्ञापन उद्योग सबैको हित हुने सरोकारवाला बताउँछन् । नेपालमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि सुरु भएको थियो ।
नेपालमा प्रसारण हुने विदेशी च्यानलमध्ये अधिकांश भारतीय छन् । त्यसमा पनि नेपाली केवल टेलिभिजन सेवा प्रदायक कम्पनीले ‘डाइरेक्ट अपलिंक’ गर्ने भएकाले भारतीय च्यानलहरु ‘रियल टाइम’ मै नेपालमा पनि प्रसारण भइरहेका हुन्छन् । यसरी रियल टाइममै विदेशी च्यानल प्रसारण हुने व्यवस्था अन्य मुलुकमा छैन । रियल टाइममै प्रसारण हुँदा भारतीय च्यानलका विज्ञापनको प्रभाव नेपालमा बढी थियो ।
यता नेपाल विज्ञापन संघ (आन) का पूर्वअध्यक्ष सन्तोष श्रेष्ठ पनि कोभिडकै कारण क्लिनफिडको प्रभाव कम भएको बताउँछन् । चालु वर्षमा यसको प्रभाव बढ्ने उनको अनुमान छ । एकातर्फ कोभिडको प्रभाव कम हुँदै जाने र अर्काेतर्फ क्लिनफिडका विषयमा पनि बुझाइ बढ्दै जाने हुँदा कार्यान्वयन प्रभावकारी हुने उनी बताउँछन् ।
इन्टरनेट सेवा प्रदायक संघका पूर्वअध्यक्ष भोजराज भट्ट भने क्लिनफिड समान रुपमा लागु नभएको बताउँछन् । सरकारी सम्यन्त्र कमजोर हुँदा अहिले केही भारतीय च्यानलमा विदेशी विज्ञापन बजिरहेको बताए । क्लिनफिड राम्रो भएपनि हतारमा लागु गरिएका कारण कसैले फाइदा लिए भने कतिपय मर्कामा परे सरकारले समान व्यवहार गर्न नसकेको उनको भनाइ छ ।