भन्सार तिरेर सामान लैजाने व्यवस्था गर्न माग «

भन्सार तिरेर सामान लैजाने व्यवस्था गर्न माग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानले वैदेशिक रोेजगारीबाट फर्किएका युवाले ल्याउन पाउने सामानका सम्बन्धमा अकस्मात गरिएको कडाइले आतंक सिर्जना गरेकोमा दुःख व्यक्त गरेको छ । एनआरएनए ओमानले भन्सार प्रक्रियालाई समयसापेक्ष बनाउन माग गरेको भन्दै विज्ञप्ति जारी गरेको छ ।
एनआरएनए ओमानका अध्यक्ष दिपक श्रेष्ठ तथा महासचिव पूर्ण बहादुर श्रेष्ठले विज्ञप्ति प्रकाशित गर्दै वैदेशिक रोजगारमा रहेका नेपाली देशका लागि आर्थिक सैनिक भएको तर उनीहरुलाई नेपाल अध्यागमनबाट आवतजावत गर्दा सुखको अनुभूति नभएको बताएका छन् । सहज रुपमा आवतजावत गर्ने व्यवस्था मिलाइदिनुको साटो विभिन्न तरिकाबाट प्रहार, शोषण र अन्याय भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइदिन एनआरएनए ओमान शाखाले अध्यक्ष भवन भट्टलाई आग्रह गरेको छ । विज्ञप्तीमा झिटिगुण्टा सम्बन्धी नियमलाई समय सापेक्ष अन्तर्राष्ट्रिय नियमअनुसार परिमार्जन गर्न, व्यक्तिगत प्रयोजन वा प्रयोग गरिएका सामग्रीहरु विना झण्झट पूर्ववत नियमअनुसार ल्याउन लैजान पाउने व्यवस्थाका लागि पहल गर्न अनुरोध गरिएको छ ।
यसैगरी वैदेशिक रोजगार सम्वन्धी कुनैपनि नियम परिवर्तन भएको खण्डमा ३ महिना अगावै सबैलाई जानकारी गराउनुपर्ने र विदेशस्थित नियोगमार्फत् सो देशमा रहेका नेपालीलाई जानकारी गराउन माग गरिएको छ । यसैगरी कथंकदाचित कसैले तोकिएको भन्दा बढी सामान लिएर आएको खण्डमा त्यसलाई जफत नगरी नियमानुसार भन्सार तिरेर लैजान पाउने व्यवथा गर्न र अपराधीक कार्य गरेझैं सामग्री नै जफत गर्न आवश्यक नभएको विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्