१ अर्ब ३० करोड लगानीमा सराङकोटमा अन्नपूर्ण केवलकार «

१ अर्ब ३० करोड लगानीमा सराङकोटमा अन्नपूर्ण केवलकार

पोखराको सराङकोटमा अन्नपूर्ण केवलकार वैशाखमा परीक्षण सुरु हुने तयारी

पर्यटकीय नगरी पोखरामा आगामी वैशाख १ गतेसम्म अन्नपूर्ण केबलकारको परीक्षण सुरु गर्ने तयारी गरिएको छ । पोखराको नयाँ पर्यटकीय गन्तव्यका रूपमा हाल निर्माण हुदैं गरेको अन्नपूर्ण केबलकार नेपाली नयाँ वर्षको अवसर वैशाखमा परीक्षण सुरु गर्ने गरी तयारी तीव्र पारिएको सञ्चालक निर्देशक मध्यका एक तीर्थराज त्रिपाठीले बताए ।
पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टका रूपमा आफूहरूले विकसित गर्न खोजिएको अन्नपूर्ण केबलकारको हालसम्म करिब ७० प्रतिशतजसो निर्माण कार्य सम्पन्न भएको निर्देशक त्रिपाठीले बताए । उनका अनुसार फेवातालको किनार सेदीबगरबाट सराङकोटसम्म जोड्न १३ वटा पोलमध्ये हालसम्म १० वटा पोल जडान भइसकेका छन् । तल्लो स्टेसन तथा माथिल्लो स्टेसनको समेत निर्माण लगभग सकिएको अब फिनिसिङको काम बाँकी रहेको उनले बताए । केही दीनमा जापानबाट दक्ष प्राविधिको एक टोलीले केवलकार जडानमा सहयोग गर्ने भएको निर्देशक त्रिपाठीले जनाए । केबलकार निर्माणका लागि आवश्यक सामग्री लगभए आइसकेकाले अब त्यसलाई जडान गर्न बाँकी रहेको उनले बताए ।
पर्यटन प्रवद्र्धन गर्न अन्नपूर्ण केबलकार प्रालिले सञ्चालन गर्न लागेको उक्त केबलकारको लागत रकम बढ्ने भएको निर्देशक त्रिपाठीले बताए । १ अर्ब १० करोडको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा हाल लागत बढेका कारण करिब १ अर्ब ३० करोड लगानी पुग्ने भएको उनले जनाए । स्टेसन निर्माण गर्ने विषयमा पहिला स्टिल फेब्रिकेसन मोडल निर्माण गर्ने लक्ष्य राखे पनि पछि आएर आरसीसी (कंक्रिट) मोडलमा निमार्ण गरेकाले लागत बढ्न गएको उनले बताए । २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १८ वटा डिब्बा ( गोन्डोला) निर्माण हुने प्रतिडिब्बमा ८ जनाको सिट क्षेत्रमता हुने भएको निर्देशक त्रिपाठीले बताए । माथिल्लो स्टेसन भवनसहित बेलुन रेस्टुराँ, भ्यू–टावर निर्माण हुँदै छ भने तल्लो स्टेसनमा पार्किङ, गार्डेन सहितको संरचना निर्माण हुने भएको छ ।
केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । प्रतिघण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्ने क्षेमताको केबलकार निर्माण हुने भएको उनले जनाए । केबलकार निमार्ण भए पछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिनेछ । अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ४५ मिनेट लाग्छ । सराङकोट र सेतीबगरमा स्टेसन राख्नका लागि प्रालिले जग्गा खरिद गरिसकेको छ भने बन क्षेत्रमा पर्ने २४ रोपनी जग्गाको सट्टाभर्ना गराइसकेको प्रालिले जनाएको छ । सरकारले ४० वर्षका लागि लिजमा उक्त जग्गा उपभोग गर्न स्वीकृत दिएको छ । केबलकारमा युवा व्यवसायि कालु गुरुङ सहितका नेपाली व्यवसायी ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीय कोर १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ । उक्त योजनालाई सफल पार्न राष्ट्रिय वाणिज्य बैंक र सनराइज बैंकले कर्जा प्रवाह गरेका छन् ।
अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ छन् । कम्पनीको ४ करोड मूल्य बराबरको २ सय ७० जनालाई सेयर दिएको कम्पनीले जनाएको छ । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो ।
नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरि केबलकार जस्तै भए पनि यो केबलबार नयाँ प्रविधि प्रयोग गरिने भएको अध्यक्ष गुरुङले बताएका छन् । केबलकार अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै बनाउने लक्ष्य राखिएको बताएका उनले जापानको निप्पोन केबलकारको प्रविधि र सामान अन्नपूर्ण केबलकारमा प्रयोग हुने दाबी गरे । केलबलकार निर्माण गर्न ५ वर्षअघि नै सर्भे भएको थियो । केवलकार निर्माणपछि ६० जनाले रोजगारी पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्